ढाका । बंगलादेशको ठाकुरगाउँ इलाकाम एक इँटाभट्टामा माटो खनेर सुन निकाल्नको लागि पछिल्ला केही दिनदेखि सयौँ मानिसको भीड लागेको थियो । रानीशंकेल उपजिल्लामा रहेका महन्तकुमार भन्छन्, “मानिसले भनेको सुनेअनुसार यहाँ माटोभित्रबाट सुन निकाल्ने काम भइरहेको छ । त्यसैले म पनि सुन पाउने आशामा यहाँ आएको छु ।”
यहाँ जम्मा भएको भीड पनि महन्तको जस्तै अरुका कुरा सुनेर आएका हुन् । मान्छेको भीड अचाक्ली बढेपछि प्रशासनले सो क्षेत्रमा धारा १४४ लगाएर सुरक्षा निकाय परिचालन गरेको छ । त्यसले गर्दा भीड रोकिए पनि माटोमा भेटिएको के हो भन्ने बारेमा चर्चा भइरहेको छ ।
आरबीबी इँटाभट्टा ठाकुरगाउँ जिल्लाको रानीशंकेल उपजिल्लामा कातिहार बजारको इलाकामा रहेको छ । त्यहाँ इँटा तयार गर्नका लागि सञ्चालकले करिब एक महिना पहिला बाहिरबाट माटो लिएर आएका थिए । रानीशंकेल उपजिल्लाका कार्यकारी अधिकारी रकिबुल हसनका अनुसार कसैलाई सुरुमा सुन टुक्रा मिलेको हुनुपर्छ । तर, घटना जत्रो थियो त्योभन्दा निकै ठूलो हल्ला त्यहाँ फैलिएको थियो ।”
उनले आफ्नो आँखाले त्यहाँ कसैले सुन निकालेको नदेखेको जनाए । के त्यसो भए त्यो हल्ला मात्रै हो त ? मानिस यसलाई स्वीकार्दैनन् । स्थानीय पत्रकार फातिमा तू छोगडाले आफ्नो आँखाले नै कसैले माटो भित्रबाट केही निकालेको देखेको जनाइन् । उनले कुनै व्यक्तिले केही निकालेको देखेको भए पनि त्यो सुन वा पित्तल के हो थाहा नभएको जनाइन् ।
उता बंगलादेशको पुरातत्व विभागले भने त्यहाँको माटो जाँच्दा कुनै खनिज नमिलेको जनाएको छ । बीबीसी