काठमाडौं । काठमाडौंमा दुई दिनअघि हैजा पुष्टि भएसँगै कारण पहिचान गर्न पानी परीक्षण गरिँदै छ । हैजा देखिएका काठमाडौं महानगरपालिका–१३ र टोखा नगरपालिका–२ क्षेत्रबाट पानीको नमुना संकलन गरी परीक्षण गर्न लागिएको हो ।
सोमबार संकलन गरिएको पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको र रिपोर्ट आउन दुई दिन लाग्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेले जानकारी दिए ।
उनका अनुसार, अस्पताल भर्ना भएका दुई महिला संक्रमितमध्ये एकजना ‘डिस्चार्ज’ भइसकेकी छन् । उनी हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना भएकी थिइन् । अर्की बिरामी भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत छिन् ।
गत साता ललितपुर र कैलालीमा हैजाको संक्रमण देखिएको थियो । नेपालमा यो वर्ष १३ जनामा हैजा भएको पुष्टि भएको छ ।