काठमाडौं । राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ । सोमबार राष्ट्रियसभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेस गरेका हुन् ।
उनले सवारी दुर्घटना न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रबन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्नुपरेको बताए ।
“नेपालमा हरेक वर्ष सवारी दुर्घटना र त्यसबाट भएको जनधनको क्षतिको बारेमा समाचार आइरहेका छन् । गएको वैशाखको १ देखि ३० गतेसम्मको अवधिमा देशभर भएका एक हजार ५९४ सवारी दुर्घटनामा परी १८१ जनाको मृत्यु भएको छ भने ४८७ जना गम्भीर र दुई हजार २३४ जना सामान्य घाइते भएका छन्,” उनले भने, “तसर्थ सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उद्धार र उपचारको, अपांगता भएकालाई उचित प्रबन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको हो ।”
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १९ हजार, २६३ सवारी दुर्घटना हुँदा एक हजार ९३२ जनाकाे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको उनले बताए । उनका अनुसार सो दुर्घटनामा पाँच हजार ९४ जना गम्भीर र २१ हजार १४१ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।
सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति बेहोर्नु परेको उनको भनाइ छ । सो जरूरी सार्वजनिक महत्त्वको प्रस्तावको प्रस्तावकमा सांसद शेर्पा रहेका छन् भने सांसदहरू जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी साह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक रहेका छन् ।