site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जगदुल्लाको जादुमय यात्रा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हिमाली जिल्ला डोल्पा प्राकृतिक हिसाबमा प्रचुर सम्भावना बोकेको जिल्ला हो । फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, जगदुल्ला ताल शे–गुम्बा, कुख्यान फालक ताल, धो तराप, पङ्बोर ताललगायत दर्जनौँ प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्य डोल्पामै पर्दछन् ।

यसमध्ये एक प्रमुख पर्यटकीय गन्तव्य हो, जगदुल्ला ताल । यो ताल समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा पर्दछ । जगदुल्ला गाउँपालिकाकाको नामकरण पनि यसै तालको नामबाट गरिएको छ ।

पालिकाको प्रमुख बजारका रूपमा रहेको काइगाउँबाट यो तालका लागि यात्रा सुरु हुन्छ । जगदुल्ला नदीको तीरैमा विद्यमान यो ठाउँ यहाँको प्रमुख बजार पनि हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जंगलको तलतिर अवस्थित काइगाउँका धेरैजसो घरहरू रंगीबिरंगी जस्ताले छाइएका छन् । राष्ट्रिय महत्त्वको १०६ मेगावाट क्षमताको निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजना काइगाउँनजिकै बन्न लागेको छ ।

Jagadulla-1-1722049924.jpg
भौगोलिक हिसाबमा चिटिक्क जगदुल्ला आर्थिक, सामाजिक तथा पर्यटकीय दृष्टिकोणबाट जिल्लाकै महत्त्वपूर्ण स्थानीय तह पनि हो । त्यति मात्र नभएर आर्थिक सुशासन कायममा पनि कर्णालीकै अब्बल स्थानीय तह घोषित हुँदै आएको छ ।

Royal Enfield Island Ad

जगदुल्ला तालका लागि हाम्रो पहिलो दिनको यात्रा त्रिपुराकोट बजारबाट सुरु भयो । सामान्य तयारीका साथ हामी मोटरसाइकलमा बिहानै हिँड्यौँ ।

जगदुल्ला ताल पुग्ने हुटहुटीले एक वर्षदेखि पिरोलिरहेको थियो । जब हामीले यात्रा सुरु गर्‍यौँ, उत्साहसँगै डर पनि थियो । तथापि, हिँडेको डेढ घण्टामै लिकु, मुहुँ, हुम, बन्तडी हुँदै बलांग्रा लेकमा पुगियो ।

यात्राको साथी ‘रेलको बाटो’, ‘नुनको भारी’लगायत चर्चित गीतका कलाकार लक्ष्मण देवकोटा हुनुहुन्थ्यो । बलांग्रा पुगेर कफी पिउँदै एकछिन आराम गर्‍यौँ ।

बेँसीबाट लेक उक्लिएका हामीलाई अलि चिसो लागेको थियो । मध्य डोल्पाको अग्लो स्थानमा पर्ने बलांग्राबाट सुन्दर गाउँबस्ती, हिउँले सेताम्य हिमाल अनि हरिया फाँटहरूमा फुलेका रंगीबिरंगी फूलहरूको समेत अवलोकन गर्न सकिन्छ ।

त्यहाँबाट अगाडि बढ्याैँ । जदुल्लाको टेलिफोन टावरले बाटोभरि नै राम्रो काम गर्ने रहेछ, जसले गर्दा घरमा सम्पर्क गर्न सजिलो भयो ।

तुलधारा, थुमलाग्ना हुँदै बिहान ११ बजे काइगाउँ पुगियो । बलांग्रादेखि काइगाउँसम्मको मोटरबाटो कच्ची भए पनि समग्रमा राम्रो नै थियो । कुनै बेला त्रिपुराकोटबाट दुई दिनमा पुगिने काइगाउँको यात्रा अहिले मोटरसाइकलबाट दुई घण्टामा छोट्टिएको छ ।

Jagadulla-2-1722049965.jpg
हामी प्रकृतिसँग रमाउँदै, आँखा र क्यामेरामा फोटो अनि भिडियो कैद गर्दै चार घण्टामा काइगाउँ पुग्यौँ । छिटो हाँक्न सक्ने त दुई घण्टामै त्रिपुराकोटदेखि काइगाउँ पुग्न सक्ने रहेछन् ।

पहिलोपटक जगदुल्ला ताल जाँदै थियौँ । स्थानीय एकजना साथी सँगै लैजानु नै पर्छ भन्ने थियो । त्यही भएर गाउँपालिकाका अध्यक्ष नारासिं रोकायलाई एकजना साथी बनाइदिन अनुरोध गरेका थियौँ ।

काइगाउँ पुगिसेकपछि साइकलयात्री भाष्कर बस्नेत भाइलाई फोन लगायौँ । भाइले जगदुल्ला जलविद्युत् आयोजनाको कार्यालयमा आउन भने । हामी कार्यालयमा पुगेपछि पब्लिक रिलेसन अफिसर तथा वातावरणविज्ञ मनीष न्यौपानेसित भेट भयो ।

भेटघाटपछि गफ गर्दै खाना खाइयो । काइगाउँमा खानबस्नका लागि राम्रा होटेलहरू पनि रहेछन् । जगदुल्ला ताल यसअघि नै धेरैपटक छिचोलिसकेका भाष्करलाई पनि सँगै लैजाने अघिकै योजना थियो ।

भाष्कर आयोजनामै जागिरे भएकाले व्यस्तताका कारण जान मानेनन् । वास्तवमा भाष्करले सामाजिक सञ्जालमा पोस्ट्याएका तस्बिरले नै जगदुल्ला ताल पुग्ने जोस पलाएको थियो ।

Jagadulla-3-1722049991.jpg
उता, गाउँपालिकाका अध्यक्ष नारासिं रोकायसँग पनि समन्वय भइरहेको थियो । एकजना जनप्रतिनिधि नै साथी लैजाने कुरा भएको पनि हो, तर हामी ढिला गरी काइगाउँ पुगेकाले वडाध्यक्षहरू काममा निस्किइसकेका रहेछन् ।

हामीलाई न बाटो न त यतातिरका लागि कस्तो तयारी गर्नुपर्छ भन्ने नै थाहा थियो । थियो त खाली जगदुल्ला पुग्ने बलियो आत्मविश्वास मात्र ।

जगदुल्ला आउनुभन्दा केही दिनअघि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका रेन्जर रामु केसी सरले ‘जगदुल्ला ताल जाँदा समस्या परे तोइजुम पोस्टमा भएको हाम्रो टोलीले समन्वय गर्छ, हामी फोन गरिदिन्छौँ’ भन्नुभएको थियो ।

सोही आसले काइगाउँबाटै पोस्टमा फोन हानियो । आफ्नो परिचय खुलाउँदै मैले ‘पहिलोपटक जगदुल्ला ताल जाँदै छौँ, सँगै जानुपर्‍यो’ भनेँ ।

मेरो कुरा सुनेर उहाँले ‘आउनुस्, सल्लाह गरौँला’ भन्नुभयो । सुनेर एक किसिमको आशा पलायो । एकजना वडाध्यक्ष तालनजिकै रहेको र उनले पनि गाइड गर्ने खबर पायौँ ।

हामी थप खुसी भयौँ । यति गर्दागर्दै १२ बजिसकेको थियो । त्यहाँबाट बिदा मागेर मोटरसाइकलमा हुरिकोट हिँड्यौँ । सडक त्यहाँसम्म मात्रै थियो । अब भने पैदल हिँड्नुपर्थ्यो ।

गाउँमा मोटरसाइकल राखेर मध्याह्नको १२ बजे हाम्रो यात्रा सुरु भयो । हिँड्नै लाग्दा बेजोडले पानी पर्न थाल्यो । हामीलाई एकैदिनमा जगदुल्ला पुगेर भोलिपल्ट ताल हेरेर काइगाउँ फर्कन सकिने बताइएको थियो । गलत जानकारी पो पाइएको रहेछ !

आधा घण्टामा तोइजुम पोस्ट पुग्न सकिन्छ भनेको त दुई घण्टा लाग्यो । तब सोच्याैँ, जगदुल्ला ताल त धेरै टाढा रहेछ । तर, हिम्मत हारेनाैँ ।

पानी निरन्तर परिरहेको थियो । लगाएका कपडा निथ्रुक्क भिजेको थियो । तथापि, प्रकृतिसँग रमाउँदै हामी तोइजुम पुग्यौँ । हाम्रो अवस्था देखेर निकुञ्जका सरले आगो बाल्नुभयो । तातो चियाको व्यवस्था गर्नुभयो । केही राहतको अनुभूति भयो ।

भिजेका कपडा फेरौँ भन्दा झोलाका कपडा पनि भिजिसकेको रहेछ । चिसै कपडा फेरेर अगाडिको यात्रा सुरु भयो । अब भने हामीसँग पोस्टका एकजना वरिष्ठ सर पनि हुनुभयो । हामी पनि ढुक्क भयौँ ।

उहाँ धेरैपटक ताल पुगिसक्नुभएको रहेछ । बाटोको पीरबाहेक अब कुनै पीर थिएन । पानी भने रोकिएको थिएन । अब हाम्रो यात्रा २ बजेतिर सुरु भयो ।

त्यस दिनको योजना माथिल्लो डंसिले पुग्ने थियो । त्यहीअनुसार यात्राको गति पनि बढाइएको थियो । घना जंगलको बाटो, अनि तलतिर जगदुल्ला नदी सुसाइरहेको थियो । लाग्थ्यो, नदीले जगदुल्लाको सुन्दरता बयान गरिरहेको छ ।

यहाँ पुग्न कस्सिने हामीलाई सुसाइबाटै स्वागत गरिरहेको अनुभूति भयो । आसपासको सुन्दरताले मनमा जोस भरेको थियो ।

तोइजुमबाट हिँडेको दुई घण्टापछि साथी लक्ष्मणलाई भोक लागेछ, ‘आराम गरेर केही खाऊँ’ भन्नुभयो । खोला किनारमा आराम गर्दै बिस्कुट खाइयो ।

बिस्कुट र केही प्याकेट चाउचाउ पनि थियो । हिँड्दै र खाँदै गरेपछि त्यो पनि सकियो ।

त्यसपछि हामी भिज्दैभिज्दै मुस्किलले तल्लो डंसिले पुग्यौँ । ५ बजिसकेको थियो । बास बसौँ त नि भन्दा त्यहाँ कुनै भेडीगोठ थिएनन् । माथिल्लो डंसिले पुगेपछि मात्र गोठ भेटिने रहेछ ।

हामी जसरी भए पनि माथि नै पुग्नुपर्ने भयो । यहाँसम्म बाटो तेर्सैतेर्सै थियो । खासै थकाइ अनुभव भएको थिएन । तर, बास बस्ने समय भइसकेको थियो । भोक बेस्मारी लागेको थियो । चिसो पनि उत्तिकै थियो ।

त्यस क्षेत्रमा किनेर खाने केही भेटिएन । झोला छामछुम गर्दा एक प्याकेट चाउचाउ भेटियो । त्यही पनि उमालेर तीनजनाले सुप खायौँ । उप्रान्त हाम्रो अर्को कठिन यात्रा सुरु भयो ।

माथिल्लो डंसिले पुग्न अझै उकालो छिचोल्नुपर्ने रहेछ । म पूरै थाकिसकेको थिएँ । प्रत्येक पाइला कठिन बन्दै गइरहेको थियो । लगाएका कपडा पनि भारी लाग्न थालेको थियो ।

सँगै आएका दुईजना साथीको पछिपछि लत्रिएझैँ भएँ म । लक्ष्मण र वरिष्ठ सरको हिँडाइले बाहिरी रूपमा थकान देखाउन्न थियो । दिनभरको चिसो, भोक र उकालो बाटोले धेरै गाह्रो बनाएको थियो ।

झमक्क साँझ परिसकेको थियो । मेरो सास फुलेर हैरान भएको थियो । टाउको अति नै दुखेको थियो । पवित्र वृक्ष भोजपत्रका रुखहरूमा ठोक्किएको मन्द हावाले आनन्द पनि दिइरहेको थियो ।

जबजब रात हुँदै गयो, तब पाइला अगाडि सार्नै कठिन हुन थाल्यो । मनमनै लाग्यो, सपनाको जगदुल्ला ताल बहुत टाढा रहेछ । नआएको भए पनि के नै सकिन्थ्यो होला !

पिठ्युँमा भएको १० किलोको झोला क्विन्टलझैँ लाग्न थाल्यो । मेरो अवस्था देखेर दया लागेछ क्यारे, मेरो झोला पनि लक्ष्मणजीले नै थप्नुभयो ।

मुस्किलले ८ बजे माथिल्लो डंसिले पुग्यौँ । धेरै भेडीगोठहरू रहेछन् । बाहिरतर्फ सबैले बत्ती बालेका थिए । भोटेकुकुरहरू एकनासले भुकिरहेका थिए ।

याकचौँरी र झोपाका घण्टीहरूले कानलाई आनन्दित तुल्याइरहेको थियो । वडाध्यक्ष शेरबहादुर लामाको गाई राख्ने गोठ त्यहीँ रहेछ ।

सरले हामीलाई सिधै त्यहीँ लानुभयो । उहाँलाई पत्रकारको टिम आउँदै छन् भन्ने खबर भइसकेको रहेछ । हामी सबैलाई चिसो लागेको थियो । विशेष गरेर म चिसोले थरथर काँपिरहेको थिएँ । पुग्नेबित्तिकै आगो ताप्न सुरु भयो । चियाकफी खाइयो । शरीर तातेझैँ भयो । अझ सिरक मागेर मजाले एक घण्टाजति सुतियो । त्यसपछि केही विशेष भएझैँ भयो ।

केही समयपछि उठेँ । सबैले खाना खायौँ । खानामा भात, दाल र च्यांग्राको मासु थियो । मजाले दाबियो ! मैले वडाध्यक्ष, लक्ष्मणजी र सरलाई आफू भोलिपल्ट जगदुल्ला ताल जान नसक्ने जानकारी गराएँ । भनेँ, ‘तपाईंहरू पुगेर आउनुहोला, म पालमै बस्छु ।’

‘अहिले आराम गरौँ, भोलि सल्लाह गरौँला’ भन्ने राय आयो । करिब ४ हजार ५०० को उँचाइमा वडाध्यक्षले होटेलको राम्रो सुविधा दिनुभएको रहेछ । उहाँले सबै घोडाखच्चड र याकहरूबाट खानेकुरा ओसार्नुहुने रहेछ ।

दिनभरको थकाइले च्यापेको थियो । भुसुक्कै निदाइएछ । उठ्दा बिहान भइसकेछ । हिमाल नजिकै थियो । सेता दन्तेलहरझैँ देखिएका हिमालमा बिहानीको सूर्यको किरण झन् आकर्षक देखिन्थ्यो ।

विस्तारै हामी बसेकै ठाउँमा घाम आइपुग्यो । नजिकै कलकल गर्दै जगदुल्ला खोला बगिरहेको थियो । खोला आसपास उम्रिएका हरिया बुकीलगायत घाँसले नदीलाई झन् मनमोहक बनाइरहेको थियो । हरिया फाँट र सेताम्य हिमालले मेरो मन चंगा भयो ।

विशाल फाँटमा घोडा, याकचौँरी र भेडाहरू लहर मिलाएर चरिरहेका थिए । हामी ती दृश्यहरू कैद गर्न लाग्यौँ । माथिल्लो डंसिलेको सुन्दरताले नै मेरो अघिल्लो दिनको सबै थकान एकाएक हरायो । लाग्यो, कसैले ममाथि जादु गरिरहेको छ ।

त्यो हिँडाइ, त्यो भोक, त्यो चिसो सबै बिर्सिइयो । अनुभूत भयो प्रकृतिमा विद्यमान यति धेरै शक्ति । अघिल्लो दिन साँझ मैले तालतिर नजाने कसमजस्तै खाएको थिएँ, यतिखेर ‘छिटो गइहालाैँ’ भनेर अत्याउन थालेँ ।

९ बजे हामी तीन र वडाध्यक्षसहित चारजना भएर हिँड्यौँ । साथमा बोक्यौँ चाउचाउ । डंसिलेबाट जब अघि बढ्यौँ, तब हाम्रा क्यामेराहरूले प्रत्येक पल कैद गर्न थाले । हाम्रो मुखबाट ‘वाह, कति राम्रो ठाउँ !’ भन्ने मात्र निस्किन थाले ।

कञ्चन खोला, हरिया फाँट, हिउँ फुलेका हिमाल नजिकबाट नियाल्दा लाग्यो, असली स्वर्ग भनेको यही नै हो । मृत्युपछि पुगिने भनिएको स्वर्ग कल्पना मात्र हो ।

प्रकृतिसँग पौँठेजोरी खेल्दै करिब तीन घण्टा हिँडेपछि हामी राक्षस तालको वारितिर पुग्याैँ । यसलाई प्रेमताल पनि भनिँदो रहेछ । ठ्याक्कै पानको पात आकारजस्तो ।

हामी थकाइ मार्न बसेनौँ, बरु ताललाई पछाडि राखेर फोटो र भिडियो बनाउन सुरु गर्‍यौँ ।

ताल अत्यन्तै आकर्षक देखिन्थ्यो । वरिपरि हिमोल अनि बीचमा ताल । साँच्चिकै सृष्टिको एक सुन्दर रचना थियो यो ।

यो तालबाट अघि बढिसकेपछि पछाडि फर्किनु हुन्न भन्ने स्थानीयमा विश्वास रहेछ । आधा घण्टा बसेपछि हामी अघि बढ्याैँ । करिब दुई घण्टाको हिँडाइ उप्रान्त सपनाको गन्तव्य जगदुल्ला ताल पुगियो ।

यहाँ पुग्नासाथ हाम्रो थकान एकाएक हरायो । खुसीले रमाउन थाल्यौँ । कराउन थाल्यौँ । गोलाकार ताल कचौरामा दूध भरिएझैँ देखिन्थ्यो । त्यहाँ पुगेपछि मलाई लाग्यो, हाम्रै डोल्पामा यति सुन्दर गन्तव्य छन् भने अन्त किन घुम्ने ?

मैले सोचेँ, पहिला डोल्पा घुमेर सकाऊँ अनि मात्रै अन्य ठाउँका बारेमा सोचौँला ।

जगदुल्ला ताल धार्मिक महत्त्वका हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण रहेछ । प्रत्येक वर्षको साउन पूर्णिमामा जिल्लाभित्र र बाहिरबाट हजारौँको संख्यामा तीर्थालु जाने गर्दा रहेछन् ।

तालमा स्नान गरेर दर्शन गर्नाले सम्पूर्ण मनोकामना पूरा हुने र पाप पखालिने जनविश्वास पनि रहेको छ । त्यति मात्र नभएर प्राचीन तिब्बतीय ग्रन्थमा ९ लाख देवीदेवताको पवित्र धार्मिकस्थल भएको विषय पनि स्पष्ट रूपमा उल्लेख गरिएको रहेछ ।

तालको पानी निकासमा राखिएका ध्वजापताकाले तालको रौनक बढाएका पाइन्थ्यो । हामीले पनि तालको पानीले पञ्चस्नान गरेर एकछिन पूजा गर्‍यौँ । अनि, दृश्य कैद गर्न थाल्याैँ । वरिपरि सेताम्य हिमाल, बीचको खाल्डोमा तालले सौन्दर्य थपेको थियो ।

Jagadulla-4-1722050019.jpg
फोक्सुण्डो तालजस्तै यो तालले पनि रङ परिवर्तन गर्ने रहेछ । एकैछिनअघि निलो रङको ताल बादलले छोप्नेबित्तिकै फिक्का सेतो रङमा बदलियो !

तालको दृश्य कैद गर्दागर्दै एकछिनमा डेड घण्टा बित्यो । उत्निखेरै असिनापानी पर्न थालिसकेकोले वडाध्यक्षले छिटो फर्किनुपर्ने बताउनुभयो ।

मलाई लागिरहेको थियो, सधैँ तालको आसपासमा बसौँ । एकनासले ताल नियालिरहूँ । तर, त्यो सम्भव थिएन । प्राकृतिक सुन्दरताको रसपान गर्न पुगेका हामी धार्मिक काममा समेत सहभागी हुने मौका पाइयो ।

केही समयपछि मन अमिलो बनाउँदै हामी तालबाट बासतिर लाग्यौँ । अनि, भोलिपल्ट बिहानै काइगाउँका लागि हिँड्याैँ । करिब तीन घण्टमा तोइजुम पोस्ट आइपुग्यौँ ।

खाना खाएर हामी अघि बढ्यौँ । केही बेरमा हुरिकोट आइपुगेर बाइक लिएर करिब तीन घण्टामा त्रिपुराकोट प्रवेश गर्‍यौँ । यसरी हामीले तीन दिनको यात्रामा पूरै जगदुल्ला घुम्न सकेका थियौँ ।

जगदुल्ला गाउँपालिका देशकै नमुना गाउँपालिकाभित्रमा पर्दछ । यहाँका प्रत्येक वडामा सडक जोडिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी र सञ्चारको राम्रो सुविधा छ । लगातार दोस्रो कार्यकालसम्म नेतृत्व गरेका युवा नेता नारासिं रोकाय र उपाध्यक्ष अमरिता लामा जगदुल्लाको विकासमा सधैँ चिन्तित हुने गरेको मेरो अनुभव रह्यो ।

जगदुल्ला ताल वास्तवमै एक सुन्दर पर्यटकीय गन्तव्य हो । असार–साउनमा यहाँको यात्रा अझै रोमाञ्चक हुने बताइन्छ । यसका आसपासमा थप दुईवटा ताल छन् । यस तालको प्रचारप्रसार र विकासमा तीनै तहका सरकार लाग्नुपर्ने देखिन्छ । यसलाई भरपर्दो बनाउन सक्ने हो भने जगदुल्ला ताल हेर्नका लागि हजारौँ पर्यटक ओइरिने निश्चित छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro