site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्यान्सर अस्पतालमा बिरामीको मृत्यु : दुई नर्स निलम्बित

चितवन । किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि)को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ ।

अस्पतालमा उपचारका निम्ति आएका बिरामीलाई दिनुपर्नेभन्दा १० गुणा बढी किमोको मात्रा दिइएपछि मृत्यु भएको थियो । ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।

अस्पतालले दिएको जानकारीअनुसार, लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचार जारी थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिइएपछि गुरुङको मृत्यु भएको महतोले जानकारी दिए । उनका अनुसार, मेडिकल वार्डमा तीनपटकसम्म सोही मात्राको किमो दिइएपछि बिरामीको शरीरले धान्न नसकेर गएको असार १३ गते राति मृत्यु भएको थियो ।

“खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टामुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए/नभएको पत्ता लगाउन गरिने परीक्षण) गरेर क्यान्सर यकिन गरिएको थियो । सोपश्चात् बिरामीलाई किमो दिन थालिएको थियो,” उनले भने ।

बिरामीको उपचारमा लापरबाही गरेको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ नर्ससँग स्पष्टीकरण मागेको थियो । सूचना अधिकारी महतोका अनुसार, नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।

अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईलाई निलम्बन र २३ जनालाई स्पष्टीकरण सोधिएको बताए । योसँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

पौडेलले भने, “काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनेछौँ ।” रासस

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro