काठमाडौं । समय घर्किदै थियो । पाकिस्तानी हकी टिमलाई खराब लय तोड्न आठ मिनेटमात्र सम्हालिनुपर्ने अवस्था थियो । हकी त्यही खेल हो, जसमा पाकिस्तान दशकौँसम्म विश्वकै सबैभन्दा बलियो राष्ट्र थियो ।
तर, न्युजिल्यान्डका फरवार्ड ह्युगो इंग्लिसले बराबरीमा गोल फर्काए । जनवरीमा ओमानमा भएको छनोट खेलको अन्तिम ह्विसिल बज्न दुई मिनेट बाँकी रहँदा स्टक बोइडेले निर्णायक गोल गरे । न्युजिल्यान्ड ३–२ ले विजयी भयो ।
यो नजिताजसँगै पाकिस्तानको ओलम्पिक खेल्ने सपना सकियो । यो पाकिस्तानी हकी टिमले ओलम्पिक गुमाएको लगातार तेस्रोपटक थियो ।
“यो निकै निराशजनक दिन हो । मेरो करिअरकै सबैभन्दा ह्रृदयविदारक दिन । सबैभन्दा नजिक थियौँ, तर फेरि सबैभन्दा पर बन्यौँ । यो पीडाबाट निस्कन मुस्किल बन्नेछ,” पाकिस्तानका फरवार्ड राना वहिद असरफले भने ।
दशकौँसम्म पाकिस्तान यो खेलको महाशक्ति राष्ट्र थियो । पाकिस्तानी टिमले ओलम्पिकमा समेत तीनपटक (१९६०, १९६८ र १९८४) मा स्वर्ण पदक जितेको थियो । तीन पटक नै रजत र दुई पटक कास्य पनि । यो खेलमा पाकिस्तानी टिमको सहभागिता नियमितजस्तै थियो ।
हकी विश्वकपको सुरुआती आठ संस्करणमध्ये पाकिस्तानले चार पटक उपाधि जितेको थियो । तर, उनीहरू सन् २०१४ र २०२३ को विश्वकपमा छनोट हुन असफल भए । २०१८ को संस्करणमा पनि पाकिस्तान सहभागी १६ टिममध्ये १२औँ स्थानमा आएको थियो ।
पाकिस्तानी टिम अहिले विश्व वरीयताको १६औँ स्थानमा छ । लगातार तेस्रोपटक ओलम्पिकमा छनोट हुन असफल भएसँगै प्रश्न उठेको छ, विश्वकै सबैभन्दा सफल हकी राष्ट्र कसरी यतिसम्म खस्कियो ? के त्यो हराएको हकी चमक उकास्न कुनै योजना बनिरहेको छ ?
‘यसलाई धेरै समय लाग्नेछ’
पाकिस्तानले पछिल्लोपटक सन् १९९२ मा बार्सिलोनामा भएको ओलम्पिकमा हकीबाट अन्तिम पदक (कास्य) जितेको थियो । सन् २००० मा सिड्नीमा भएको ओलम्पिकमा पाकिस्तानले अन्तिम पटक पदकका निम्ति प्रतिस्पर्धा गरेको थियो । त्यसमा पाकिस्तानले तेस्रो स्थानको खेलका निम्ति घरेलु टिमसँग हार बेहोरेको थियो ।
२०२४ सम्म आइपुग्दा पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको ४० दशक पूरा भइसक्यो । पाकिस्तानले पछिल्लो पटक सन् १९८४ मा हकीबाट ओलम्पिक स्वर्ण जितेको थियो ।
“कुनै समय पाकिस्तानको कब्जामा हुने स्थानमा पुनः पुग्न धेरै समय लाग्नेछ । पाकिस्ताबासी सुधारको प्रक्रिया सुरु गर्नुभन्दा पनि मेडलमा मात्र ध्यान दिन्छन् । यो सबैभन्दा ठूलो समस्या हो,” चर्चित डच प्रशिक्षक रोलेन्ट ओल्टमान्सले भने ।
ओल्टमान्सले नेदरल्यान्ड्सबाट सन् १९९८ को विश्वकप जिते । उनले सन् २००३ र २०१८ मा पाकिस्तानको प्रशिक्षकको भूमिका निभाएका थिए । उनी अहिले यो दक्षिण एसियाली राष्ट्रलाई पुनः विश्वकै बलियो हकी राष्ट्र बनाउने लक्ष्य बोकेका मध्येमा पर्दछन् ।
यो वर्ष ओल्टमान्स दुई मुख्य प्रतियोगितामा पाकिस्तानको प्रशिक्षण जिम्मेवारीमा थिए । मलेसियामा भएको अज्लन साह कप र पोल्यान्डमा भएको एफआईएच नेसन्स कपमा । पाकिस्तान मलेसियामा भएको प्रतियोगिताको फाइनलमा र पोल्यान्डमा भएको प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।
ओल्टमान्स छोटो समयको प्रशिक्षण समयबाट टिम निरन्तर सफल बन्न नसक्ने बताउँछन् ।
“यदि कुनै प्रतियोगितामा असफल भए, तत्कालै कुनै पनि कुरा परिवर्तन गर्न सकिदैन । त्यहाँ निरन्तरता र योजना हुनैपर्छ,” उनले भने, “यदि पाकिस्तानी टिम पुनः शीर्ष स्थानमा पुग्न चाहन्छ भने उनीहरूसँग कम्तीमा पनि चार वर्षे योजना हुनैपर्छ ।”
‘आफ्नै सफलताका पीडित’
सलमान अकबर पाकिस्तानलाई पछिल्लो मुख्य हकी उपाधि दिलाउने खेलाडीमा पर्छन् । उनले पाकिस्तानलाई २०१० को एसियाली खेलकुदमा पदक दिलाएका थिए । सलमान उक्त प्रतियोगिताको उत्कृष्ट गोलकिपरसमेत हुन् । सन् २०१३ मै हकीबाट सन्न्यास लिएका उनलाई जापानले सन् २०१८ मा गोलकिपर प्रशिक्षकमा अनुबन्ध गरेको थियो । सोही वर्षको एसियाली खेलकुदमा जापानले स्वर्ण पदक पनि जित्यो ।
अकबर पाकिस्तान विगतको आफ्नै सफलताबाट पीडित बनेको बताउँछन् । हकीका चर्चित अनुहार करिअरपछि खेल प्रशासनमा गए पनि नतिजा दिन नसकेको उनको तर्क छ ।
“पाकिस्तानी हकीको सबै दृश्य हेर्ने हो भने, हाम्रा सिनियरले खुसीयाली मात्र मनाए, उनीहरू विकास हुन सकेनन् । उनीहरूले विगतका जितमै खुसीयाली मनाइराखे । खेलमा परिवर्तन भएको महसुस गरेनन् । त्यहाँ कुनै संरचना छैन । अघि बढ्न कुनै रोडम्याप छैन । व्यावसायिकता छैन,” उनले भने । अकबरले अहिले नेदरल्यान्ड्समा गोलकिपर प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेका छन् ।
सन् १९८० र ९० को दशकका उत्कृष्ट मिडफिल्डर ख्वाजा जुनैद पनि अकबरको कुरामा सहमत छन् । जुनैद पाकिस्तानका शीर्ष खेलाडी प्रशासनिक जिम्मेवारीमा पुगेपछि उनीहरू असफल बने । उनी कुनै समय ग्रासरुट स्तरको खेलाडी विकास गर्ने बलियो प्रक्रिया नै अहिले निष्क्रिय रहेको बताउँछन् ।
“स्कुलहरू हकीको नर्सरी हुने गर्दथ्यो । पहिलो अन्तर विद्यालय प्रतियोगिताहरू हुने गर्दथ्यो र क्लबहरूमा प्रतिभा देखिन्थ्यो । पहिले कलेज र विश्वविद्यालयमा खेलकुद कोटा हुने गर्दथ्यो । जहाँ क्षमता भएका खेलाडीलाई छात्रवृति दिइन्थ्यो,” उनी भन्छन् ।
“अध्ययनपछि खेलाडीहरूलाई थुप्रै सरकारी र निजी संस्थाबाट रोजगारको अवसर आउँथ्यो । जहाँ खेलकुद विभाग नै हुन्थ्यो । पहिले एउटा बलियो संरचना हुन्थ्यो र खेलाडीले वर्ष भरी नै खेल्ने अवसर पाउँथे,” उनी थप्छन् ।
तर, ९०औँ दशकको सुरुआतमा क्रिकेटमा व्यावसायिकता सुरु भयो । अन्य खेललाई यसको प्रभावले थिच्दै गयो । खेलकुद कोटा खारेज भयो । खाली मैदानहरूमा ठूला–ठूला भवन बन्न थाले । बालबालिकाहरूले खेल्ने ठाउँ पाउन छाडे । च्याउजसरी सानो क्षेत्रमा खुलेको निजी विद्यालयहरूमा खेलकुद प्रोत्साहन गर्न आवश्यक सुविधाहरू उपलब्ध हुन छोड्यो ।
पछिल्लो समय जनसंस्थान र सरकारी संस्थाहरूले पाकिस्तानको आर्थिक परिस्थिति नाजुक रहेको भन्दै खेलकुद विभाग बन्द गरे । जसमा कुनै समय पाकिस्तानकै सबैभन्दा राम्रा टिमहरू अस्तित्वमा रहन्थे ।
सन् १९८८ पछि ११ वर्षसम्मको सैन्य शासनपछि पाकिस्तानमा पुनः राजनीतिक दलको विकास भयो । यसै समयमा हकी पनि विश्वमै फरक रूपमा स्थापित हुन सुरु गर्यो । यी दुवै विकासले पाकिस्तानी हकीलाई प्रभावित बनायो ।
परम्परागत रूपमा खेलिने घाँसे मैदानलाई सिन्थेटिक टर्फले विस्थापित गर्न थाल्यो । एक विकाससिल मुलुकका निम्ति यो महंगो परिवर्तन थियो । हाल मध्यम स्तरको आर्टिफिसियल टर्फलाई पनि पाँच लाख डलर पर्न जान्छ । यसमा व्यवस्थापन खर्च पनि छुट्टै जोडिन्छ ।
मैदानमा परिवर्तनको अर्थ खेलका अन्य साधनहरूमा पनि परिवर्तन गर्नुपर्ने हुँदा यो झनै महंगो बन्छ । आज एउटा सामान्य हकी लौरोलाई पनि करिब ३० डलर पर्दछ । यही हकी लौरो उच्च स्तरको भए ७० डलरसम्म पर्न जान्छ । यस्तै, राम्रो स्तरको हकी जुत्तालाई पनि १०० देखि १८० डलरसम्म पर्ने देखिन्छ । यसैकारण पाकिस्तानजस्तो विकासोन्मुख राष्ट्रलाई यो महंगो खेल बन्दै गयो । विश्व बैंकको तथ्यांक हेर्ने हो भने आज पाकिस्तानको मासिक प्रतिव्यक्ति आय २६६ डलरमात्र छ ।
ओल्टमान्स मैदान परिवर्तन हुनुले पाकिस्तानको प्रदर्शनमा असर गरेको बताउँछन् । अझ यसमा सम्बन्धित निकायले समयमै कदम नचाल्दा पाकिस्तानी हकी आजको अवस्थामा आइपुगेको ओल्टमान्सको तर्क छ ।
पाकिस्तानी टिमको प्रशिक्षक र व्यवस्थापकको रूपमा धेरै पटक काम गरिसकेका जुनैद पनि डच प्रशिक्षकको तर्कसँग सहमत छन् । उनी पाकिस्तान हकी फेडेरेसन (पीएचएफ) यसको सबैभन्दा मुख्य दोषी रहेको बताउँछन् । जुनैद फेडेरेसनले भविष्यका लागि तयारी गर्नुभन्दा विगतको जितमा रमाइरहेको जिकिर गर्छन् ।
