site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
शिव परियार भन्छन्– भिडियोबारे मलाई प्रश्नै नगर्नुस् 

काठमाडौं । एक हप्ताअगाडि गायक शिव परियार र समीक्षा अधिकारीको स्वरमा एउटा गीत रिलिज गरियो । गीतको बोल छ, ‘">धोकेबाज’ । युवराज मगर युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियो पनि छ ।

पछिल्लो समय बजारमा जस्ता गीत चलिरहेका छन्, त्यसैलाई फलो गरेको देखिएको छ । रवीन लामिछानेको शब्द रहेको गीतमा संगीत युवराज मगरको छ ।

प्रेम र वियोगको सेरोफेरोमा गीत केन्द्रित छ । माया र विश्वास गरेको व्यक्तिबाट नै धोका पाएको सन्दर्भलाई समेटेको गीतका शब्द काव्यिक छैनन् । आमनेपालीले गाली गर्दा प्रयोग गर्ने शब्द ‘साला’ समेत गीतमा छ । यसबाहेक शब्दमा आपत्ति जनाउनुपर्ने ठाउँ छैन ।

Dabur Nepal
NIC Asia

सन्दर्भअनुसार हल्का शब्द गीतमा प्रयोग छ । युवालक्षित गीत भएकाले शब्द पनि सोहीअनुसारको छ । यही गीतलाई लिएर यति बेला शिव परियारको आलोचना भइरहेको छ । गीतको भिडियो अपलोड गरिएको युट्युब कमेन्टमै शिवको आलोचना भइरहेको छ । धेरैजसोले शिवको अहिलेसम्मकै ‘झुर’ गीत भनेर कमेन्ट गरेका छन् ।

यस विषयमा शिव भन्छन्, “गाना मैले गाएको हो, भिडियो मैले निर्माण गरेको होइन ।”

आफू गायक मात्र भए पनि भिडियोसँग जोडेर गाली गरिएको उनको गुनासो छ । “भिडियो निर्माणमा मेरो कुनै पनि संलग्नता छैन । तर, गायक मात्र होइन, डिरेक्टर पनि यही हो भनेजसरी कुरा भइरहेको छ,” उनी भन्छन् ।

आफूले अरूको च्यानलका निम्ति पारिश्रमिक लिएर गीत गाएको उनी स्पष्ट पार्छन् । “भिडियोमा तात्तातो कुरा छ भनेर मसँग जोडेर निर्देशक पनि यही हो भन्नेजस्तो भइरहेको छ,” उनी भन्छन्, “गीत मैले गाएको हो, गीतको बारेमा कसैलाई आपत्ति छ भने मैले बोल्नुपर्‍यो । भिडियोको बारेमा आपत्ति हो भने आश्मा विश्वकर्मा र रामजी लामिछानेलाई फोन गर्ने हो ।”

गीत आफूले निर्माण पनि नगरेको र अरूकै च्यानलबाट ल्याइएको उनको भनाइ छ । “गीतमा कोही व्यक्तिलाई लाञ्छना लगाउने शब्द प्रयोग भएको छैन । मायाप्रेमबाट आक्रान्त भएर जीवन बर्बाद भएर व्यक्त भएको शब्दलाई मैले व्यक्त गरेको हो,” उनी भन्छन्, “तिमीले मलाई सखाप पार्‍यौ भन्नु र साला भन्नु उस्तैउस्तै हो ।”

नेपाली चलचित्रमा आदर्श मानिने नायकहरूले बोल्ने संवाद पनि सबैले सुनिरहेको भन्दै गीतको शब्दमा आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उनको जिकिर छ ।

“सबैको टार्गेट म भएँ, निर्देशक नै म भएझैँ गरेर सबैले मलाई प्रश्न गरिरहनुभएको छ,” शिव भन्छन्, “म भिडियोको कन्सेप्ट र डिजाइनमा सहभागी भएको भए मैले जवाफ दिनुपर्थ्यो । भिडियो फाइनल मैले हेरेको भए पनि त्यसको जिम्मेवार म हुन्थेँ, तर म यो प्रक्रियामै सामेल छैन ।”

अरूको कामका बारेमा आफूले जवाफ दिन नसक्ने उनी स्पष्ट पार्छन् । “अडियोमा प्रश्न छ भने त्यसको जवाफ मैले दिनुपर्छ, दिन्छु,” भिडियोप्रति सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्नमा शिव भन्छन्, “भिडियोको मलाई प्रश्न नै नगर्नुस् ।”

भिडियोबारे आफू केही नबोल्ने उनी बताउँछन् । अरूको कन्सेप्ट र काममा आफूले जवाफ दिन नमिल्ने उनी तर्क गर्छन् । भिडियोबारे निर्देशक रामजी लामिछाने र आश्मा विश्वकर्मालाई प्रश्न गर्न उनी सुझाव दिन्छन् ।

निर्देशक रामजी भने आफूले बनाएको भिडियोप्रति सन्तुष्ट रहेको बताउँछन् । हरेक सिर्जनालाई हेर्ने दृष्टिकोण व्यक्तिअनुसार फरकफरक हुने उनको भनाइ छ ।

“ट्राजिडी गीतमा केटाकेटी रुने भिडियो मात्र बन्ने गरेकाले त्यस्तो नबनाएर फरक कन्सेप्टमा काम गरौँ भनेर यो भिडियो बनाएका छौँ,” निर्देशक रामजी भन्छन्, “यो कन्सेप्टलाई कतिले स्वीकार गर्नु भएन होला । एकखालका दर्शकले स्वीकार गरे पनि एकखालका दर्शकले नयाँ कन्सेप्टको भिडियो भनेर मन पराइरहनुभएको पनि छ ।”

कलाकार (आश्मा विश्वकर्मा)लाई ग्लामरस तरिकाले आफूले भिडियोमा प्रस्तुत गरेको उनी बताउँछन् । हरेक व्यक्तिले फरकफरक तरिकाले हेर्ने र बुझ्ने कुरालाई नकार्न नहुनेमा उनी जोड दिन्छन् । “एउटै गीतको भिडियो पाँचजना डिरेक्टरलाई दियो भने फरकफरक पाँचवटा कन्सेप्टमा भिडियो बन्छ,” लामिछाने भन्छन्, “मैले मेरो कन्सेप्टअनुसार काम गरेको हुँ । मलाई आफ्नो काममा चित्त बुझेको छ ।”

शिवले भनेजस्तै रामजी भिडियो बनाउँदा आफूले गायकसँग बसेर कन्सेप्ट डिजाइन नगरेको बताउँछन् । यो आफ्नै कन्सेप्ट भएको उनी सुनाउँछन् । “भिडियोमा शिव दाइलाई टिप्पणी गर्ने ठाउँ छैन, उपयुक्त पनि नहोला, किनभने अडियो मात्रै उहाँको पार्ट हो,” लामिछाने भन्छन्, “फरक काम गरौँ भन्ने सोचले मैले कन्सेप्ट बनाएको हुँ । हलिउड, बलिउडमा त यस्तो भिडियो ब्रेकअपका गीतमा आउँछन्, स्वीकार पनि गरिन्छ । हाम्रोमा केही समय लाग्न सक्छ ।”

आफ्नो कारणले गायकले गाली खाइरहेको भए माफी माग्न तयार रहेको उनी बताउँछन् । “भिडियो मैले बनाएको हो, त्यसैले म जवाफदेही हुन्छु,” उनी अगाडि थप्छन्, “यदि, मेरो कारणले शिव दाइले गाली खाइरहनुभएको छ भने म उहाँसँग सरी भन्छु ।”

कसैलाई पनि विवादमा ल्याउने आफ्नो उद्देश्य नरहेको उनी स्पष्ट पार्छन् । एकजनाले भिडियो निर्देशन गर्ने अर्कोले गाली खानु स्वाभाविक नभएकामा उनी जोड दिन्छन् ।

शिव आफैँमा चलेको गायक भएकाले उनीमाथि प्रश्न उठेको हुन सक्ने उनी बताउँछन् । “बजारमा नोटिस नभएका गायकगायिकाले गाएको भए सायद गायकको टिप्पणी हुने थिएन होला,” उनी भन्छन् ।

सर्जक अथवा गीतकार तथा संगीतकार आफैँले चासो देखाएर छायांकन वा युट्युबमा अपलोडअगाडि भिडियो हेर्न चाहेको खण्डमा बोलाउने र त्यसबाहेकको अवस्थामा नबोलाउने गरेको निर्देशक रामजी बताउँछन् ।

यो गीत (धोकेबाज)को भिडियोमा शिव परियार लिप्सिङ दिइरहेका देखिन्छन् । कोरसहरू उनका पछाडि देखिन्छन् । निर्देशक रामजीले भिडियो छायांकनमा शिव आएर लिप्सिङ दिएको जानकारी दिए । “लिप्सिङका लागि शिव दाइ छायांकनस्थलमा आउनुभएको थियो,” उनले भने, “लिप्सिङ गरेर एक/दुई घण्टाजति बसेर जानुभएको हो ।”

शिव पूरै छायांकनमा भने नबसेको उनी बताउँछन् । उनले भिडियो तयार भइसकेपछि अपलोड हुनुभन्दा अगाडि हेर्छु नभनेको र आफूले पनि त्यसका निम्ति आग्रह नगरेको रामजी स्पष्ट पार्छन् ।

निर्देशक रामजी केही आलोचना र टिप्पणी गरिए पनि फरक कन्सेप्टमा बनाएकाले भिडियो धेरैले रुचाएको जिकिर गर्छन् । “राम्रो भएरै हो, गीत अहिले ट्रेन्डिङमा छ,” उनी भन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro