site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुवेत आगलागी : भवनमा रहेका पाँच नेपालीको अवस्था कस्तो छ ? 

काठमाडौं । कुवेतको दक्षिणी सहर मङ्गाफ सहरको विदेशी कामदार बस्ने एक ६ तले भवनमा बुधबार आगलागी हुँदा त्यहाँ तीन नेपाली रहेका थिए । उक्त भवनमा पाँच नेपाली रहने भए पनि घटना हुँदा दुई नेपाली बाहिर रहेको एनबीटीसी ग्रुपले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी दिएको छ । एनबीटीसी ग्रुपले कामदारहरूलाई उक्त भवनमा राखेको थियो ।

“हामीलाई प्राप्त जानकारीअनुसार आगलागी हुँदा भवनमा तीन नेपाली रहेका थिए । भाग्ने क्रममा एक नेपाली सामान्य घाइते भएको हुँदा उनी अस्पताल गएनन् । दुई नेपालीको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले बाह्रखरीसँग भने । 

आगलागी हुँदा भवन बाहिर रहेका दुई नेपाली सुरक्षित रहेको जानकारी कम्पनीले नेपाली दूतावासलाई दिएको छ । “रोजगारदाता कम्पनीले आगलागी हुँदा दुई नेपाली उक्त भवनमा नरहेको र उनीहरू सुरक्षित रहेको बताएको छ । तर, उनीहरू दुवैसँग हाम्रो कुराकानी भने हुन सकेको छैन,” राजदूत लम्सालले बताए । 

आगलागी स्थानीय समयअनुसार बुधबार बिहान ६ बजेबाट सुरू भएको थियो । आगलागीमा परी उक्त भवनमा रहेकामध्ये ४९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरू ४० जनाभन्दा बढी भारतीय कामदार रहेको अनुमान गरिएको छ । 

धैरै जनाको मृत्यु धुवाँले निस्सासिएर भएको जनाइएको छ । कम्पनीले भवनमा १९५ विदेशी कामदार राखेको थियो । आगलागी भएको समयमा भवनमा १६० कामदार रहेका थिए । आगलागीमा परी ५० जना घाइते भएका छन् । घाइतेहरूको अदन, जाबेर, फवानिया, मुबारक अल कबीर र जहार गरी पाँच सरकारी अस्पतालमा उपचार भइरहेको छ । 

पछिल्लो दुई दशकमा कुवेतमा आगलागीले गरेको यो दोस्रो सबैभन्दा ठूलो मानवीय क्षति हो । यसअघि सन् २००९ मा जाहरामा एक महिलाले आफ्नो पतिले दोस्रो विवाह गरेको रिसमा विवाह मण्डपमा आगो लगाइदिँदा ५६ महिला तथा बालबालिकाको मृत्यु भएको थियो । 

स्थानीय मिडियाका अनुसार कुवेतका गृहमन्त्री शेख फहद अल–यूसुफ अल–सबाहले आगलागी भएको भवनको मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् । उक्त भवनमा कामदार राख्ने रोजगारदाता कम्पनीको मालिकलाई पनि पक्राउ गर्न आदेश दिइएको छ । 

कुवेतको गृह मन्त्रालयले भवन मालिक र रोजगारदाता कम्पनीको मालिकका लोभका कारण दुर्घटना भएको बताएको छ । क्षमताभन्दा बढी कामदार भवनमा राखिएको पनि मन्त्रालयले जनाएको छ । 

कुवेतको गृह मन्त्रालयले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारबाही गर्ने आश्वासन दिएको छ । मन्त्रालयले विदेशी कामदार राखिएका कुवेतका अन्य भवनको पनि अनुसन्धान गर्न भनेको छ । क्षमताभन्दा बढी कामदार राख्ने भवन मालिक र कम्पनीलाई कारबाही अगाडि बढाउन भनिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro