काठमाडौं । प्रहरीले चिनियाँ नागरिकसँग बिहे गरिदिने प्रलोभन देखाएर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो ।
ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार गत फागुनमा पीडित महिलालाई चिनियाँ नागरिकले बिहे गरेर भिजिट भिसामा चीन लगेर बन्धक बनाएको खुलेको छ ।
“पक्राउ राईले फेसबुक म्यासेन्जरबाट पीडित महिलालाई कुराकानी गरी चिनियाँसग भेट्न ठमेल बोलाएर बिहे गर्न लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको छ,” मिश्रले भने ।
पीडित महिलालाई चिनियाँ नागरिकले एक लाख ५० हजार रुपैयाँ बिक्री गरेको खुलेको प्रहरीले बताएको छ ।
चिनियाँले पीडित महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिएर यौन शोषण गरेको खुलेको मिश्रले बताए । पीडित महिलालाई चीनस्थित नेपाली दूतावासले यही असार ९ गते उद्धार गरी नेपाल ल्याउने वातावरण मिलाएको थियो ।
पीडित महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो । घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।