site stats
बाह्रखरी :: Baahrakhari
विदेश
१३० परोपकारी संस्थाले भने– अमेरिका र इजरायल समर्थित गाजा मानवीय कोष बन्द गर

काठमाडौं । विश्वका १३० भन्दा बढी परोपकारी तथा गैरसरकारी संस्थाले गाजामा खाद्य वितरण गरिरहेको विवादास्पद कोषलाई बन्द गर्न माग गरेका छन् । ती संस्थाले इजरायल र अमेरिका समर्थित गाजा मानवीय कोष (जीएचएफ) बन्द गर्न माग गरेका हुन् ।

इजरायलले मानवीय सहायता लिन खोज्ने ५०० भन्दा बढी प्यालेस्टाइनीको हत्या गरेको विषय बाहिरिएपछि ती संस्थाहरूले कोष नै बन्द गर्न माग गरेका हुन् । वितरण केन्द्रमा सहायता लिन खोज्ने अन्य करिब चारहजार जना घाइते भएका छन् ।

मे महिनाको अन्त्यदेखि जीएचएफले मानवीय सहायताअन्तर्गत खाद्यन्न वितरण सुरु गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अक्स्फाम, सेभ द चिल्ड्रेन र एम्नेस्टी इन्टरनेसनलजस्ता संस्थाले इजरायली सेना र सशस्त्र समूहहरूले सहायता लिन खोज्ने प्यालेस्टाइनीमाथि नियमितरूपमा गोली चलाउने गरेको बताएका छन् ।

इजरायलले सहायता लिनेमाथि जानाजानी गोली नचलाएको दाबी गरेको छ । उसले हमासको हस्तक्षेपलाई बाइपास गरी आवश्यकता भएका मानिसलाई प्रत्यक्ष सहायता प्रदान गर्ने बताएको छ ।

मंगलबार विश्वका केही ठूला परोपकारी संस्थाको संयुक्त वक्तव्यमा कोषले मानवीय कार्यका सबै मान्यता उल्लंघन गरेको र २० लाख मानिसमाथि दैनिक गोलीबारीको सामना गर्न बाध्य पारेको उल्लेख छ ।

जीएचएफ सञ्चालनमा आएदेखि चिकित्सक, प्रत्यक्षदर्शी र हमास–सञ्चालित स्वास्थ्य मन्त्रालयबाट लगभग दैनिकरूपमा सहायता खोज्ने व्यक्तिहरूलाई इजरायली सेनाले गोली हानी मारेको रिपोर्ट आएको छ ।

जीएचएफ सहायता वितरण प्रणालीले इजरायल–हमास अस्थायी युद्धविरामको समयमा सञ्चालित ४०० सहायता वितरण केन्द्रलाई हटाएर चार वटामात्र सैन्य नियन्त्रित वितरणस्थल कायम गरेको छ । जसमध्ये तीन गाजाको सुदूर दक्षिण–पश्चिममा र एक मध्य गाजामा छन् । 

“आज, गाजाका प्यालेस्टाइनीहरूले असम्भव विकल्पको सामना गरिरहेका छन् । भोकले मर्ने वा आफ्नो परिवारलाई खाना खुवाउन सहायता लिन खोज्दा गोली खाने जोखिम मोलिरहेका छन्,” वक्तव्यमा भनिएको छ, “मृतकहरूमा टुहुरा बालबालिका र हेरचाहकर्ता छन् । यी स्थलहरूमा नागरिकमाथि भएका आधाभन्दा बढी आक्रमणमा बालबालिका घाइते भएका छन् ।”

संयुक्त राष्ट्र संघका एजेन्सीहरूले पनि जीएचएफ सहायता प्रणालीको निन्दा गरेका छन् । शुक्रबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यस प्रणालीलाई स्वाभाविकरूपमा असुरक्षित बताएका थिए ।

सुरुदेखि नै संयुक्त राष्ट्रसंघले यस योजनाको निन्दा गरेको थियो । यस सहायतालाई सैन्यीकरण गर्ने, अवस्थित वितरण सञ्जाललाई बाइपास गर्ने र गाजावासीलाई खानेकुरा प्राप्त गर्न खतरनाक क्षेत्रमा लामो यात्रा गर्न बाध्य पारेको राष्ट्रसंघको भनाइ छ ।

इजरायली सेनाले जीएचएफ सहायता वितरण केन्द्रमा पुग्ने क्रममा नागरिकहरूको क्षति भएको रिपोर्टहरूको जाँच भइरहेको बताएको छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्