काठमाडौं । शिक्षा, स्वास्थ्य, औसत आयुलगायत अन्य सूचकांकको अन्तिममा भेटिने मधेस सम्झिनासाथ धेरै खेलकुदप्रेमी महिला फुटबल सम्झन्छन् । वा भनौँ, मधेसीका लागि महिला फुटबल खुसी दिने केही माध्यममध्येको एक हो । तर, राष्ट्रिय लिगको छनोट हुन नसकेपछि भने मधेसको सबैभन्दा बलियो क्षेत्र महिला फुटबलको स्तरमा प्रश्न उठेको छ ।
करिब अढाई वर्षपछि राष्ट्रिय महिला लिग आयोजनाको सुर कसेको एन्फाले वैशाख पहिलोदेखि तेस्रो सातासम्म सुर्खेतमा यसको छनोट प्रतियोगिता सम्पन्न गरेको छ ।
सात प्रदेशको सहभागी यस छनोटबाट कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशले शीर्ष तीन स्थानमा रहँदै राष्ट्रिय लिगमा स्थान निश्चित गर्यो । कोसी शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो र कर्णालीले तेस्रो स्थान पक्का गर्दै राष्ट्रिय लिगसम्मको यात्रा तय गर्दा महिला फुटबलको उर्वर भूमि मधेस प्रदेशले भने छनोट पर्खाल तोड्न सकेन । सहभागी सात टिममध्ये चौथो बनेपछि मधेसले राष्ट्रिय लिगमा छनोट हुने अवसर गुमायो ।
मधेसका तीन स्थान बाराको निजगढ, रौतहटको चपुर र सर्लाहीको वाग्मतीमा महिला फुटबल प्रशिक्षण नियमित छ । नेपाली महिला फुटबलको सबैभन्दा गर्बिलो इतिहास बोकेको मधेसबाट अहिले पनि राष्ट्रिय टिममा सात खेलाडी नियमित छन् । यसबाहेक, तीन विभागीय क्लब त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबलाई हेर्ने हो भने सबै मधेसका खेलाडीमा निर्भरजस्तै छन् । महिला फुटबलमा बलियो उपस्थिति रहेको मधेस नै नेपाली टिम र विभागीय टिमको मेरुदण्ड बनेको वास्तविकतालाई प्रमाणित गर्न कारणहरू प्रस्तुत गरिराख्नु पर्ने आवश्यकता देखिँदैन । तर, सुर्खेतमा भएको महिला लिगमा भने मधेसले यो गर्बिलो इतिहासलाई निरन्तरता दिन सकेन ।
छनोटअघि मधेस प्रतियोगिताको सबैभन्दा दाबेदार टोली थियो । नहोस् पनि कसरी, मधेसी चेलीले धेरै पटक विभागीय टिमलाई समेत हराइसकेका थिए । तर, प्रतियोगिता समापन हुँदा मधेसले त्यो दाबेदारीलाई प्रमाणित नै गर्न सकेन ।
प्रतियोगिताका ६ खेल खेल्दा मधेसले तीन खेलमा मात्रै जित निकाल्न सक्यो । चौथो स्थानमा चित्त बुझाएको मधेसले दुई खेलमा हार व्यहोर्दा एक खेलमा बराबरीको नतिजा आत्मसात गरेको थियो ।
“हाम्रो ५–६ जना खेलाडी प्लटू र ब्याचलरको परीक्षाका कारण टिमसँगै जान पाएनन् । एकजना गोलकिपरलाई अन्डरएज भन्दै खेलाउने अनुमति दिइएन । खेल तालिकामा पनि हामीलाई अन्याय भयो,” राष्ट्रिय लिगमा छनोट हुन नसकेपछि मधेसका मुख्य प्रशिक्षक चित्रबहादुर दर्लामीले बाह्रखरीसँग भने ।
चार दिनको प्रशिक्षणपछि सुर्खेत ओर्लिएको मधेसले वाग्मती प्रदेशविरुद्ध खेल्दै छनोटको सुरुआत गरेको थियो । पहिलो खेलमा ४–० को जित निकालेको मधेसले दोस्रो खेलमा भने कर्णाली प्रदेशविरुद्ध १–० को हार व्यहोर्यो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ३–० को हार व्यहोरेको मधेसले चौथो खेलमा गण्डकी प्रदेशविरुद्ध २–० को जित निकालेको थियो ।
पाँचौँ खेलमा कोसी प्रदेशसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको मधेसले छनोटको आफ्नो अन्तिम खेलमा लुम्बिनीविरुद्ध ३–१ को जित निकाल्दै प्रतियोगिताको अन्त्य गरेको थियो ।
अन्तिम खेल टुंग्याउँदा मधेस ६ खेलबाट १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा थियो । मधेसलाई छनोट हुन अन्तिम खेल खेल्न बाँकी रहेको कर्णाली प्रदेशले हार्नुपर्ने समीकरण थियो । तर, अन्तिम खेलमा गण्डकी प्रदेशविरुद्ध २–० को सहज जित निकालेपछि मधेसलाई जिल्याउँदै पहिलोपटक राष्ट्रिय लिगमा स्थान बनायो ।
मधेसका प्रशिक्षक दर्लामी भने आयोजकबाट भएको असमान व्यवहारका कारण आफ्नो टिम पछि परेको दाबी गर्छन् ।
“कर्णालीले हामीभन्दा एकदिन अघि प्रतियोगिताको पहिलो खेल खेलेको थियो । तर, हाम्रो सबै खेल समाप्त भइसक्दा प्रतियोगिताको अन्तिम दिन कर्णालीको खेल थियो । यसबाटै स्पष्ट हुन्छ, तालिकामा हामीलाई असमान व्यवहार गरियो,” दर्लामी भन्छन् ।
अंक तालिका
प्रतियोगिताको शीर्ष स्थानमा कब्जा जमाएको कोसी अपराजित रह्यो । कोसीले ६ खेल खेल्दा पाँचमा जित र एक खेलमा बराबरीको नतिजासहित १६ अंक जोड्यो । समान खेलबाट पाँचमा जित र एक खेलमा हारसहित १५ अंक जोडेको सुदूरपश्चिमले दोस्रो स्थानमा हासिल गर्यो । तेस्रो स्थानको कर्णालीले चार खेलमा जित र दुई खेलमा हारसहित १२ अंक जोड्यो ।
चौथो स्थानको मधेसले नौ अंक जोड्दा पाँचौँ स्थानको गण्डकीले ६, छैटौँ स्थानको लुम्बिनीले तीन अंक जोड्दा प्रतियोगितामा जितविहीन बनेको वाग्मती भने अंकविहीन रह्यो ।