site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कामदारमाथि शोषण : बेलायतकै धनी हिन्दुजा परिवारका चार सदस्यलाई जेल

काठमाडौं । बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारका चार सदस्यलाई आफ्नो घरका कामदारमाथि शोषण गरेको अभियोगमा अदालतले जेल सजाय सुनाएको छ ।

उनीहरूले जेनेभास्थित भिल्लामा काम गर्न केही व्यक्तिलाई भारतबाट बोलाएका थिए । स्वीट्जरल्यान्डस्थित अदालतले प्रकाश र कमल हिन्दुजा तथा उनीहरूका छोरा अजय र बुहारी नम्रतालाई कामदारको शोषण र अवैध तरिकाले काम दिएकामा दोषी ठहर गरेको हो ।

अदालतले उनीहरूलाई चारदेखि साढे चार वर्षसम्मको जेल सजाय सुनाएको छ । मानव तस्करीजस्तो गम्भीर आरोपबाट भने अदालतले उनीहरूलाई मुक्त गरिदिएको छ ।

Dabur Nepal
NIC Asia

हिन्दुजाका वकिलले फैसलाविरुद्ध अपिल गरिने जनाएका छन् । उनीहरूका वकिल रोबर्ट असेलले भने, “फैसलाबाट म हैरान भएको छु । हामी अन्तिम अवस्थासम्म कानुनी लडाइँमा हुनेछौँ ।”

भारतबाट लगिएका तीन कामदारले हिन्दुजा परिवारले दैनिक १८ घण्टासम्म काम लगाएर केवल सात पाउन्ड मात्र भुक्तान गरेको आरोप लगाएका थिए । स्वीस कानुनानुसार उक्त अवधिका निम्ति कम्तीमा ७० पाउन्ड भुक्तानी गर्नुपर्थ्यो ।

कामदारले आफ्नो पासपोर्ट पनि हिन्दुजा परिवारले राखेको र कतै जान नदिएको आरोप लगाएका थिए ।

कामदारलाई भन्दा बढी कुकुरमा खर्च
स्वीस प्रशासनले यो परिवारमाथि ६ वर्षदेखि निगरानी गरिरहेको थियो । प्रशासनले जेनेभास्थित एक घरमा कर्मचारीको भर्तीका विषयमा हिन्दुजा परिवारमाथि छानबिन गरिरहेको थियो ।

४७ बिलियन डलरको कारोबार गर्ने उक्त परिवारमाथि अभियोजन पक्षको आरोप थियो– उनीहरूले कामदारलाई भन्दा बढी आफ्नो कुकुरका निम्ति खर्च गरेका थिए । ब्लुमबर्गको रिपोर्टअनुसार सरकारी वकिल यवेस बेरतोसाले अदालतमा भनेका थिए, “हिन्दुजा परिवारले आफ्नो एक कुकुरको लागि एक कामदारको भन्दा बढी खर्च गरेको पाइयो ।”

अधिकारीहरूले बताए अनुसार, दिनमा १८ घण्टा काम गराएर उनीहरूलाई ७.८४ डलर मात्र दिइएको थियो । जबकि, त्यो परिवारले आफ्नो कुकुरलाई बस्न र खान वर्षमा १० हजार डलर खर्च गरिरहेको थियो ।

अधिकारीहरूका अनुसार, कतिपय कामदारलाई हप्तामा सातै दिन काम लगाइएको थियो । उनीहरूलाई तलब पनि स्थानीय स्वीस फ्रैंक्समा नदिई भारुमा दिने गरिएको थियो ।

हिन्दुजा पक्षका वकिलले आरोप अस्वीकार गरेका थिए । कामदारलाई राम्रो सेवा सुविधा दिएको र हिँड्डुल गर्न पनि नरोकिएको उनले जिकिर गरेका थिए ।

भारतबाट फैलिएको हिन्दुजा परिवार
हिन्दुजा परिवार भारतबाट गएको हो । यही नामबाट उनीहरूले व्यवसाय गर्दै आएका छन् । जसअन्तर्गत थुप्रै कम्पनी छन् । निर्माण, कपडा, अटोमोबाइल, आयल, बैंकिङ र फाइनान्ससम्बन्धी कम्पनी छन् ।

हिन्दुजा ग्रुपका संस्थापक परमानन्द दीपचन्द हिन्दुजा अविभाजित भारतको सिन्धको प्रसिद्ध सहर शिकारपुरमा जन्मिएका थिए । सन् १९१४ मा उनी भारतको व्यापार र वित्तीय राजधानी मुम्बईको यात्रामा गए । हिन्दुजा समूहको वेबसाइटका अनुसार, त्यहाँ उनले चाँडै व्यापारको तरिका सिके । सिन्धमा सुरु व्यापारिक यात्रा १९१९ मा इरानमा थालेर अन्तर्राष्ट्रियस्तरमा पुर्‍याए ।

समूहको मुख्यालय १९७९ मा इरानमा थियो । त्यसपछि उनी युरोपतर्फ लागे । संस्थापक हिन्दुजाका तीन छोरा थिए – श्रीचन्द, गोपीचन्द र प्रकाश । उनीहरूले संस्थापकपछि कामकाज सम्हालेका थिए । उनीहरूले कम्पनीलाई अन्यत्र पनि विस्तार गरे ।

सन् २०२३ मा श्रीचन्द हिन्दुजाको निधनपछि भाइ गोपीचन्दले उनको स्थान सम्हालेका थिए । समूहको प्रमुखका हिसाबले उनले काम थाले । सोही क्रममा उनले स्वीट्जरल्यान्डमा मानव तस्करीको मुद्दा सामना गर्नुपरेको थियो ।

बेलायतमा हिन्दुजा परिवारले महँगो प्रपर्टी खरिद गरेको छ । २०२३ सेप्टेम्बरमा लन्डनको ह्वाइटहलमा पहिला बेलायतको रक्षा मन्त्रालय रहेको स्थानमा राफल्स नामक होटेल बनाइएको थियो । यसको नजिकै बेलायतका प्रधानमन्त्रीको कार्यालय छ ।

यही समूह कार्लटन हाउसको पनि एक हिस्साको मालिक भएको बताइएको छ । यसमा थुप्रै इभेन्ट रुम छन् । साथै, यो बकिंघम प्यालेसबाट पनि नजिक छ । उक्त कम्पनीले विश्वभरि दुई लाख मानिस यसमा आबद्ध भएर काम गरिरहेको दाबी गर्दै आएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro