site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा कांग्रेसभित्र हानथाप : माओवादीका मन्त्री सरकार छाड्न तयार, मुख्यमन्त्रीको आग्रह– पर्खनुस्
कांग्रेस कोसी संसदीय दलको बैठक । फाइल तस्बिर ।

विराटनगर । अरू प्रदेशमा जस्तै फटाफट प्रक्रिया अघि बढाएको भए यति बेला कोसी सरकारमा नेपाली कांग्रेस सामेल भइसक्ने थियो । तर, कांग्रेसभित्र भागबन्डाको विवादले नेकपा (एमाले) नेतृत्वको सरकार पुनर्गठनमा ढिलाइ भएको छ ।

कांग्रेसका केदार कार्की नेतृत्वको तत्कालीन सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईका अनुसार, ‘आफ्नै पार्टीको अनिर्णयका कारण सरकारमा सामेल हुने दिन’ टाढिएको हो ।

“हाम्रै कारण केही विलम्ब भएको हो । सुदूरपश्चिम र कोसी सरकारमा अन्य प्रदेश मिलाइसकेर मात्र अन्तिममा जाने केन्द्रकै तयारी देखिन्छ,” राईले भने, “संघमा प्रकाशमान सिंहले सरकारको नेतृत्व गरेर गएजस्तै प्रदेशहरूमा कांग्रेसको कुन समूह र नेताले सरकारको नेतृत्व गरी सामेल हुने भन्ने द्विविधा देखिएको छ ।” उनका अनुसार, सरकारमा सहभागी हुने कांग्रेसतर्फका मन्त्रीहरूको सूची समेत तयार भएको छैन ।

Dabur Nepal
NIC Asia

कोसी प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले भौतिक पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय लिएको छ । माओवादीतर्फका चार मन्त्री र एक राज्यमन्त्री मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा छन् ।

केन्द्रमा कांग्रेस–एमाले मिलेर नयाँ गठबन्धन भएसँगै मन्त्रीहरू फिर्ता गराउन माओवादीले चाहेको थियो । तर, मुख्यमन्त्री कार्कीले उनीहरूलाई राजीनामा दिनबाट रोकेर राखेका छन् । माओवादी केन्द्र कोसी संसदीय दलका नेता इन्द्र आङ्बोले आफ्ना ‘मन्त्रीहरूलाई फिर्ता गराउने’ भन्ने जानकारी गराउँदा मुख्यमन्त्री कार्कीले नै ‘केही समय पर्खनुस्’ भनेर रोकेको सुनाए । “हामीले यसबारे मुख्यमन्त्रीसँग छलफल गरिसकेका छौँ,” उनले भने ।

कोसीमा सरकार गठनको विवादबारे सर्वोच्च अदालतको फैसलाअगावै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कांग्रेसका केदार कार्कीलाई ‘अपदस्थ नगरी’ सोही उपधारामा टेकेर प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । आफू मुख्यमन्त्री छँदाछँदै नयाँ सरकार गठन गरेको प्रक्रियामा अन्तरिम आदेश माग गर्दै कांग्रेसका कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यो मुद्दाको किनारा लगाउँदै सर्वोच्चले हिक्मत नेतृत्वको सरकारलाई नै निरन्तरता दिएको छ । उपधारा ५ को सरकार गठन र विश्वासको मतबारे समेत अदालतले व्याख्या गरिसकेको छ ।

माओवादीको साथ लिएर सरकार गठन गरेका कार्कीले ‘कोसीमा माओवादीसहितको सर्वदलीय सरकार’ विस्तार हुने जिकिर गर्दै आएका छन् । तर, प्रदेशमा पाँच मन्त्रालय दाबी गरिरहेको कांग्रेसलाई समेत साथमा लिएर सर्वदलीय सरकार बनाउन कठिन देखिन्छ । माओवादी सरकारमा रहिरहे मन्त्रालय भागबन्डा मिलाउन सकस हुनेछ ।

केन्द्रमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिएसँगै अब कोसी र सुदूरपश्चिम सरकारमा कांग्रेसको सहभागिताबारे छलफल सुरु हुने पूर्वमन्त्री शमशेर राईको भनाइ छ । उनले भने, “राष्ट्रियस्तरमै कांग्रेस–एमालेको गठबन्धन बनिसकेकोले अब प्रदेशहरूमा अन्य दल सरकारमा रहिरहने भन्ने कुरा हुँदैन । उहाँहरूको नेतृत्व हुँदा हामी पाँचवटा मन्त्रालय लिएर जाने हो, हाम्रो मुख्यमन्त्री भए उहाँहरूलाई पाँच मन्त्रालय दिने हो ।”

मुख्यमन्त्री कार्कीले ‘माओवादीका मन्त्रीहरूलाई निकालेर कांग्रेससहितको सरकार बनाइहाल्ने’ आफूहरूसँग बताएको राईले सुनाए ।

कांग्रेसका एक सांसदका अनुसार, कोसीमा सरकारको नेतृत्व गर्न दलका उपनेता हिमाल कार्की, सांसद भीम पराजुली र पूर्वप्रमुख सचेतक भूपेन्द्र राईबीच प्रतिस्पर्धा देखिएको छ । उनीहरूले कांग्रेसको केन्द्रीय नेतृत्वमा आ–आफ्नो ‘लबिङ’ बढाएका छन् । मन्त्रीका आकांक्षी सांसदहरूले काठमाडौंमा पार्टी नेतृत्वसँग भेटघाट गरिरहेका छन् ।

कांग्रेस कोसी संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले मन्त्री बन्न धेरै प्रदेशसभा सदस्यले इच्छा देखाएकाले टुंगो लगाउन समय लागेको बताए । “महिला सांसदलाई समेत समेटेर अघि बढ्नुपर्ने भएकोले अझै समय लाग्न सक्छ,” तामाङले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro