site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
 निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल 

खोटाङ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र मझुवागढी–६ नेर्पास्थित मेवाखोलामा पुलको काम सम्पन्न भएको हो ।

विसं २०८१ असार २२ गते दुवै मोटरेबल पुलको काम सक्नेगरी विसं २०७९ असार २२ गते निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक सात करोड ७४ लाख २५ हजारमा ती पुल बनेका थिए । हालै सम्पन्न भएको दुवै पक्की पुल २०–२० मिटर लम्बाइका छन् । 

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको दुवै पुलको वारि र पारि दुवैतर्फको ‘एप्रोच रोड’को कामसमेत सम्पन्न भएको बताइएको छ । तोकिएको समयअगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावत सहज भएको खोटाङ यातायात प्रालि खोटाङका महासचिव राम हिङमाङले बताए । 

सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा अर्को २० मिटर लम्बाइको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजीव जेभी खोटाङले लिएको हो ।

विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्नेगरी २०७८ मंसिर १४ गते भ्याटबाहेक तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपेको हो ।

निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेको पुलको अन्तिम भुक्तानी लिएर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले जानकारी दिए । छेपेखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुलको पहिलोपटक थपिएको समयसीमा असार २५ गते सम्पन्न हुँदै छ ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माणाधीन मोटरेबल पक्की पुल छिटो सक्न तथा गुणस्तर कायम गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । 

“निर्माणाधीन तीनवटा पुलमध्ये दुईवटाले समयअगावै सम्पन्न गरेको छ । तोकिएको मितिअगावै पुल निर्माण सम्पन्न गर्न हामीले पनि हौसला प्रदान गर्यौं”, उनले भने,  “वर्षा सुरु भएपछि त्यो काम सम्भव थिएन । तोकिएको समयभन्दा अगाडि नै पुल सम्पन्न गरेकाले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने योजना बनाएका छौँ ।” रासस

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro