site stats
बाह्रखरी :: Baahrakhari
कला
चरित्रहत्या गर्नेलाई कानुनी कठघरामा उभ्याउँदै एलिना, के हुन्छ कारबाही ?

काठमाडौं । गायिका एलिना चौहानले आफूमाथि छुद्र टिप्पणी गर्नेलाई कारबाहीको दायरामा ल्याएरै छोड्ने बताएकी छन् । आफ्नो निजी जीवनमा प्रश्न उठाउने अधिकार कसैलाई नभएकामा उनले जोड दिएकी छन् ।

आफ्नो व्यक्तिगत जीवनमा प्रश्न उठाउँदै सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने र लाञ्छना लगाउनेलाई कानुनी कठघरामा उभ्याएरै छाड्ने भन्दै एलिनाले प्रहरीमा उजुरी दिएकी छन् । आफूलाई गाली गर्नेको फेसबुक प्रोफाइल सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएकी उनले असह्य भएपछि अन्ततः कानुनी उपचारमा गएको बताएकी छन् । गालीगलौज र चरित्रहत्या सह्य नहुने उनले प्रस्ट पारेकी छन् ।

“व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा गालीगलौज र चरित्रहत्याजस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन । त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भएर मैले कानुनी प्रक्रिया अघि बढाएकी छु,” एलिना भन्छिन्, “यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एलिनाले गृहमन्त्री रमेश लेखकलाई पनि भेटेकी छन् । मंगलबार (असार १७) मन्त्री लेखकलाई भेटेर उनले आफ्नो समस्या राखेकी छन् । एलिनासँगै गृहमन्त्रीलाई भेट्न गायिका समीक्षा अधिकारी पनि पुगेकी थिइन् ।

एलिनाले सोमबार (असार १६) नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । उनले फेसबुकमा अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।

एलिनाले नाम तोकेर चारजनाविरुद्ध उजुरी दिएकी छन् । ब्युरोका एसपी दीपकराज अवस्थीले उजुरीमाथि अनुसन्धान सुरु भइसकेको बताए ।

“कसले कहाँबाट कमेन्ट गरेर चरित्रहत्या गरेको हो, हामी अनुसन्धान गर्दै छौँ,” उनले बाह्रखरीसित भने, “फेक एकाउन्टमार्फत कमेन्ट गरेका हुन् अथवा वास्तविकमार्फत भन्ने विषयमा ब्युरोले अनुसन्धान थालिसकेको छ ।”

व्यक्तिको पहिचान गरेर चरित्रहत्या वा गालीगलौज गरेको पाइए पक्राउ गर्न सकिने उनले बताए ।

के हुन्छ सजाय ? 
“नेपालमा रहेको अवस्थामा पक्राउ गर्न सकिन्छ,” एसपी अवस्थीले भने, “यदि, विदेशबाट कमेन्ट गरेको हो भने फरारको सूचीमा राख्न सकिन्छ ।” फरारको सूचीमा राखिए प्रहरीले त्यस्ता व्यक्तिलाई नेपाल आएपछि जति वर्षपछि पनि पक्राउ गर्न सक्छ ।

ऐनमा के छ ? 
सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही हुन्छ । विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद हुन्छ । यी दुवै सजाय पनि हुन सक्ने व्यवस्था छ ।

उक्त ऐनको दफा ४७ को उपदफा १ मा ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ भन्ने उल्लेख छ ।

सोही दफाको उपदफा २ मा ‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा त्यस्तो कसुरबापत अघिल्लोपटक भएको सजायको डेढी सजाय हुने’ उल्लेख छ ।

“हामीले कानुनी प्रक्रिया सुरु गरेका छौँ । आरोपी पक्राउ परेपछि अदालतले दण्डसजाय गर्नेछ,” एसपी अवस्थीले भने । 

विदेशमा रहेका व्यक्तिविरुद्ध उजुरी परेको अवस्थामा भने आरोपित तत्काल पक्राउ पर्ने र अदालती प्रक्रिया सुरु हुन समय लाग्नेछ । 

एक वर्षअगाडि पनि उस्तै थियो उजुरी
ब्युरो स्रोतका अनुसार, करिब एक वर्षअगाडि पनि एलिना यस्तै उजुरीसहित ब्युरोमा पुगेकी थिइन् । एलिनाको उजुरीपश्चात् प्रहरीले आरोपितलाई पक्राउ पनि गरेको थियो ।

“उजुरीअनुसार हामीले पक्राउ गरेपछि उहाँ (एलिना चौहान)लाई जाहेरी दिन बोलायौँ,” ब्युरो स्रोतले भन्यो, “तर, उहाँ जाहेरी दिन आउनु भएन । आशा छ, योपटक त्यस्तो नगर्नुहोला ।”

चरित्रहत्याको विषय सम्बन्धविच्छेद
विवाह बन्धनमा बाँधिएको छोटो समयमा सम्बन्धविच्छेद भएपछि एलिनामाथि सामाजिक सञ्जालमा अनावश्यक टीकाटिप्पणी गर्नेको संख्या बढेको थियो । सम्बन्धविच्छेदको व्यक्तिगत विषयमा चरित्रहत्या हुने खालका कमेन्ट आउनेक्रम नरोकिएपछि उनले यसविरुद्ध फेसबुकमा अभियान नै चलाएकी छन् ।

कसैको निजी जिन्दगीमा गरिने गालीगलौज सहेर बस्नुपर्छ भन्ने पक्षमा आफू नरहेको उनले बताएकी छन् । घटना पुरानो हुँदै गएपछि चरित्रहत्या गर्ने खालका कमेन्ट नआऊलान् भन्ने अपेक्षा गरेर हालसम्म आफू चुप बसेको एलिनाले प्रस्ट पारेकी छन् ।

अनावश्यक लाञ्छना लगाउने व्यक्तिका नाम, कमेन्ट र प्रोफाइल नै फेसबुकमा सार्वजनिक गर्ने उनको अभियानलाई धेरैले समर्थन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्यो कार्यको तारिफ गरेका थिए ।

एलिना र समीक्षाको नाम र तस्बिरसहित ओलीले ‘सहासी छोरीहरू’ भन्दै फेसबुकमा लेखेका थिए, “समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो ।”

एलिनाभन्दा पहिले समीक्षाले आफ्ना फेसबुक पोस्टमा गाली गर्नेहरूको प्रोफाइल र कमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । एलिनाले पनि त्यही उपाय अपनाएकी हुन् । उनको यो कदमको धेरैले तारिफ गरिरहेका छन् ।

फेसबुक प्रोफाइल सार्वजनिक गरेपछि गाली गर्नेको संख्या ८० प्रतिशतभन्दा धेरै घटेको र सम्हालिएर प्रतिक्रिया दिन थालिएको एलिनाले बताएकी छन् ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्