site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकालाई हराउँदै भारत १७ वर्षपछि ट्वान्टी–२० विश्वकप च्याम्पियन 

काठमाडौं । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको हो ।

ट्वान्टी–२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको यो पहिलोपटक हो । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जित्यो । भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो ।

शनिबार ब्रिजटाउनमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकालाई जितका निम्ति अन्तिम दुई ओभरमा २० रन आवश्यक थियो । १९औँ ओभर बलिङका लागि भारतीय कप्तान रोहित शर्माले अर्शदीप सिंहलाई जिम्मेवारी सुम्पिए । अर्शदीपले सुरुआती दुई बल डट फ्याँके । तेस्रो बलमा दक्षिण अफ्रिकाका केशव महारेजले एक रन लिए । चौथो बलमा स्ट्राइकमा रहेका डेविड मिलरले दुई रन लिए । पाँचौँ बलमा मिलरले पुनः एक रन लिए । अर्शदीपले अन्तिम बल डट फ्याँकेपछि दक्षिण अफ्रिकालाई जितका निम्ति अन्तिम ओभरमा १६ रन चाहिएको थियो ।

भारतबाट अन्तिम ओभर बलिङका निम्ति हार्दिक पाण्ड्याले जिम्मेवारी पाएका थिए । हार्दिकको पहिलो बलमा मिलरले छक्काको प्रयास गरे पनि बाउन्ड्री लाइनमा सूर्यकुमार यादवबाट क्याच आउट भए । हार्दिकको दोस्रो बलमा क्रिजमा आएका कगिसो रबाडाले चौका प्रहार गरेपछि दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम चार बलमा १२ रन आवश्यक थियो । तेस्रो बलमा रबाडाले एक रन लिए ।

चौथो बलमा पनि महारेजले एक रन लिँदा दक्षिण अफ्रिकालाई दुई बलमा १० रन आवश्यक थियो । पाँचौँ बल हार्दिकले वाइड फालेका थिए । पुनः पाँचौँ बलमा हार्दिकले रबाडालाई सूर्यबाट क्याच गराएपछि दक्षिण अफ्रिकाको सम्भावना सकियो । अन्तिम बलमा एनरिक नोर्ट्जेले एक रन मात्र लिँदा भारत सात रनको जितसहित विश्व च्याम्पियन बनेको हो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । ओपनर क्विन्टन डी ककले ३९ रन जोडे । ट्रिस्टान स्टब्सले ३१ र डेविड मिलरले २१ बनाए ।

क्लासेन र मिलरले १०६–४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ४५ रनको साझेदारी गर्दा दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३० बलमा ३० रन आवश्यक थियो । तर, १७औँ ओभरको पहिलो बलमा हार्दिकले क्लासेनलाई विकेटकिपर ऋषव पन्तबाट क्याच गराएपछि खेलमा भारत हाबी बन्यो ।

भारतलाई विश्व च्याम्पियन बनाउन हार्दिकले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई विकेट लिए । अक्षर पटेलको नाममा एक विकेट रह्यो ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।

भारतबाट ओपनर विराट कोहलीले ७६ रन बनाए । उनले ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोहलीले ३४–३ को अवस्थाबाट अक्षर पटेलसँग चौथो विकेटका निम्ति ७४ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पटेलले ३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन बनाए ।

कोहलीले १०६–४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ५७ रनको साझेदारी गरेपछि भारत बलियो योगफलसम्म पुगेको हो । शिवम दुवेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रन जोडे ।  

दक्षिण अफ्रिकाका केशव महारेज र एनरिक नोर्ट्जेले दुई/दुई विकेट लिए । मार्को जान्सेन र कगिसो रबाडाले समान एक विकेट लिए ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro