site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दुर्लभ खनिज धातु चुम्बकमा चीनप्रतिको निर्भरताले अमेरिकी कार निर्माता व्यापक प्रभावित

काठमाडौं । २० वर्षअघि जब कार, अर्धचालक लडाकु जहाज र रोबोटजस्ता विभिन्न उत्पादनका निम्ति चुम्बकको माग धेरै बढ्न थालेको थियो, ठिक त्यति बेला इन्डियानामा दुर्लभ खनिज धातुलाई चुम्बकमा परिणत गर्ने कारखानाले चीनमा उत्पादन सारेका थिए । अहिले संयुक्त राज्य अमेरिकाले त्यो आपूर्ति शृंखला गुमाएको मूल्य चुकाइरहेको छ ।

चीन सरकारले आफ्नो अमेरिकासँगको व्यापार युद्धको भागका रूपमा अप्रिल ४ मा दुर्लभ धातुको चुम्बक निर्यातमा अचानक रोक लगाएको थियो । अमेरिकी अधिकारीहरूले के आस गरेका थिए भने मध्ये मेमा दुवै देशले गरेको व्यापार सन्धिको अंशका रूपमा चीनले चुम्बकमा लगाएको प्रतिबन्ध हटाउनेछ । तर, शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यसको पहुँच सीमित गरिराखेको संकेत गरे ।

अहिले अमेरिकी र युरोपेली कम्पनी चुम्बकको अभाव खेपिरहेका छन् । यसमा अमेरिकी कार निर्माता सबैभन्दा धेरै प्रभावित भएका छन् ।

Argakhachi Cement Island Ad

मध्यपश्चिम र दक्षिण क्षेत्रका कारखानामा उत्पादन केही दिन वा हप्तामै घटाउनुपर्न स्थिति आउन सक्ने कार्यकारीहरूले चेतावनी दिएका छन् । कार निर्मातालाई ब्रेक, स्टियरिङ र इन्जेक्टर चलाउने इलेक्ट्रिक मोटरका निम्ति यी चुम्बक आवश्यक पर्छ । उदाहरणका निमित, एउटा लक्जरी कारको सिटमा प्रयोग हुने मोटरलाई १२ वटासम्म चुम्बक आवश्यक पर्छ । कारखानाका रोबोट पनि दुर्लभ खनिज धातुको चुम्बकमा निर्भर छन् ।

चिनियाँ सरकारले दुर्लभ खनिज तत्त्वको निर्यात प्रतिबन्धबारे हाल खासै केही बोलेको छैन । यद्यपि, ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले यो विषयमा यसै हप्ता टेलिफोन कुराकानीमा छलफल गर्ने अपेक्षा गरिएको छ । त्यसको मिति भने तोकिएको छैन ।

चीनले सबै निर्यात रोकिएपछि भविष्यका डेलिभरीका निम्ति छुट्टै निर्यात अनुमति चाहिने भनेको थियो । त्यसयता चीनको वाणिज्य मन्त्रालयले अनुमतिपत्र जारी गर्न हिचकिचाउँदै आएको छ । उसले अप्रिलको मध्यतिर केही युरोपेली कम्पनीलाई अनुमति दियो । र, गएको हप्ता केही अमेरिकी कम्पनीलाई । तर, विश्वभर दुर्लभ खनिज तत्त्वको आपूर्ति तीव्र गतिमा घटिरहेको छ ।

केही चिनियाँ दुर्लभ चुम्बक उत्पादकले निर्यात अनुमति पर्खंदै उत्पादन नै रोकिदिएपछि अवस्था झनै बिग्रन थालेको छ । चुम्बक उत्पादनमा आएको हप्तौँ लामो खाडल आपूर्ति शृंखलामा फैलँदै छ । र, चाँडै नै उत्पादकसम्म पुग्न सक्छ ।

“चीनले अमेरिकाका गाडी उत्पादन गर्ने कारखानाहरूलाई ठप्प पार्न सक्छ,” चीनमा विशेषज्ञता राख्ने अटोमोबाइल सल्लाहकार माइकल डनले भने ।

चीनले विश्वको झन्डै दुई लाख टन प्रतिवर्ष उच्च–दक्षता भएका दुर्लभ खनिज चुम्बकमध्ये ९० प्रतिशत उत्पादन गर्छ । बाँकी अधिकांश जापानी निर्माताका निम्ति जापानी कम्पनीले जापान र भियतनाममा उत्पादन गर्छन् ।

संयुक्त राज्य अमेरिकाले यसको लगभग कुनै पनि खनिज चुम्बक उत्पादन गर्दैन । यद्यपि, साना कारखाना यस वर्ष दक्षिण क्यारोलिना र टेक्सासमा पूर्ण उत्पादन सुरु गर्ने योजनामा छन् । सन् २०१० मा जापानसँगको क्षेत्रीय विवादका क्रममा चीनले दुई महिनाको दुर्लभ धातु निर्यात प्रतिबन्ध लगाएर आफ्नो प्रभुत्व देखाएपछि लगातारका अमेरिकी प्रशासनले यो उद्योग पुनः सुरु गर्ने प्रयास गरिरहेका छन् ।

तर, यो वास्तविकताले यसलाई बाधा पुर्‍याएको छ । दुर्लभ धातुबाट चुम्बक बनाउन उत्पादनको हरेक चरणमा ठूलो लगानी चाहिन्छ । तर, यसको बिक्री र मुनाफा न्यून छ ।

