site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
विकल पौडेलसँग वैध आम्दानीको ३२ गुणा धेरै सम्पत्ति : अमेरिकामा घर, सिंगापुरमा करोडौँ लगानी

काठमाडौं । एउटा सरकारी निकायका निर्देशकले चार–पाँच वर्षमा कति कमाउलान् ? धेरै कमाए, एक करोड, दुई करोड ! तर, होइन । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलले त्यसको कयौँ गुणा बढी सम्पत्ति जोडेको तथ्य अनुसन्धानबाट बाहिर आएको छ ।

पौडेल २०७४/०७५ सालदेखि २०७९/०८० सालसम्म केन्द्रको निर्देशक थिए । उनले यस अवधिमा ६४ करोड २० लाख ६२ हजार रुपैयाँ कमाएको अनुसन्धानले देखाएको छ । यसमा उनको वैध सम्पत्ति भने दुई करोड रुपैयाँमात्रै छ । उनको वैध आम्दानी पनि दैनिकी खर्चमै सकिने देखिने अनुसन्धानले देखाएको छ ।

निर्देशक रहँदा पौडेलले योजनाबद्ध ढंगले टेन्डर खोलेर आफूले चाहेको स्वदेशी कम्पनीलाई ठेक्का दिने गरेका थिए । यिनै पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ६२ करोड १९ लाख रुपैयाँ बिगोमागसहित मुद्दा दायर गरेको छ ।

डब्ल्यूडीएन, ओबीसीआई, म्याक्स र नेक्स्टजेन सोलुसनलगायत कम्पनीलाई ठेक्का दिएपछि आफैँ एजेन्ट रहेको विदेशी कम्पनी इन्स्टासेफ इङ्क र ब्यान्कोटेक पीटीईबाट उनले सूचना प्रविधिसम्बन्धी सामान आपूर्ति गराउँथे ।

सुरक्षण मुद्रण केन्द्रको निर्देशक भएकै बेला सरकारी स्वीकृत नलिएरै उनी सिंगापुरको इन्स्टासेफ इङ्क र ब्यान्कोटेक पीटीईको बिक्री एजेन्ट बनेका थिए ।

सिंगापुर र अमेरिकामा २८ करोड

ठेक्का दिएर सरकारी रकमबाट सामान खरिद गराएपछि उनले कमिसन लिएर सिंगापुरको युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकामा २८ करोड ९५ लाख ७५ हजार ६८९ रुपैयाँ जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

बिक्री एजेन्ट भएरै उनले ब्यान्कोटेक पीटीईबाट सन् २०१९ देखि सन् २०२२ सम्म उनले कमिसनबापत ९ लाख ९ हजार ४४१.६६ अमेरिकी डलर लिएको पाइएको छ । यस्तै, इन्स्टासेफ इङ्कबाट उनले एक लाख ३९ हजार ९६४.४० अमेरिकी डलर कमिसन लिएको खुलेको छ ।

पौडेलले पटकपटक गरी तीन करोड ७७ लाख ९१ हजार ११ रुपैयाँ सायद ताहिर साह, अकबर हुसेन, मनोज कार्की, ऋचा खनाललाई ट्रान्सफर गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

सिंगापुरमै साढे दुई करोडको बिमा

विकल पौडेलले सिंगापुरस्थित प्रुडियन्सल एसुरेन्स कम्पनीमा दुई करोड ४४ लाख ६३ हजार ८२२ रुपैयाँ २७ पैसा बराबरको जीवन बिमासमेत गरेको खुलेको छ ।

यसबाहेक उनले सिंगापुरको युनाइटेड ओभरसिज बैंकको वेल्थ एक्युम्युलेसन प्लानअन्तर्गतको स्ट्रक्चर नोटमा दुई लाख अमेरिकी डलर लगानी गरेको पाइएको छ ।

अमेरिकामा १३ करोडको सेयर

सुरक्षण मुद्रण केन्द्रको निर्देशक बनेकै बेला विकल पौडेलले 'प्रसान्थ जी' भन्ने विदेशी व्यक्तिमार्फत पटकपटक गरी दुई लाख १४ हजार ३०० अमेरिकी डलर कमिसन अमेरिकाको बैंक अफ अमेरिकाको खातामा जम्मा गरेको पाइएको छ ।

पौडेलले रोबिनहुड सेक्युरिटिज एलएलसीमा आठ करोड ४७ लाख ६० हजार ४४६ रुपैयाँ ८८ पैसा लगानी गरेको पाइएको छ ।

यस्तै, उनले रोबिनहुड मार्केट्सको विभिन्न सेयरमा चार करोड ६२ लाख ३६ हजार ८२९ रुपैयाँ २२ पैसा लगानी गरेको खुलेको छ ।

यसरी विकल पौडेलले अमेरिकामा १३ करोड ९ लाख ९७ हजार २७६ रुपैयाँ १० पैसा लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अकुत सम्पत्ति लुकाउने प्रयास असफल

यसरी प्राप्त सम्पत्ति लुकाउन उनले २०७५ साल ८ महिना १३ गते अंश बुझेको लिखित भरपाई लिएका थिए । तर, उनी हालसम्म आमा, बुवा र भाउजूसँग नै बस्दै आएको अख्तियारले जनाएको छ ।

कमिसनबाटै किने घरजग्गा

अंशबन्डा गरेको भनेपछि पनि कमिसनबापत बुझेको रकमबाट उनले बुवा र आमाको नाममा घर, जग्गा, सेयर तथा सवारीसाधन खरिद गरेको पाइएको छ ।

उनले आमा र दाइसँगको संयुक्त लगानीमा काठमाडौंको महाकाल क्षेत्रमा २९०.२५ वर्गमिटर र भक्तपुरको छालिंगमा ५–७–०–० को जग्गा खरिद गरेको पाइएको छ ।

नेपालमा भ्रष्टाचार, अमेरिकामा श्रीमतीको नाममा घर

यसरी पौडेलले भ्रष्टाचार गरी कमाएको रकमले सन् २०२१ को सेप्टेम्बर २४ मा अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतको नाममा अमेरिकाको जेम्सभिलस्थित टुलिभहुड लेनमा घर किनेको खुलेको छ ।

यी सबै गर्दा उनले करिब चार वर्षको अवधिमा सार्वजनिक पदमा बसेर ६४ करोड २० लाख ६२ हजार ५७२ रुपैयाँ ९७ पैसा खर्च तथा लगानी गरेको खुलेको हो ।

सो अवधिमा उनले कानुनीरूपमा आर्जन गरेको रकम दुई करोड एक लाख ४३ हजार ८८८ रुपैयाँ ६८ पैसामात्रै हुने अख्तियारको ठहर छ ।

आर्जन गरेको रकम घटाएर अख्तियारले पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बिगो कायम गर्दै कैद र बिगोबमोजिम जरिवाना सजाय माग गरेको छ ।

परिवारका सदस्यले विकललाई यो अवैध काममा सहयोग गरेको नपाइएकाले उनीहरूको नाममा खरिद गरिएको सम्पत्ति जफत तथा असुलउपर गर्न अख्तियारले माग गरेको छ ।

पौडेल, उनको परिवार, सिंगापुर र अमेरिकी बैंकमा रहेको तथा लगानी र अमेरिकाको घरलगायत सबै अकुत सम्पत्ति कानुनबमोजिम जफत एवं असुलउपर गर्न अख्तियारको माग छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro