घुम्नैपर्ने ठाउँको सूचीमा क्रिस्तो हेईको सालिक राखेकी थिएँ । यो ठाउँ पोर्तुगलको लिस्वन सहरको अल्मादा भन्ने ठाउँमा अवस्थित छ ।
बिहानै खाना खाएर घरबाट निस्केँ । पोर्तुगलको लिस्वन, अमादोरा ट्रेन स्टेसनमा पास (टिकट) लिएँ । २०/२० मिनेटको अन्तरालमा ट्रेन आउने त्यहाँ झुन्ड्याइएको बोर्डमा सूचित थियो । पहिलो ट्रेन छुटिसकेको थियो । थुप्रै यात्रुहरू ट्रेन कुरिरहेका थिए । यात्रुहरू अफ्रिकन, ब्राजिलियन, नेपाली, भारतीय, स्पेनिस त कोही पाकिस्तानी थिए । कोही उभिरहेका थिए, कोही बसिरहेका । कोही फोनमा कुरा गरिरहेका थिए ।
२० मिनेटपछि ट्रेन आयो । चढिरहेका यात्रुहरू ओर्लिसकेपछि कुरिरहेका सबै यात्रुहरू ट्रेनमा चढ्न दौडियौँ ।
ट्रेन चल्न थालेपछि दुवैतिरका दृश्यहरू हेर्न थालेँ । ट्रेनबाट देखिने बस्तीका घरहरू कुनै उकालोमा थिए, कुनै समतल ठाउँमा । ठाउँठाउँमा पार्कहरू पनि देखिन्थ्यो । उकालो, ओरालो र समथर ठाउँमा घरहरू देखेर काठमाडौंका बस्तीहरू झलझल्ती सम्झेँ । यहाँका बस्ती र सडकहरू सफा र स्वच्छ थिए ।
ट्रेनभित्र स्क्रिनमा ठाउँको नाम लेखेर देखाइँदै थियो । कम्प्युटरले आवाजसहित अगाडि आउन लागेको स्टेसनको नाम जानकारी गराइँदै थियो ।
कम्प्युटरको आवाज सुन्नेबित्तिकै स्क्रिनमा हेर्थेँ । रिबोलेरा, दमाया, बेनिफिका, काम्पोलिद स्टेसन छिचोल्दै १७ मिनेटपछि रोसियो पुगेँ । रोसियो अन्तिम स्टेसन थियो ।
त्यहाँ ओर्लेर दुई मिनेट हिँडेपछि रोसियोको मेट्रो स्टेसन पुगेँ । पास देखाएर मेट्रो चढ्न सुरुङमार्गतिर लागेँ । मेट्रो सुरुङमार्ग हुँदै चल्ने रहेछ । सुरुङमार्गमा झिलिमिली बत्ती बलिरहेको थियो । सुरुङमार्गको सुन्दरता आँखामा कैद गर्न वेबास्ता गर्न सकिनँ । मार्बल टालिएका सुरुङमार्गका भित्ताहरू बत्तीको उज्यालोमा झनै चम्किलो देखिएको थियो ।
मेट्रो चढेर आधा घण्टापछि काशिलास पुगेँ । काशिलासबाट पानीजहाज चढ्नुपर्थ्यो । पास देखाएर पानीजहाज चढ्न समुद्रछेउ पुगेँ । म आतुर थिएँ, समुद्र हेर्न र पानीजहाज चढ्न । समुद्र पहिला पनि देखेकी थिएँ । समुद्र जतिपटक देखे पनि मेरो मन कहिल्यै अघाउँदैन । तर, पानीजहाज पहिलोपल्ट चढ्दै थिएँ ।
पानीजहाज चढेको पाँच मिनेटपछि चल्न थाल्यो । सुरुमा जिउ हल्लियो । तर, चल्न सुरु भएपछि यस्तो लाग्यो– म कुनै पार्टी प्यालेसमा बसिरहेको छु, ज्यादै स्थिर र शान्त तरिकाले । बसेर मानिसहरूको कुरा सुनिरहेको छु ।
जहाज दुईतले थियो । पहिलो तला हलजत्रै थियो । सयौँ यात्रुहरू जहाजमा भएको कुर्सीमा बसिरहेका थिए । कोही सेल्फी लिन व्यस्त, कोही कुरा गर्न व्यस्त थिए । कोही झ्यालबाट समुद्रको दृश्य हेर्न व्यस्त देखिन्थे ।
समुद्रमा पानीजहाजहरू ओहोरदोहोर गरिरहेका देखिन्थे । १५ मिनेटको पानीजहाजको यात्रापछि हामी अल्मादा पुग्यौँ ।
जहाज रोकियो । ढोका खोल्नेबित्तिकै यात्रुहरू झर्न थाले । जहाजबाट झरेर मैले गुगल म्याप अन गरेँ । गुगल म्यापले क्रिस्तो हेईको सालिकसम्म पुग्न १५ मिनेटको पैदल बाटो देखाइरहेको थियो । गुगल म्यापलाई पछ्याउँदै हिँड्न थालेँ ।
हिँड्दै एउटा गाउँमा प्रवेश गरेँ । सडकका दुवैतिर बस्ती थिए । कुलोमा सफा पानी बगिरहेको थियो । बीचबीचमा बोटबिरुवाले झांगिएको हरियो फाँट देखिन्थ्यो । हरियो फाँटपछि फेरि बस्ती देखिन्थ्यो । सडकमा फाटफुट कार र मानिसहरू ओहोरदोहोर गरिरहेका देखिन्थे ।
१५ मिनेटको बाटो छिचोल्दै क्रिस्तो हेईको सालिक भएको पार्कमा प्रवेश गरेँ । प्रवेशद्वारको छेउमा टाँसिएको कागजमा मेरा आँखा पर्यो । कागजमा पोर्तुगिज भाषामा लेखिएको थियो– अबेर्तो १० होरा, फेसादा ५ होरा । अर्थात्, १० बजे बिहान खुल्छ र बेलुकी ५ बजे बन्द हुन्छ ।
प्रवेश गर्नेबित्तिकै पार्कमा उभिरहेको विशाल क्रिस्तो हेई अर्थात् राजा क्राइस्टको सालिक देखेँ । क्राइस्टको सालिक अति विशाल र अग्लो थियो । सालिक हेर्न घाँटी पछाडितिर झुकाउनुपर्थ्यो ।
सालिकबाट मेरा आँखा नै हटिरहेको थिएन । चौडा छाती भएको क्राइस्टको सालिक दुवै हात फैलाएर उभिइरहेको थियो । सालिकले छाती र हात फैलाएको देखेर यस्तो लाग्यो, उनको विशाल छातीमा मानिसले शान्ति र आराम पाउँछ ।
करिब दुई मिनेट हिँडेपछि सालिक नजिक पुगेँ । सालिकमुनि मसिनो अक्षरमा पोर्तुगिज भाषामा लेखिएको थियो– सालिकको उद्घाटन १७ मे १९५९ मा भएको हो ।
नजिकै छेउमा गिर्जाघर थियो । एकजना पादरी गिर्जाघरको प्रवेशद्वारमा उभिइरहेका थिए । गिर्जाघरमा प्रवेश गर्न चाहने प्रत्येक व्यक्तिको प्रवेश शुल्क ८ युरो लाग्छ भनेर पादरीले जानकारी दिइरहेका थिए ।
गिर्जाघरको भित्तामा मसिनो अक्षरमा लेखिएको थियो– यो एक क्याथोलिक स्मारक र तीर्थस्थल हो, यशू ख्रिस्टको पवित्र हृदयलाई समर्पित गरेर अल्मादामा स्थापना गरिएको छ ।
अर्को भित्तामा पोर्तुगिज भाषामा मसिनै अक्षरमा लेखिएको थियो– लिस्वनको कार्डिनल कुलपतिले ब्राजिलको रियो दी जेनेरियोको क्राइस्ट द रिडिमर प्रतिमा भ्रमण गरेपछि त्यो प्रतिमाबाट प्रेरित भएर दोस्रो विश्वयुद्धको प्रत्यक्ष विनाशकारी प्रभावबाट पोर्चुगिजहरू जोगिएकाले कृतज्ञता व्यक्त गर्नका लागि क्रिस्तो हेईको विशाल मूर्ति निर्माण गरिएको हो ।
सालिकछेउको गिर्जाघरमा सयौँ क्रिस्चियन धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका थिए । क्राइस्टको सालिक वरिपरि बिघौँबिघामा पार्क फैलिएको थियो । चारैतिर थरीथरीका फूलहरूको बोटले बगैँचा सजिएको थियो ।
सालिकको बायाँपट्टि बगैँचामा सयौँ खजुरका रुखहरू लहरै उभिइरहेका थिए । प्रत्येक खजुरको रुखमा पहेँला खजुरहरू फलेका थिए । खजुरको रुखहरू देखेर लाग्यो, म मधेसको आफ्नै गाउँ डुलिरहेको छु । गाउँमा अरूको बारीमा भएका खजुरको रुखबाट समेत खजुर टिपेर खाइदिन्थेँ । यहाँ पार्कमा खजुर फलेको देखेर टिपेर खाऊँखाऊँ लाग्यो, तर टिप्न सकिनँ । किनकि, सयौँ पर्यटकहरू पार्कमा घुमिरहेका थिए । तर, कसैले खजुर टिपेका थिएनन् ।
खजुरका रुख भएको ठाउँको ठ्याक्कै अगाडि सयौँ पर्यटकहरू कोही सेल्फी लिइरहेका थिए, कोही तस्बिर खिचाइरहेका । दुईचार जोडीहरू चुम्बनमा लिप्त थिए । बच्चाहरू आमाबुवाको निगरानीमा बगैँचामा खेलिरहेका थिए ।
पर्यटकहरूको भीड भएको ठाउँतिर गएँ । भीडलाई छिचोल्दै हेरेँ, क्रिस्तो हेईको बगैँचा पछाडिपट्टि तल तीनतिरै विशाल समुद्र थियो । निलो पानीमा छाल उर्लिरहेको थियो । समुद्रको निलो पानीमा आकाशको तस्बिर झलझली देखिन्थ्यो । सालिक भएको ठाउँ टापुमा थियो, चारैतिरबाट बारले घेरिएको ।
सालिकको बगैँचाको दायाँपट्टि समुद्रमाथि लामो पुल थियो । पुलमाथि सडक । सडकमा कारहरू गुडिरहेका देखिन्थे । तीनतिर समुद्रले घेरिएको किस्तो हेईको बगैँचाको दायाँतिर समुद्रमाथि निर्मित सडकमा गुडेका गाडीले झन् रौनक बढाएको थियो । पर्यटकहरू सालिकभन्दा बढी ती दृश्य हेर्न व्यस्त थिए ।
त्यो ठाउँ शान्त, शीतल, सुन्दर थियो ।
यस्तो रमणीय ठाउँ आँखामा कैद गर्दागर्दै समय बितेको चालै पाइनँ । ५ बजिसकेको हुनाले गार्डको पोसाक लगाएका एकजना अधबैँसे व्यक्ति पार्क बन्द हुन लागेको जानकारी गराउन आए ।
क्रिस्तो हेईको विशाल सालिक, समुद्रको पानीमा देखिने आकाशको सुन्दरता र समुद्रमाथि सडकमा गाडी लहरै गुडिरहेको दृश्य आँखामा कैद गरेर घर फर्केँ ।