“हामी विकाश हुनै सकेनौँ । अहिले हामी सम्भवतः समाप्त हुने अवस्थामा छौँ । लेगेसी स्टार खेलाडी भएमात्र निरन्तर हुन्छ,” उनले भने ।
पीएचएफ अध्यक्ष तारिक हुसैन बुग्तीले अहिलेको मुख्य समस्या अर्थको भएको बताए । “हामीसँग वार्षिक बजेट ४० लाख (१४,३५० डलर) को मात्रै छ । एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मात्रै पनि टिमको खर्च तीन करोड (एक लाख डलर) हुन जान्छ,” उनले भने ।
बुग्तीले फेडेरेसनले सरकारको अनुमति भएका प्रतियोगितामा सहजीकरण मात्रै गरिरहेको बताए । “हामीसँग लिग प्रणाली छैन । खेलाडी प्रशिक्षण गर्न हामीसँग आफ्नै रंगशाला पनि छैन । यसैकारण हामीले प्रशिक्षणका लागि मैदान उपलब्ध गराउन पाकिस्तान खेलकुद बोर्डलाई अनुरोध गर्नुपर्छ,” उनले भने ।
पीएचएफ आफैँ पनि फेडेरेसनको आन्तरिक समस्यासँग जुधिरहेको छ । जसमा आर्थिक अनियमितता जस्ता कुराहरू छन् । फेडेरेसनका प्रशासक टिम लगातार ओलम्पिक र विश्वकपमा छनोट हुन चर्को आलोचनामा घेरिएका छन् ।
गत डिसेम्बरमा पूर्वअध्यक्षले पीएचएफको पद छोड्न र नयाँ निर्वाचन गर्न अस्वीकार गरेका थिए । तर, फेब्रुअरीमा आएको नयाँ सरकारले यो समस्या समाधान गरेको थियो । दुई पक्षलाई मर्ज गराएपछि बुग्ती नयाँ अध्यक्षमा आएका थिए ।
‘ठूलो चुनौती छ’
न्युजिल्यान्डसँग पराजित हुँदै ओलम्पिक छनोटबाट बाहिरिँदा बुग्ती ओमानमै थिए । जुन पेरिसमा शुक्रबारदेखि आधिकारिक रूपमा सुरु भएको छ । “यो राष्ट्रकै लागि ठूलो दुःखको कुरा थियो र यसले मलाई अघि रहेको ठूलो चुनौतीबारे नयाँ विचार दिएको छ,” उनले भने ।
अध्यक्ष बुग्ती चुनौतीबारे सचेत छन् । पाकिस्तानमा अहिले ग्रासरुट प्रतियोगिता र घरेलु लिग शून्यप्रायको स्थितिमा छ । नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता पनि छैन । प्रतियोगिता नहुँदा पाकिस्तानी खेलाडी वर्षभरी नै खाली प्राय हुन्छन् ।
सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका असरफलाई पाकिस्तानको उदाउँदो प्रतिभाको रूपमा हेरिएको छ । पाकिस्तानी टिमबाट सेन्टर फरवार्डको पोजिसनमा खेल्ने असरफले हालसम्म ५९ खेल खेल्दा २९ गोल गरेका छन् । असरफको तुलना पाकिस्तानका सबैभन्दा धेरै गोल गर्ने खेलाडी सोहेल अब्बाससँग गर्ने हो भने, सोहेलले सन् १९९८ देखि २०१२ सम्म ३११ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । वार्षिक २२ खेलको औसतमा ।
जुनमा भएको नेसन्स कपपछि २४ वर्षीय असरफ पाकिस्तानको पञ्जाव प्रान्तको सर्गोधास्थित घरमै छन् । उनी आफैँले प्रशिक्षण गर्छन् ।
सेप्टेम्बरमा चीनमा एसियाली च्याम्पियन्स ट्रफी हुँदैछ । तर, पाकिस्तानले अझैसम्म बन्द प्रशिक्षण सुरु गर्ने सुर कसेको छैन । असरफ यो नै पाकिस्तानी टिममा रहेको अव्यवस्थितताको उदाहरण भएको बताउँछन् ।
“आगामी प्रतियोगिताअघि हामीसँग तीन महिनामात्र बाँकी छ । तर, अहिलेसम्म हामीसँग प्रशिक्षण छैन । प्रशिक्षणका लागि मैदान छैन । बन्द प्रशिक्षण सुरु पनि भएको छैन । म दिनको तीनपटक प्रशिक्षण गरेर आफूलाई फिट राख्ने प्रयास गरिरहेको छु,” असरफले भने, “हामीलाई खेलको चाहिएको छ । हामीलाई घरेलु लिग चाहिएको छ ।”
अर्जेन्टिनाले पहिलो विश्वकप जित्दा पाकिस्तानी हकीको सहयोग
४४ वर्षअघि पाकिस्तानी टिमले तेस्रो हकी विश्वकपका निम्ति अर्जेन्टिनाको यात्रा गरेको थियो । जुन अर्जेन्टिनामै हुने फिफा विश्वकपभन्दा तीन महिनाअघि आयोजना भएको थियो ।
पाकिस्तानी टिम इसाहुद्दिन सिद्दिकीको नेतृत्वमा थियो । उच्च गतिको हकी खेल्दै प्रतियोगितामा पाकिस्तानले ३५ गोल गर्दा चार गोलमात्र बेहोर्यो । फाइनलमा नेदरल्यान्ड्सविरुद्ध जित निकाल्दै पाकिस्तान च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको उच्च गोलकर्तासमेत बनेका उपकप्तान सहनाज सेखका अनुसार पाकिस्तानी टिमले अपनाएको उच्च गतिको रणनीतिलाई ‘डबल अट्याक’ भनिन्थो । जसलाई पाकिस्तानका प्रशिक्षकले अपनाएका थिए । अब्दुल वहिद खान जो आफैँमा सन् १९६० मा भएको रोम ओलम्पिकको स्वर्ण विजेतासमेत थिए ।
पाकिस्तानले अपनाएको यो रणनीतिको प्रशंसा गर्नेमा अर्जेन्टिनी फुटबल टिमका तत्कालीन प्रशिक्षक सेसर लुइस मेनोट्टी पनि थिए । सेख त्यसबेला अर्जेन्टिनी प्रशिक्षक पाकिस्तानको प्रशिक्षण हेर्न आएको सम्झन्छन् ।
“उनी निकै प्रभावित बनेका थिए र अब्दुल वहिदसँग कुरा गरे । हाम्रो प्रशिक्षकसँग उनले हामी कसरी खेल्छौँ र हाम्रो रणनीतिबारे कुराकानी गरे,” उनले भने ।
दुई महिनापछि मारियो केम्पसको कप्तानीमा रहेको मेनोट्टीको टोली अर्जेन्टिनाले पहिलोपटक फिफा विश्वकपको उपाधि जित्यो । विश्वकपको उपाधि पछि अर्जेन्टिनी प्रशिक्षकले खानलाई टेलिग्राममार्फत सन्देश पठाएका थिए । उनले दिएको सल्लाहको कदर गर्दै मेनोट्टीले खानलाई सन्देश पठाएका थिए ।
“प्रशिक्षकले हामीलाई पछि मेनोट्टीले अर्जेन्टिनालाई विश्वकप जिताउन भूमिका खेलेको भन्दै धन्यवादसहित पत्र पठाएको बताएका थिए,” सेखले भने ।