site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ । 

प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानी लगायतमा जम्मा ८२ अर्ब ८८  करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यसअवधिमा ११ अर्ब ६ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा १३ अर्ब ३७ करोड थियो ।

प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२/०७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रण लगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताइएको छ ।

प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट ६८ अर्ब ८९ करोड खुद संकलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।

यसअवधिमा हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रूपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ । 

आफ्नो स्रोतबाट झन्डै १८ अर्ब खर्च
प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आवको चैत महिनासम्ममा १७ अर्ब ८२ करोड विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई एक अर्ब ६३ करोड रुपैयाा ऋण दिएको छ ।

सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट १४ अर्ब ४३ करोड खर्च भएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro