काठमाडौंको ‘भाले’ नबास्ने गरी सबै छाडेर गयो । वीरेन्द्रभक्त श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलनका जुझारु योद्धा हुन् । यसैले उनले आफ्नो गाथाको शीर्षक ‘भाले’ राख्नेभन्दा म पहिले मानेको थिइन । भनेको थिएँ - राष्ट्रिय पञ्चायतको चुनाव चिह्न ‘भाले’ले तपाईँको पूरा व्यक्तित्व बुझाउन सक्तैन ।
पञ्चायतले दिएको परिचय ‘भाले’ नराखौँ । वीरेन्द्र दाइको स्पष्टीकरण थियो - मलाई वीरेन्द्रभक्तका रूपमा चिन्नेहरू त नेपाली कांग्रेसका कार्यकर्ता र सहरका सम्भ्रान्तहरू न हुन् । जनसाधारणले ‘कुखुराका भाले’ चुनाव चिह्न भएको उमेदवारका रूपमा चिन्छन् । यसैले जनताले चिन्ने नाम राखौँ ।
हुन पनि २०४३ को राष्ट्रिय पञ्चायतको चुनावमा वीरेन्द्रभक्त श्रेष्ठले काठमाडौंबाट उमेदवारी दिएपछि पञ्चायती संस्थापनमा समेत एकप्रकारको रोमाञ्चक हलचल देखिएको थियो । खुलेर समर्थन गर्न नसक्नेहरूसमेत उनले जिते हुन्थ्यो भन्ने कामना गर्थे ।
पञ्चायत विरोधीमा उनका समकालीन कांग्रेसीहरू ईर्ष्या गर्थे भने पाका र युवाहरूले समर्थनै गर्थे । गणेशमान सिंहसमेतले भनेका थिए - पार्टीले चुनाव बहिष्कार गरेको छ । हामी त भोट हाल्नै नजान आह्वान गर्छौँ । कसैलाई भोट नहाली नहुने हो भने उठेको छ त वीरेन्द्रभक्त !
राष्ट्रिय पञ्चायतको त्यस चुनावमा सबैभन्दा चर्चित इतरपक्षीय उमेदवार वीरेन्द्रभक्तले जित्न भने सकेनन् । भनिन्छ राजदरबारबाट बरु पद्मरत्न जितुन् भन्ने सङ्केत आएको थियो रे । जे होस् उनले चुनाव जितेनन् । उनका लागि त्यो अध्याय नै सकियो । उनलाई पञ्चायत फाल्नु थियो भित्र जान नपाएपछि बाहिरबाटै प्रयास गरिरहे । पहिलो जनआन्दोलनको तयारीका क्रममा उनको सक्रियता महत्त्वपूर्ण भयो ।
वीरेन्द्रभक्तको सङ्घर्षपूर्ण व्यक्तित्वमा त्यो चुनाव र जनआन्दोलन एउटा सानो भागमात्र थियो । इन्द्रचोकका प्रतिष्ठित साहु खलकमा जन्मिए पनि परिवारको परिचयदेखि नै उनले सङ्घर्ष गरेका थिए । उनको प्रकाशोन्मुख पुस्तकमा ( आशा गरौँ छिटै प्रकाशित हुनेछ ) तत्कालीन सम्भ्रान्त नेवारहरूको अन्तःपुरको सटीक चित्रण छ र त्यसमा वीरेन्द्रभक्तले क्षत्रीकी छोरीको कोखबाट जन्मदा र मानन्धरकी छोरी विवाह गर्दा भोग्नुपरेको भेदभावको पनि वर्णन छ ।
काठमाडौंको सम्भ्रान्त नेवार हुनुमात्र पनि त वीरेन्द्र दाइको परिचय होइन । राजनीति त उनको मूल थलो थियो नै उनी नेवारका छोरा हुनुका कारणले पनि होला व्यवसायी पनि थिए । यद्यपि व्यवसाय गरे पनि उनले त्यसलाई अपनाएको भने देखिएन ।
राजनीतिमा पनि उनी सक्रियताका पक्षमा थिए । केही न केही गरिरहन पर्ने । यही सक्रियताको लतले उनको रिस गर्नेहरू पनि धेरै भए । सम्भवतः त्यही कारण उनले काठमाडौं कांग्रेसमा समकालीनको साथ र नेताको आशीर्वाद नपाएका हुन् कि ?
वीरेन्द्रभक्त श्रेष्ठलाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्ने प्रस्ताव सुन्दा मलाई बढी राजनीतिक विवाद हुने हो कि भन्ने डर लागेको थियो । तर, समाज कल्याण परिषद्को उपाध्यक्षका रूपमा उनीसँग काम गर्दा कहिल्यै मनमुटाव भएन । वाग्मतीमा २०५० मा आएको बाढीपछि आकस्मिक सहायता र पुनःस्थापनाका काममा समाज कल्याण परिषद्ले नेतृत्व लिएको थियो । परिषद्ले ताइवानी संस्थाको सहयोगमा १८०० घर बनाएको थियो मकवानपुर, रौतहट र सर्लाहीमा ।
साथै, बाढीपीडितलाई पौष्टिक आहार कार्यक्रमबाट तीन महिनासम्म खाद्य पदार्थ वितरण गरिएको थियो । ताइवानीहरूलाई लिएर वीरेन्द्र दाइ एकाबिहानै मेरो डेरामा आइपुगेका थिए । छुट्टीका दिनमा पनि हामी कार्यालय खोलेर काममा लागेका थियौँ । पौष्टिक आहार कार्यक्रमका अध्यक्ष पनि वीरेन्द्रभक्त नै थिए । कर्मचारीहरूसँगै फिल्डमै गएर खाद्य पदार्थ वितरणको संयोजन र नियमन गर्न उनले देखाएको सक्रियता सायद वीरेन्द्र दाइको सक्कली व्यक्तित्वको परिचायक थियो ।
वीरेन्द्र दाइले २०५१ को चुनावको तयारीका लागि परिषद्बाट राजीनामा दिए तर उमेदवार हुन पाएनन् । मध्यावधिको घोषणापछि नेपाली कांग्रेस फुटको सङ्घारमा पुगेको थियो । गिरिजाप्रसाद कोइराला समूहको काठमाडौंमा भेला बोलाउने तयारीको हर्ताकर्तामा वीरेन्द्र दाइ पनि निकै सक्रिय भए । यसले उनलाई चाक्सीबारीबाट झन् पर धकेल्यो ।
तर, कोइराला र कृष्णप्रसाद भट्टराईबीच सम्झौता भयो । पार्टी त फुटेन वीरेन्द्रभक्तहरू पन्छाइए । कोइरालाले पनि उनको संरक्षण गरेनन् । सायद, विद्यार्थीकालमा काठमाडौं बस्ने र त्यसमा पनि सूर्यप्रसाद उपाध्यायको निकट भएकाले वीरेन्द्रभक्तलाई कोइरालाले कहिल्यै विश्वास गरेनन् । यसरी उनको राजनीतिक व्यक्तित्व कुण्ठित भयो ।
विसं २०७२ को भूकम्पपछि काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान चलाउने क्रममा वीरेन्द्र दाइको अर्को व्यक्तित्व सामुमा आयो । राज्यले नेवा सभ्यतामात्र होइन विश्वमै अद्वितीय काष्ठमण्डपको उपेक्षा गरेको देखेपछि उनले धेरैलाई समेटे । वीरेन्द्र दाइको यस अभियानमा निकट सहयोगीका रूपमा उनको सङ्गत गर्ने मौका मैले पनि पाएँ । नेपाली नागरिकबाट चन्दा उठाएर पहिलेकै युनेस्कोको मापदण्डअनुसार काष्ठमण्डपको पुनर्निर्माण गर्ने उनको मिसन थियो ।
काष्ठमण्डपको पुनर्निर्माणमा प्रत्यक्ष संलग्न हुने चाहना अभियानको थिएन तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले पुनर्निर्माणमा नेतृत्व लिन वीरेन्द्र दाइलाई आग्रह गरे ।
अभियानलाई संस्थागत रूप दिइयो । विडम्बना, त्यसमा पनि काठमाडौं कांग्रेसका नेताहरूले असहयोग गरे भने काठमाडौं महानगरपालिकाका कर्मचारी र पछि जनप्रतिनिधिहरूले पनि काम गर्न दिएनन् । वीरेन्द्र दाइले तैपनि हरेस खाएनन् र उनले सकुन्जेल खबरदारी गरिरहे । यद्यपि, कमिसनखोरहरूले काष्ठमण्डपको पुनर्निर्माणका नाममा विश्वलाई नै धोका दिए । वीरेन्द्र दाइलाई पछिल्लो चिन्ता यसैको थियो ।
जीवनमा धेरै धोका र बाधा सहे पनि कहिल्यै निराश नहुने वीरेन्द्र दाइसँग अब कहिल्यै भेट नहुने भयो । विसङ्गतिविरुद्ध सिर्जनाका पक्षमा बास्ने भाले अब नबास्ने भयो ।
हार्दिक श्रद्धान्जलि वीरेन्द्र दाइ !