site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा आलोपालो मुख्यमन्त्री लिने कांग्रेस–एमालेबीच सहमति, यसरी गरियो भागबन्डा 

विराटनगर । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच कोसी प्रदेशमा आलोपालो मुख्यमन्त्री पद लिने सहमति भएको छ । एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भई आउँदो मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने समेत सहमति भएको छ ।

शनिबार काठमाडौंमा मुख्यमन्त्री हिक्मत कार्की, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी, कांग्रेस संसदीय दलका नेता उद्धव थापासहित बसेको नेताहरूको बैठकबाट आलोपालो मुख्यमन्त्री र मन्त्रालयको भागबन्डा मिलाइएको बताइएको छ । कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार, सहमतिबमोजिम केन्द्रमा कांग्रेसतर्फबाट प्रधानमन्त्रीले पदभार सम्हालेलगत्तै कोसीमा मुख्यमन्त्री फेरिनेछ ।

“मन्त्रालय भने चार/चारवटा लाने सहमति भएको छ,” उनले भने, “मुख्यमन्त्रीसहित अहिले एमालेले सम्हालेका मन्त्रालय उहीसँग हुनेछ ।”

कांग्रेसले भौतिक पूर्वाधार, स्वास्थ्य, सामाजिक, पर्यटन वन तथा वातावरण र कृषि तथा सहकारी मन्त्रालय लिनेछ ।

कांग्रेस र एमालेबीच संसदीय समितिका तीन/तीनवटाको सभापति पद लिने भागबन्डा गरिएको छ । सार्वजनिक लेखा समितिको सभापति पद प्रतिपक्षलाई दिने परम्पराअनुरूप नेकपा (माओवादी केन्द्र)ले प्राप्त गर्नेछ ।

एमालेका हिक्मत कार्की माओवादी केन्द्रका सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । केन्द्रमा कांग्रेस–एमाले गठबन्धन भई नयाँ सरकार बनेपछि कोसीमा माओवादीतर्फका मन्त्रीहरूले शुक्रबार राजीनामा दिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro