site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युरोपमा ‘हिट वेभ’ : धेरै स्थानमा ‘रेड अलर्ट’ जारी

काठमाडौं । युरोपमा लगातार दोस्रो दिन पनि हिटवेभ (लू)को प्रभाव देखिएको छ । हिटवेभका कारण जनजीवन नराम्ररी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसबारे फ्रान्स, स्पेन, इटाली, पोर्चुगल र जर्मनीमा चेतावनी जारी गरिएको छ । फ्रान्समा राजधानी पेरिससहित १६ स्थानमा ‘रेड अलर्ट’ जारी गरिएको बीबीसीले जनाएको छ । त्यहाँ आइफल टावरको शीर्ष भाग बन्द गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इटालीमा तापक्रम बढ्दा दुईजनाको मृत्यु भएको छ । पश्चिमी टर्कीमा डढेलोका कारण ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

पोर्चुगल र स्पेनका केही भागमा यो साता जुन महिनाको हालसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको छ । त्यहाँ तापक्रम ४६ डिग्री सेल्सियस पुगेको छ ।

दक्षिण–पूर्वी इंग्ल्यान्डमा आज तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । बेलायतको बाँकी भागमा मौसम ठिकै रहेको जनाइएको छ ।

फ्रान्सको मौसम एजेन्सी मेटियो फ्रान्सले आज पेरिस, सिन–सान–देनिस, भाल–द्वाज, इभलिन्ससहित १६ क्षेत्रलाई रेड अलर्टमा राखेको छ । देशको शिक्षा मन्त्रालयले उच्च तापक्रमका कारण यस दिन एक हजार ३५० सार्वजनिक विद्यालय आंशिक वा पूर्ण रूपमा बन्द हुने घोषणा गरेको छ ।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले इंग्ल्यान्डका निम्ति रेड अलर्ट भोलि बिहानसम्मलाई विस्तार गरेको छ । यो चेतावनीमा योर्कशायर र द हम्बर, पूर्वी मिडल्यान्ड्स, पश्चिमी मिडल्यान्ड्स, पूर्वी इंग्ल्यान्ड, लन्डन, दक्षिण–पूर्व र दक्षिण–पश्चिम भूभाग समेटिएको छ ।

स्पेनको बार्सिलोनामा सोमबार जुन महिनाका निम्ति रेकर्ड तापक्रम कायम भएको छ । सेभियाजस्ता दक्षिणी सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्