
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिवले गाजामा खाद्यान्न सहायता वितरण केन्द्रनजिकै प्यालेस्टाइनीको हत्या भएको घटनाको स्वतन्त्र अनुसन्धानको माग गरेका छन् ।
गएको बिहीबार सहायताका निम्ति पर्खिरहेका बेला इजरायली सेनाले गोली चलाएको थियो । उक्त घटनामा १७९ घाइते अस्पतालमा भर्ना भएका थिए । तीमध्ये २१ जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । हमासले सञ्चालन गरेको नागरिक सुरक्षा निकायले भने मृतकको संख्या ३१ पुगेको दाबी गरेको बीबीसीले जनाएको छ ।
गाजाको राफाहमा अमेरिका र इजरायलले सहयोग गरेको गाजा मानवीय संस्थाद्वारा सञ्चालित केन्द्रबाट खाद्यान्न लिन पर्खिरहेका बेला गोली चलाइएको थियो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार एक विज्ञप्तिमार्फत भनेका छन्, “गाजामा खाद्यान्न सहायता खोज्दै गर्दा प्यालेस्टाइनीको मृत्यु र घाइते भएको समाचारले मलाई स्तब्ध पार्यो । म यी घटनाको तत्काल स्वतन्त्र अनुसन्धान र दोषीलाई जवाफदेही ठहर्याउन आह्वान गर्दछु ।”
इजरायली सेनाले आफ्ना सैनिकले सहायता केन्द्रनजिक वा भित्र नागरिकमाथि गोली चलाएको दाबी खण्डन गरेको थियो ।
इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उनको विज्ञप्तिलाई लज्जाजनक भन्दै हमासको उल्लेख नगरेकामा आलोचना गरेको छ ।