site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा आज दिनभर बदली र पानी पर्ने, कोसीमा भारी वर्षा

काठमाडौं । काठमाडौंमा आज दिनभर बदली (आकाशमा बादल) र वर्षाको सम्भावना छ । यस दिन काठमाडौंमा पूर्ण रूपमा घाम लाग्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । दिउँसो, साँझ वर्षाको सम्भावना रहेको उनले बताए ।

“बिहान वर्षा भएको थियो, अहिले भएको छैन । दिउँसो २/३ बजेपछि फेरि वर्षा हुने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “साँझ पनि वर्षाको सम्भावना छ ।”

तर, लगातार पानी नपर्ने उनले स्पष्ट पारे । पर्ने, रोकिने हुने र बेलाबेलामा बादल फाट्ने सम्भावना पनि रहेको उनले बताए ।

“लगातार झरी पर्दैन । पर्ने, रोकिने, फेरि पर्ने हुन्छ,” उनले भने, “बेलाबेलामा बादल फाटेर अलिअलि घाम लागेजस्तो, उज्यालोजस्तो पनि हुने सम्भावना छ । तर, राम्रोसँग घाम लाग्ने, मौसम खुल्ने देखिँदैन ।”

हाल देशको पूर्वी भूभागमा मनसुन प्रणालीको प्रभाव छ । बाँकी भूभागमा स्थानीय, पश्चिमी वायु र भारतको बिहार आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको उनले बताए ।

कोसीबाहेक वाग्मती, गण्डकी प्रदेशमा स्थानीय, पश्चिमी वायुका कारण वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । कोसीका अधिकांश भूभागमा भने मनसुनका कारण वर्षा भइरहेको उनले उल्लेख गरे । हालसम्म मनसुन कोसी प्रदेशबाट अन्यत्र नफैलिएको उनले बताए ।

कोसीमा भारी वर्षा
पछिल्लो ६ घण्टा (आइतबार बिहान साढे १० बजे दिएको जानकारी)मा कोसी प्रदेशका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । यो अवधिमा इलाममा १३० मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् झाले जानकारी दिए ।

यस्तै, धनकुटामा ४९.६ मिलिमिटर वर्षा मापन गरिएको उनले बताए । “यो पनि भारी वर्षा नै हो,” उनले भने, “कोसीका केही स्थानमा भारी वर्षा भएको छ । मध्यमसम्म वर्षा त धेरै स्थानमा भएको छ ।”

यो वर्षको मनसुन यही जुन १० (जेठ २८) मा नेपाल भित्रिएको थियो । नेपालको पूर्वी भूभागमा मनसुन भित्रिएको हो । हरेक वर्ष पूर्वी भूभागबाटै नेपालमा मनसुन भित्रिने गर्छ ।

पश्चिम तराई भूभागमा आज पनि गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro