site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
एक महिनामै यूएईमा ३२ जना नेपालीको मृत्यु, अधिकांश आत्महत्या
SkywellSkywell

काठमाडौं । मानव तस्करको प्रलोभवनमा परी भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीमा आत्महत्या गर्ने क्रम बढेको छ । 

मानव तस्करको प्रलोभनमा परी भिजिट भिसामा यूएई जाने नेपालीको संख्या बढेसँगै आत्महत्या गर्नेको संख्या बढेको हो । “केही महिनायता यूएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढेको छ,” यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बाह्रखरीसँग भने, “आत्महत्या गर्ने धेरैजसोहरू भिजिट भिसामा आएको देखिन्छ ।”

यूएईस्थित नेपाली दूतावासका अनुसार, २०८० वैशाख महिनामा मात्र यूएईमा ३२ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूलो संख्या आत्महत्यासँग जोडिएको छ । 

Dabur Nepal
NIC Asia

“मानवतस्कर तथा एजेन्टहरूको  प्रलोभनमा परी भिजिट भिसामा आउने र यहाँ आएको लामो समयसम्म पनि सोचेअनुसार काम नपाएपछि उनीहरू निराश हुने गरेको पाइएको छ । जसले उनीहरूलाई आत्महत्यासम्म पुर्‍याउने गरेको छ,” उनले भने । 

मानवतस्करहरूले अमेरिका र युरोपेली राष्ट्रमा लगि आकर्षक रोजगारी लगाईदिने भन्दै ठूला संख्यामा नेपालीलाई भिजिट भिसामा यूएईको अबुधाबी र दुबई पुर्‍याउने गरेका छन् । मानव तस्करहरूले नेपालीलई युरोप र अमेरिका पुर्‍याउन यूएईलाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आएका छन् । “३० प्रतिशत त युरोप तथा अमेरिका जान भनी यहाँ आएको पाइन्छ,” राजदूत क्षेत्रीले भने ।

आर्थिक वर्ष २०८०/८१ सुरु भएपछिको पहिलो १० महिनामा यूएईमा १६७ जनाको मृत्यु भइसकेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यूएईमा १६७ जनाको मृत्यु भएको थियो ।

अघिल्लो एक वर्षमा जति नेपालीको मृत्यु यूएईमा भएको थियो त्यति नै संख्यामा नेपालीको मृत्यु चालु आर्थिक वर्षको पहिलो १० महिनामा भइसकेको छ । आर्थिक वर्ष २०७८/७९ मा १७४ जना नेपालीको मृत्यु यूएईमा भएको थियो । 

पछिल्लो १० महिनामा २०८० साउनमा १९, भदौमा १२, असोजमा १३, कात्तिकमा १८, मंसिरमा १३, पुसमा १३, माघमा १७, फागुनमा १३, चैतमा १७ र २०८१ वैशाखमा ३२ जना नेपालीको मृत्यु यूएईमा भएको छ । 

चालु आथिक वर्षको पहिलो १० महिनामा यूएईमा प्रत्येक महिना औसतमा १६ जनाभन्दा बढी नेपालीको मृत्यु भएको छ । यही गतिमा मृत्यु भइरहे चालु आर्थिक वर्षमा २०० जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा हुने देखिन्छ । 

चौध वर्षमा पौने १२ सयले गरे आत्महत्या 

नेपाल लेवर माइग्रेसन रिपोर्ट २०२२ अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा गएका १ हजार १८७ जना नेपालीले आत्महत्या गरेका छन् । उक्त अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १० हजार ६६६ जनामध्ये ११.१२ प्रतिशतको मृत्युको कारण आत्महत्या थियो । 

रिपोर्ट अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको अवधिमा वैदेशिक रोजगारीमा गएकाहरूमध्ये प्राकृतिक कारण  २ हजार ७७, कार्डियक अरेस्टका कारण १ हजार ४७४, सडक दुर्घटनाका कारण १ हजार ३५९, आत्महत्याका कारण १ हजार १८७, हृदयघातका कारण ७३३, कार्यस्थल दुर्घटनाका कारण ७५४, कोभिड–१९ का कारण २०७ र अन्य कारण २ हजार ८७५ जनाको मृत्यु भएको थियो । 

रिपोर्ट अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमध्ये चौथों ठूलो कारण आत्महत्या देखिन्छ । 

वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ मा ९ जना, २०६६/६७ मा २५ जना, २०६७/६८ मा ६२ जना, २०६८/६९ मा ६६ जना, २०६९/७० मा ८१ जना, २०७०/७१ मा ९६ जना, २०७१/७२ मा ११३ जना, २०७२/७३ मा १०९ जना, २०७३/७४ मा ८९ जना, २०७४/७५ मा १३२ जना, २०७५/७६ मा १११ जना, २०७६/७७ मा ६६ जना, २०७७/७८ मा १३० जना र २०७८/७९ मा ९८ जनाले आत्महत्या गरेका थिए । 

यूएईमा कतिले गरे आत्महत्या 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, तीन वर्षमा यूएईमा ४९६ जना नेपालीको मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/७७ मा १०५ जना, २०७७/७८ मा १९८ जना र २०७८/७९ मा १९३ जनाको मृत्यु भएको थियो । यी तीन वर्षमा ५८ जना नेपालीले यूएईमा आत्महत्या गरेका थिए ।

तीन वर्षमा यूएईमा जति पनि नेपालीको मृत्यु भएको छ ती मध्ये ११.६९ प्रतिशतको मृत्यु कारण आत्महत्या रहेको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको अवधिमा मलेसिया, साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन, ओमान, जापान र दक्षिण कोरियामा २८९ जना नेपालीले आत्महत्या गरेका थिए ।

उक्त अवधिमा मलेसियामा ८०, सादउी अरबमा ७८, यूएईमा ५८, कतारमा ५०, कुवेतमा १३, बहराइनमा ५, दक्षिण कोरियामा ४ र ओमानमा १ जना नेपालीले आत्महत्या गरेका थिए । 

किन जान्छन् यूएई भिजिट भिसामा 

मानवतस्कर तथा एजेन्टहरूले नेपालीलाई अनेक प्रलोभन देखाई भिजिट भिसामा यूएई पु¥याउने गर्छन् । कसैलाई अमेरिका पुर्‍याउने र कसैलाई युरोपेली मुलुक तथा पछिल्लो समय रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाई नेपालीलाई भिजिट भिसामा यूएई पुर्‍याउने गरेको पाइन्छ । यसरी यूएई पुग्नेहरू काठमाडौंबाट सिँधै नगई भारत, बंगलादेश, श्रीलंकालगायतका देश हुँदै जाने गर्छन् । 

कति नेपालीलाई त ओमान, बहराइन लगि त्यहाँबाट यूएई छिराउने गरेको समेत पाइएको छ । एजेन्टहरूले कति नेपालीलाई अवैध तरिकाले विभिन्न गन्तव्यमा पुर्‍याउन कहिलो छोटो त कतिलाई लामो अवधिको लागि यूएईलाई ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दै आएका छन् ।

पछिल्लो समय एजेन्टहरूले नेपालीलाई भिजिट भीसामा युएई हुँदै मस्को पुर्‍याएर रुसी सेनामा भर्ती गराउने गरेको थाहा पाएपछि सरकारले कडाई गरेको थियो । यूएई हुँदै रुस जाने नेपालीले यूएईस्थित नेपाली दूतावासबाट नो अक्जेक्सन सर्टिफिकेट (एनओसी) अनिवार्य लिनुपर्ने नियम बनाएको थियो । 

भिजिट भीसामा गएर काम गर्न पाइदैन । तर काम गर्न नपाउने नेपाली पनि भिजिट भीसामा लामो समय यूएईमा बस्ने गरेका छन् । यूएई गएर अमेरिका र यूरोपका विभिन्न देशको भीसाका लागि आवेदन दिने गरेको पाइएको छ । भीसा रिजेक्ट भएमा पासपोर्ट च्यातेर फ्याँक्ने र हरायो भनी नयाँ पासपोर्टका लागि आवेदन दिने गर्छन् । यसो हुँदा यूएईस्थित नेपाली दूतावासमा पासापोर्ट माग पनि बढेको छ । 

मानवतस्करले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अवैध रुपमा अमेरिका प्रवेश गराउन नेपालीलाई पहिला भिजिट भिसामा यूएई पुर्‍याउने गरेका छन् । त्यहाँबाट उनीहरूलाई ल्याटिन अमेरिका लगि महिनौं लगाएर ज्यान जोखिममा राखी अमेरिका प्रवेश गराउने गरेका छन् । यसका लागि नेपालीले मानवतस्कर तथा दलाललाई ८० लाख रुपैयाँभन्दा बढी बुझाउने गरेका छन् । यस्तो यात्रामा कयौं नेपालीले बाटोमा नै ज्यान गुमाउनु परेको छ । 

भिजिट भिसामा यूएई जाने बढ्दो 

पछिल्ला वर्षहरूमा भिजिट भिसामा यूएई जानेको संख्या बढ्दो छ । अध्यागमन विभागको तथ्याङक अनुसार, सन् २०२० को अगष्टदेखि डिसेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई जानेको संख्या ७ हजार ७४९ रहेको थियो । सोही अवधिमा भिजिट भिसामा कतार ३, साउदी अरब १४, मलेशिया २, बहराइन २० र कुवेत ७ जना नेपाली गएका थिए । 

सन् २०२१ मा आउँदा भिजिट भिसामा यूएई जानेको संख्या ह्वात्तै बढेको छ । सन् २०२१ को अगष्टदेखि डिसेम्बरसम्म भिजिट भिसामा यूएई जाने नेपालीको संख्या ५४ हजार २६ पुगेको थियो । सोही अवधिमा भिजिट भिसामा कतार ३०७, साउदी अरब १७६, मलेशिया ३२, बहराइन ४५ र कुवेत ६० जना नेपाली गएका थिए । 

सन् २०२१ मा ७२ हजार ९४ जना नेपाली भिजिट भिसामा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई गएका थिए ।

अध्यागमन विभागका अनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जाने नेपालीको संख्या १ लाख ७७ हजार ३१० थियो । तर उक्त वर्ष भिजिट भिसामा २ लाख ५५ हजार नेपाली यूएई पुगेका थिए । उक्त वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जति नेपाली विदेश गएका थिए त्यो संख्याभन्दा बढी भिजिट भिसामा यूएई पुग्नेको थियो । 

विभागको तथ्याङ्क अनुसार, सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा २ लाख ४ हजार ५१८ जना नेपाली विभिन्न देश गएका थिए । यीमध्ये ५५ हजार ६१८ जना यूएई जान भनी उडेका थिए ।

यूएई सरकारले हालै अबुधाबीस्थित नेपाली दूतावासलाई दिएको जानकारी अनुसार, सन् २०२३ मा १ लाख ७५ हजार नेपाली भिजिट भिजिट भीसामा यूएई पुगेका/रहेका छन् । 

नेपालबाट यूएई जान भनी भिजिट भीसामा उडेका भन्दा यूएईमा भिजिट भीसामा पुग्ने नेपालीको संख्या १ लाख १९ हजार ३८२ ले बढी देखिएको छ । यी तथ्याङ्कले भिजिट भिसामा यूएई जानेहरू काठमाडौंबाट सिँधै जानभन्दा पनि अन्य देश हुँदै यूएई पूग्ने गरेको देखाउँछ । 

किन गर्छन् आत्महत्या ?

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार, तस्कर तथा एजेन्टले प्रलोभन देखाई यूएईका विभिन्न सहर पुर्‍याउने गर्छन् । कसैलाई अमेरिका लगिदिने त कसैलाई युरोपेली देश छिराइदिने, कसैलाई रुसी सेनामा भर्ती गराउने त कसैलाई यूएईमै आकर्षक रोजगारीमा लगाइदिने प्रलोभन देखाएका हुन्छन् । 

उनीहरूलाई जे आश्वासन दिएर यूएई लगिएको हुन्छ त्यो पूरा हुँदैन । लामो समय यूएईमा बस्दा लाखौं रुपैयाँ खर्च पनि हुन्छ भने रोजगार पनि पाउँदैनन् र भनेको गन्तव्यमा जान पनि सक्दैनन् । यसले निराशा बढाउँछ र यो क्रम बढ्दै जाँदा आत्महत्यासम्मको बाटो रोज्न बाध्य हुन्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro