site stats
बाह्रखरी :: Baahrakhari
देश
शनिबारबाट नयाँ मौसमी प्रणाली नेपाल भित्रिदै 
फाइल तस्बिर ।

काठमाडौं । शनिबारदेखि मौसममा केही बदली सुरु हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली भित्रिदा शनिबारबाट बदली हुने भएको हो । पश्चिमी न्यूनचापीय प्रणाली नेपालको पश्चिमी भू–भाग हुँदै नेपाल प्रवेश गर्नेछ । 

“भोलिबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सर्ने देखिएको छ । यो नेपाल आइपुग्दा शनिबार नै हुन्छ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “त्यसैले शनिबारबाट नेपालमा बदली सुरु हुनेछ । तर यसले पनि देशभर ठूलो वर्षा गराउँदैन ।”

उनका अनुसार पहाडी भू–भागमा यो प्रणालीले हल्का वर्षा मात्रै गराउनेछ । त्यसपछि यो प्रणाली कमजोर हुनेछ । पश्चिम र पूर्वी नेपालका पहाडी भू–भागमा हल्का वर्षा गराए पनि पुनः केही दिनमा मौसम पुरानै अवस्थामा फर्किनेछ । 

शुक्रबार भने हिजो र आजभन्दा पनि मौसम ‘क्लियर’ (बदली नहुने) हुनेछ ।  

यसैबीच, पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले राति कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्