विश्वभरि उत्खनन गरिने दुर्लभ धातुको वार्षिक बिक्री मात्र पाँच अर्ब डलर छ । यो तामा वा फलामको जस्ता ३०० अर्ब डलरको उद्योगको तुलनामा नगण्य हो ।

चीनलाई यो क्षेत्रमा प्रबल प्रतिस्पर्धात्मक फाइदा छ । राज्य नियन्त्रित यो उद्योगले खानीका निम्ति पर्यावरणीय मापदण्ड अनुपालन गर्ने खर्च न्यून छ । र, ठूला प्रशोधन केन्द्र र चुम्बक कारखाना निर्माण गर्न सरकारको लगभग व्यापक बजेट लगानी भएको छ ।

दुर्लभ धातु प्रशोधन गर्न प्राविधिक रूपमा चुनौतीपूर्ण छ । तर, चीनले नयाँ प्रविधि विकास गरेको छ । चीनभरि ३९ विश्वविद्यालयमा दुर्लभ धातु रसायन विज्ञानका कार्यक्रम उपलब्ध छन्, जबकि अमेरिकामा त्यस्ता कार्यक्रम छैनन् ।

चीनले विश्वभरि आपूर्ति हुने भारी दुर्लभ धातुको ९९ प्रतिशतभन्दा बढी प्रशोधन गर्छ । कार, अर्धचालक र अरू धेरै प्रविधिमा पाइने उच्च तापक्रम र विद्युत् क्षेत्रलाई प्रतिरोध गर्न सक्षम चुम्बक बनाउन यी भारी दुर्लभ धातु आवश्यक छन् ।

क्यालिफोर्नियाको माउन्टेन पासमा अवस्थित अमेरिकाको एक मात्र दुर्लभ धातु उत्पादकले सन् १९९८ मा हेभी धातु र अल्प रेडियोएक्टिभ पदार्थ मरुभूमिको पाइपलाइनबाट चुहावट भएपछि उत्पादन रोक्यो । चीनको राज्य नियन्त्रित कम्पनीले यो बन्द भएको खानी किन्न तीनपटक प्रयास गरेपनि सफल भएनन् । सन् २००८ मा अमेरिकी लगानीकर्ताले यसलाई अधिग्रहण गरे ।

सन् २०१० मा पेन्टागनले सहयोग गरेको एक अर्ब डलरको लगानी कार्यक्रमअन्तर्गत पर्यावरणीय मापदण्ड अनुपालन सुधार गर्न र खानी र योनजिकै प्रशोधन केन्द्र विस्तार गरियो । तर, सन् २०१४ मा छोटो समयका निम्ति पुनः खुल्दा यो महँगो सम्पूर्ण प्रणाली प्रतिस्पर्धामा टिक्न सकेन र अर्को वर्ष नै फेरि बन्द भयो ।

सन् २०१७ मा शिकागोको लगानी समूह एमपी म्याटेरियल्सले यो खानी किन्यो, जसमा चीन सरकारको आंशिक स्वामित्व भएको एक अल्पसंख्यक साझेदार कम्पनी पनि समावेश थियो । खानी अर्को वर्ष पुनः खुल्यो, तर यसले विभिन्न प्रकारका दुर्लभ धातु छुट्ट्याउने काम चीनमा पठायो ।

यो खानी आफ्नो उत्पादनको आधाभन्दा बढीमा दुर्लभ धातु रासायनिक रूपमा छुट्ट्याउन पछि मात्र सक्षम भयो । तर, यसमा घाटा छ । चीनमा भने प्रशोधन धेरै सस्तो छ ।

एमपी म्याटेरियल्सले टेक्सासमा नयाँ कारखाना बनाएको छ, जसले छुट्ट्याइएका दुर्लभ धातुलाई चुम्बकमा परिणत गर्छ ।

छुट्ट्याइएका दुर्लभ धातुलाई रासायनिक रूपमा शुद्ध धातुमा परिणत गर्ने काम ठूलो कठिन काम हो । न्यु इंग्ल्यान्डको स्टार्टअप कम्पनी फिनिक्स टेलिङ्सले यो कमी पूरा गर्ने प्रयास गरिरहेको छ । तर, यो चुनौतीपूर्ण छ ।

फिनिक्स टेलिङ्सले इन्फिनियम नामक अर्को स्टार्टअपका धेरै कर्मचारी र उपकरण प्राप्त गरेको छ, जसले पनि यही काम गर्न खोजेको थियो । 

चीनको दुर्लभ धातु खनिज पाउन गाह्रो भएकाले फिनिक्सले खानीका बचेका पदार्थ (टेलिङ्स)बाट धातु बनाउँछ । यी पदार्थ पहिले नै फलामजस्ता अर्को पदार्थ निकाल्न प्रशोधन गरिसकेका हुन्छन् ।

म्यासाचुसेट्सको बर्लिङ्टनमा रहेको फिनिक्स टेलिङ्सको कारखानामा चारवटा सानो घरको आकारका मेसिन छन् । हरेक मेसिनले दिनरात गरेर तीन घण्टामा ६.६ पाउन्डको धातु उत्पादन गर्छ । 

फिनिक्सका मुख्य कार्यकारी निक मायर्सले यसको कुल क्षमता वार्षिक ४० टन भएको बताए । उनले यसको खरिददाताको नाम उल्लेख नगरे पनि यो एक मोटरवाहन कम्पनी भएको बताए । द न्युयोक टाइम्सबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्