site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रहरीले बुझ्यो गृहमन्त्री मुछिएको सूर्यदर्शन सहकारीको साढे तीनहजार पृष्ठको प्रतिवेदन
Sarbottam CementSarbottam Cement

पोखरा । गृहमन्त्री रवि लामिछाने सहकारीमा जोडिएको पहिलो घटना हो, कास्कीको सूर्यदर्शन सहकारी । यही सहकारीमा मुछिएको लामिछानेको नाम देशभरका अन्य सहकारीमा पनि मुछिएको छ ।

तर, उनले सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको छ ।

रूपन्देहीमा त सरकारी वकिलले गरेको अभियोजनमा नै लामिछानेको नाम छ । तर, त्यहाँ भएको भनिएका रवि आफू नभएको उनको प्रष्टोक्ति छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सूर्यदर्शन सहकारीका पीडितले गत माघ २२ गते नै लामिछानेविरुद्ध पूरक उजुरी दिएका थिए । उक्त उजुरीपछि महानगरपालिकाले फेरि अर्को विस्तृत अध्ययन थालनी गरेको थियो ।

झन्डै साढे तीन महिना लगाएर बनाइएको तीन हजार ४१९ पृष्ठको प्रतिवेदन बिहीबार कास्की प्रहरीलाई बुझाइएको छ ।

Global Ime bank

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तृत प्रतिवेदनका नौवटै ठेली कास्की प्रहरीका डीएसपी वसन्त शर्मालाई हस्तान्तरण गरेका हुन् ।

अर्कातर्फ पूर्व डीआईजी छविलाल जोशीको घरमा भेटिएको सहकारीको सफ्टवेयरमाथि सीआईबीले पनि छुट्टै छानबिन गरिरहेको छ । विभागीय मन्त्री मुछिएको सहकारी प्रकरणमा कास्की प्रहरीले चाल्ने कदमलाई पीडितहरूले चासोका साथ हेरिरहेका छन् ।

लामिछाने यस सहकारीमा मुछिएको प्रतिवेदन गत साउनमा नै सार्वजनिक भएको थियो । अहिलेको प्रतिवेदन त्यसैको विस्तृत रूप भएको प्रतिवेदन लेखनमा संलग्न एक अधिकारीले बताए ।

सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ हिनामिनामा ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईसँगै लामिछानेको नाम जोडिएको हो ।

लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक थिए । प्रबन्ध निर्देशकबाट राजीनामा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेका थिए । ग्यालेक्सी टेलिभिजन गोरखा मिडिया नेटवर्क प्रा.लि.ले सञ्चालन गर्दै आएको छ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष हुन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी ‘स्क्याम’ छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा रवि लामिछानेले लिएको भनिएको एक करोड रुपैयाँ पुलेसो (ब्रिज) ऋण गोरखा मिडिया नेटवर्क प्रा.लि.ले पेस्की फर्छ्यौट गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा लामिछानेको नाम एक ठाउँमा मात्र उल्लेख छ । उनले कुन मितिमा ऋण लिएका थिए भन्ने प्रतिवेदनमा भेटिँदैन । उनको नाममा रहेको पुलेसो ऋण गोरखा मिडिया नेटवर्क प्रा.लि.ले तिरेको भन्ने मात्र प्रतिवेदनमा उल्लेख छ ।

“रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरी खाता नं. ४९–००७७० मार्फत पेस्की फर्छ्यौट गरिएको,” प्रतिवेदनमा जनाइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले छानबिन अघि बढाएको थियो ।

कास्की प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय अपचलन मुद्दा अघि बढाउन पोखरा महानगरपालिकासँग अनुसन्धान प्रतिवेदन मागेको थियो ।

अनिल लामिछाने र दिपकप्रकाश आचार्यले २०८० असोज १० गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिका विषयमा विश्लेषणात्मक प्रतिवेदन बुझाएका थिए । 

उनीहरूले प्रतिवेदन तयार पार्दा आर्थिक वर्ष २०७८/२०७९ को संस्थाको प्राप्त लेखा परिक्षण गरिएको वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०७९/२०८० र २०८०/८१ को कारोबारको विवरण, संस्थाको प्राप्त लेखा प्रणालीसँग सम्बन्धित संस्थामा भएका कागजातहरू, पोखरा महानगरपालिका सहकारी शाखासँग भएका संस्थासँग सम्बन्धित कागजातहरू र जिल्ला प्रहरी कार्यलय कास्कीबाट प्राप्त गरेका र उपलब्ध गराएका कागजातहरूको अध्ययन/अनुसन्धान गरेका थिए ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को भदौ २१ गतेसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कारोबार भएको देखिएको थियो ।

अहिलेको प्रतिवेदनमा भने २०७२ साल यतादेखिकै कारोबार, ऋण लिएको दिएको, भुक्तानीसहित व्यक्तिको विवरण समेटिएको छ ।

पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीका अनुसार प्रतिवेदनमा को, कसले, कुनकुन अध्यक्षको पालामा, कति हिनामिना भएको छ भन्ने उल्लेख छ । तिवारी नेतृत्वको समितिले नै यो प्रतिवेदन तयार पारेको हो ।

“भौतिकरूपमा जे जति प्रमाण भेट्यौँ, ती सबैलाई समेटेका छौँ । मुख्य कुरा त पहिले नै आएको हो,” उनले भने ।

गृहमन्त्री लामिछाने मुछिएको विषय पनि प्रतिवेदनमा उल्लेख गरिको उनले बताए । “गोर्खा मिडियालाई गएको भन्ने नै हो । अघिल्लो प्रतिवेदनमा जे थियो, त्यही नै हो । थप चाहिँ हामीले भेटेनौँ,” उनले भने ।

त्यतिबेला लामिछानेले पुलेसो कर्जा लिएर तिरेको, गोर्खा मिडियामा आबद्ध हुँदा नै कारोबार भएको विषय प्रतिवेदनमा समेटिएको उनले बताए ।

सूर्यदर्शन सहकारीबाट पीडित बनेकाहरूले छुट्टै संघर्ष समिति बनाएका छन् । उनीहरूले नै प्रतिवेदन बनाउनेदेखि लिएर दोषीलाई कारबाहीको मागसहित बेलाबेलामा प्रदर्शन पनि गर्दै आएका छन् ।

लामिछानेमाथि पनि उनीहरूले नै पूरक उजुरी दिएका थिए । तर, प्रहरीले त्यतिबेला दर्ता गर्न आनाकानी गरेको थियो भने प्रतिवेदन आएपछि अगाडि बढ्ने बताएको थियो ।

सहकारी संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले भने, “चार महिनापछि बल्ल प्रतिवेदन आएको छ, अब योसँग जोडिएका मान्छेहरूलाई प्रहरी कार्यालयले कसरी अगाडि बढाउँछ, कोकोलाई प्रतिवादी बनाउँछ त्यो भने हेर्न बाँकी छ ।”

सूर्यदर्शन सहकारीका विषयमा प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आईजीपी वसन्त कुँवरले गृहमन्त्री लामिछानेको संलग्नता नरहेको बताएका थिए । आईजीपीको उक्त भनाइपछि बचतकर्ता झनै रुष्ट बनेका छन् । त्यस विषयमा उनीहरूले कास्की प्रहरी प्रमुखलाई पनि भेटेका थिए । तर, उनीहरूले चित्तबुझ्दो जवाफ पाएनन् ।

“हामीलाई शंका गर्ने बाटो खुलेको छ,” श्रेष्ठले भने ।

सरकार परिवर्तन भएपछि प्रहरीमा दबाब बढेको आफूहरूलाई महसुस भएको उनको भनाइ छ । सुरुवाती दिनमा जसरी प्रहरी अगाडि बढेको थियो, पछि त्यो भएन ।

नयाँ प्रतिवेदनमा झनै विस्तृतका साथ उल्लेख गरिएको हुँदा लामिछानेको नाम यहाँ पनि आउने उनले बताए ।

“पुराना प्रतिवेदनमा जोजो मान्छे जोडिनुभएको छ, निश्चय नै नयाँमा पनि जोडिनुहुनेछ, अझ सबुत प्रमाणसहित आउनेछ भन्नेमा हामीले विश्वास लिएका छौँ,” उनले भने ।

कास्की प्रहरीले भने प्रतिवेदन नहेरी केही भन्न नसकिने जानकारी दियो । कास्की प्रहरीका डीएसपी वसन्त शर्माले प्रतिवेदन आफूले बुझेको तर अध्ययन गरी नसकिएको जनाए ।

“अब प्रतिवेदन नहेरी केही भन्न सकिँदैन । प्रतिवेदन अध्ययन गरेपछि नै अरू प्रक्रिया अगाडि बढ्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय