काठमाडौं । राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेपछि ओलम्पिकमा देशको झन्डा फहराउनु हरेक खेलाडीको चाहना हुन्छ । धेरै खेलाडी यो चाहना पूरा गर्न ओलम्पिक खेल्ने लक्ष्यसहित मिहिनेत गर्छन् । तीमध्ये अतिकमले लक्ष्य भेट्टाउँछन् । धेरैको सपना अधुरै रहन्छ ।
नेपालजस्तो देशबाट ओलम्पिकमा छनोट हुनु झन् विशेष हुन्छ । विश्व खेलकुदको मानचित्रमा कमजोर उपस्थिति हुँदा यहाँका धेरै खेलाडीले ओलम्पिकको मञ्चसम्म उक्लने अवसर पाउँदैनन् । सक्दैनन् । तर, ब्याडमिन्टनका प्रिन्स दाहाल यसको अपवाद बने । ओलम्पिक खेल्ने लक्ष्य भेट्टाउन २० वर्षको उमेरमा उनी सफल भएका छन् ।
गत हप्ता विश्व ब्याडमिन्टन महासंघले युनिभार्सलिटी कोटामा पुरुषतर्फ सुरिनामाका सोरेन ओप्टीसँगै प्रिन्सको नाम समावेश गर्यो । त्यसपछि ओलम्पिकमा उनको उपस्थिति निश्चित भएको हो । योसँगै प्रिन्स नेपाली ब्याडमिन्टनको इतिहासमै ओलम्पिक खेल्ने पहिलो र एक मात्र खेलाडी बन्दै छन् ।
अर्जेन्टिनी भाषामा ट्याग
प्रिन्सलाई आफू ओलम्पिकमा छनोट भएको त्यति बेलासम्म थाहा थिएन । इन्स्टाग्राममा अर्जेन्टिना र अरू देशका मान्छेले ट्याग गरेका रहेछन् । अर्जेन्टिनीले उनीहरूकै भाषामा लेखेर प्रिन्सलाई ट्याग गरेका थिए । के लेखेको भन्ने बुझ्न उनले भाषा ट्रान्सलेट गरे । सुरुमा हो कि होइन भन्नेमा दोधारमा थिए प्रिन्स । विश्वास भएन । तर, धेरैजनाबाट ट्याग र म्यासेज आउन थालेपछि भने ओलम्पिकमा छनोट भएकामा उनी ढुक्क भए ।
“यसैका लागि मिहिनेत गरिरहेको थिएँ । सबै प्रतियोगिताहरू खेल्दाको लक्ष्य नै ओलम्पिकमा पनि खेल्नुपर्छ भन्ने थियो,” प्रिन्सले बाह्रखरीसँग भने, “एकदमै खुसी छु । आफूले लगानी गरेको समयको प्रतिफल पाएँ ।”
दार्चुलाको खलंगामा जन्मिए पनि उनको बाल्यकाल काठमाडौंमा बित्यो । तीन दिदीबहिनीका एक्लो भाइ प्रिन्सले चारदेखि सात कक्षासम्म नेपाल प्रहरी विद्यालयमा पढे । ज्ञानकुञ्ज स्कुलबाट एसईई दिए । हाल पिनाकल एकेडेमीमा प्लस टु अध्ययन गरिरहेका छन् ।
६–७ वर्षको उमेरदेखि नै हो, प्रिन्स ब्याडमिन्टनमा होमिएका । क्षेत्रीयस्तरका प्रतियोगिता खेलेका बुवाको पदचाप पछ्याउँदै उनी यसतर्फ लागे । खेल्न गएकै कारण उनले आमाबाट गाली समेत खानुपरेको थियो । बुवाको साथ रहेकाले भने ब्याडमिन्टनको रस बस्यो ।
“बुवासँगै खेल्न जान्थेँ । तर, ममीले भने पढ् भन्नुहुन्थ्यो । आफूलाई पढ्न मन नलाग्ने । बुवाबाटै ब्याडमिन्टन खेल्न प्रभावित भएँ । ब्याडमिन्टन रमाइलो लाग्न लाग्यो,” प्रिन्स सुनाउँछन् ।
बुवाबाटै उनले ब्याडमिन्टनका आधारभूत ज्ञान पाए । त्यसपछि उनले पूर्णबहादुर थापासँग ब्याडमिन्टन सिके । अहिले प्रिन्स चीनका लिन देनलाई आफ्नो ‘आइडल’ मान्छन् ।
ब्याडमिन्टका कारण अध्ययनमा उनको निरन्तरता छैन । प्रशिक्षणका निम्ति एक वर्ष थाइल्यान्डमा बस्दा पढाइ छुट्यो । त्यसपछि भारतसँगै अरू देशमा पनि प्रशिक्षणका लागि पुग्दा अध्ययन रोकियो । प्रशिक्षणकै लागि उनी थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, भारत र श्रीलंका पुगिसके । उनले आफ्नो अध्ययनलाई चट्टै छोडेका भने छैनन् । प्रिन्स पढाइ र खेललाई एकसाथ लैजान गाह्रो हुने बताउँछन् ।
“पढाइमा ध्यान दिए खेलमा नहुने, खेलमा ध्यान दिए पढाइमा नहुने । दुवैलाई सँगै लिएर हिँड्न गाह्रो हुने रहेछ,” उनी भन्छन्, “तर, स्कुल–कलेजबाट राम्रो साथ भएकाले दुवैलाई सँगै अघि बढाइरहेको छु ।”
१३ वर्षको उमेरदेखि राष्ट्रियस्तरका ब्याडमिन्टन प्रतियोगितामा भाग लिन थालेका प्रिन्स निरन्तर अघि बढे । नेपालमा हुने सबैखाले प्रतियोगितामा स्वर्णपदक जितेका उनको करियर अहिले शिखरमा छ । नेपालमा हाल उनको स्तरका ब्याडमिन्टन खेलाडी छैनन् भन्दा फरक पर्दैन ।
युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजित दुबई अन्तर्राष्ट्रिय जुनियर शृंखला–२०१८ को उपाधि जितेका प्रिन्स सन् २०२० मार्चमा वरीयताको साताैँ स्थानमा उक्लिएका थिए । त्यसको दुई वर्षपछि २०२२ मा जुनियरतर्फ विश्व वरीयताको शीर्ष स्थानमा उक्लँदा प्रिन्सले विश्व ब्याडमिन्टनको ध्यान नेपालतिर आकर्षित गर्न सफल भए । २०२० दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज करियरकै बिर्सन नसकिने क्षण भएको उनी बताउँछन् ।
उनी भन्छन्, “दुबईमा त्यस बेला फाइनलमा साविक विजेतालाई हराएर म च्याम्पियन बनेको थिएँ । यसैकारण त्यो प्रतियोगिता अहिलेसम्म मेरो लागि सबैभन्दा मेमोरेबल छ ।”
ओलम्पिकमा छनोट नभएको भए...
प्रिन्सलाई आफू पेरिस ओलम्पिकका निम्ति छनोट हुन्छु भन्ने लागेको थिएन । त्यसैले ओलम्पिकमा कस्तो प्रतिस्पर्धा हुने रहेछ प्रत्यक्ष हेर्ने रहर थियो । छनोट हुनुअघि उनले ओलम्पिक हेर्न जाने योजना बनाइसकेका थिए ।
“ओलम्पिकमा छनोट हुनुअघि टिकट काटेर नै ओलम्पिक हेर्न जाने योजनामा थिएँ,” प्रिन्स भन्छन्, “अहिले छनोट भएँ, त्यहाँ कस्तो हुन्छ होला भन्ने सोच्न पनि सकिरहेको छैन । एकदमै उत्साहित छु ।”
मामा कलेश निरौलाको साथ–सहयोगले उनलाई ठूलो मद्दत गर्यो । करियरले ओलम्पिकसम्मको यात्रा तय गर्दा समेत मामाकै साथमा अघि बढेका छन् । अहिले पनि मामा कमलेशकै सल्लाहअनुरूप चल्छन्, प्रिन्स । उनी भन्छन्, “खेल्छु भन्दा मामाले नै सबै कुरामा साथ दिनुभयो । अहिले उहाँ नै मेरो व्यवस्थापक हुनुहुन्छ ।”
दैनिक ६–७ घण्टा प्रशिक्षण
ब्याडमिन्टनलाई करियर बनाएर ओलम्पिक यात्रा निश्चित गर्दा पनि प्रिन्स आफ्नो भविष्यबारे ढुक्क छैनन् । उच्च लयमा हुँदाको चर्चाको अनुभव बटुलेका प्रिन्स प्रदर्शन खस्कँदाको सम्भावित चुनौतीबारे चनाखो छन् । उनी आफ्नो लयलाई कायम राख्न दैनिक ६–७ घण्टा प्रशिक्षणमा बिताउँछन् ।
“नेपालमा नतिजा राम्रो होस् भन्ने मात्रै सोच्छन् । ओलम्पिकमा मेडल जित्नेहरूले वर्षौंदेखि मेडल ल्याउँछु भनेर प्रशिक्षण गरिरहेका हुन्छन्,” उनी भन्छन्, “नेपालमा खेलमा सरकारी लगानी नै थोरै छ । व्यक्ति आफैँले खर्च गरेर खेलिरहेका हुन्छन् । लगानी नगरी राम्रो नतिजा ल्याओस् भन्ने आस राखेका हुन्छन् । नतिजा राम्रो भएन भने त्यसले सक्दैन भन्न थालिहाल्छन् । यसैकारण लयलाई कायम राख्न दिनको ६–७ घण्टा प्रशिक्षण गर्छु ।”