काठमाडौं । चितवनको चुरे क्षेत्र झन्डै दुई सातादेखि उकुसमुकुस छ । प्रदूषित सहरको पहिलो नम्बरमा छ, भरतपुर । पछिल्लो २४ घण्टाको औसत वायु प्रदूषणको सूचकांकमा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४९ पुगेको थियो ।
सोमबार अपराह्न १२ बजे यो सूचकांक २७८ पुगेको थियो । स्वास्थ्यका दृष्टिकोणले यो निकै संवेनदशील अवस्था हो । विश्व स्वास्थ्य संगठनले २०१ देखि ३०० सम्मको यूएस एक्यूआईलाई ‘अति अस्वस्थकर’को श्रेणीमा राखेको छ । संगठनको मापदण्डअनुसार वायु स्वस्थकर रहन एक्यूआई ५० सम्म हुनुपर्छ ।
वातावरण विभाग र अन्तर्राष्ट्रिय वायु गुणस्तरको नियामक निकाय आईक्यू एयरको रेकर्डमा यो अंक पछिल्लो झन्डै दुई सातायता उस्तै छ, चितवनमा ।
पर्यटनको राजधानी पोखरा पनि वैशाखयता उच्च प्रदूषित छ । विभागको सूचकांकले पोखराको पछिल्लो २४ घण्टाको एक्यूआई १५७ देखाएको छ, यो ‘अस्वस्थकर’को श्रेणीमा पर्छ ।
वर्षायाममा पोखराको एक्यूआई ४० कट्दैन । सोमबार साँझ ६ बजे भने १६४ एक्यूआईसहित पोखरा देशकै दोस्रो प्रदूषित सहरमा सूचीकृत छ । त्यति मात्र होइन, पोखरामा वायु प्रदूषणकै कारण पटकपटक उडान अवरुद्ध भएको छ ।
विश्वकै प्रदूषित सहरमा पटकपटक एक नम्बरमा परिरहने काठमाडौं उपत्यकाको आकाश पनि चैतयता तुवाँलोले ढाकेको छ । वायुमण्डलमा पिरो हावाको मात्रा उच्च छ । पछिल्लो २४ घण्टाको वायुको गुणस्तर काठमाडौंका विभिन्न स्थानमा एक्यूआई १५३ देखि २१४ सम्म पुगेको विभागको रेकर्ड छ ।
चुरे, तराई र पहाडी क्षेत्रका सयौँ स्थानमा डढेलो उग्र छ । पूर्वको धनकुटादेखि कर्णाली प्रदेशको जुम्ला समेत वायु प्रदूषणको चपेटामा छ । विश्वकै स्वच्छ मानिने राराताल क्षेत्रमा एक्यूआई १३४ पुगेको छ ।
हाल वायु प्रदूषणको मुख्य कारण डढेलो भएको विज्ञको भनाइ छ । डढेलोका कारण वायुमण्डल उकुसमुकुस बनेको छ । चितवनमा चैतयता वैशाख १६ गतेसम्म १७ हजार ५३८ हेक्टर वनमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । समग्र चितवनको वनको त्यो एकतिहाइ क्षेत्र हो ।
यातायात सहजै पुग्ने स्थानमा एकदेखि डेढ घण्टाभित्रै डढेलो निभाउन सकिएको छ । दुर्गम क्षेत्रमा डढेलो नियन्त्रणमा ढिलाइ हुँदा धेरै धुवाँ फैलिइरहेको छ ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेल भन्छन्, “माथिल्लो तहको सुकेको पत्कर र झाडी सहजै जले पनि माटोसँगै रहेका पत्कर र रुखका काँचा हाँगाहरू सजिलै जल्न सकेका छैनन् । यसले थप धुवाँ निकालिरहेको छ ।”
गण्डकी प्रदेशका १०, वाग्मती प्रदेशका अधिकांश जिल्ला र तराई तथा अरू पहाडी वनक्षेत्रमा लागेको डढेलोको धुवाँ हिमालसम्मै पुगेको छ । डढेलो प्रभावित क्षेत्रका स्थानीयमा श्वासप्रश्वास, आँखा, छालालगायत स्वास्थ्यमा असर देखिएको छ ।
“घाँटी खसखस हुने, आँखा पोल्ने, नाक सुक्खा हुनेजस्ता समस्याले समुदायमा अधिकांशलाई बिरामी पारिरहेको छ,” पौडेल भन्छन् ।
गण्डकी प्रदेशमा सोमबारसम्म ४६७ स्थानमा डढेलोको घटना रेकर्ड छ । कास्की, नवलपुर, बागलुङलगायत १० जिल्लामा डढेलो लाग्दा आठ हजार २७७ हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत राजेन्द्रप्रसाद शर्मा बताउँछन् ।
“हिमाली जिल्ला मुस्ताङबाहेक सबैतिर डढेलोले असर पुर्याएको छ । वायु प्रदूषणले जनजीवन कष्टकर बनेको छ । आँखा पोल्ने, नाक पोल्ने, छालामा समस्या देखिन थालेको छ,” अधिकृत शर्माले बाह्रखरीसित भने ।
काठमाडौंका अस्पतालहरूमा आँखा पाक्ने, नाक सुक्खा हुने, दम बढ्नेजस्ता समस्या लिएर आउने बिरामीको संख्या बढेको छ ।
डढेलोको धुवाँ होस् वा सवारीसाधनबाट निस्कने ‘खराब’ ग्यास, यी दुवै स्वास्थ्यका निम्ति अतिघातक हुन्छ । डढेलोबाट समेत कार्बनमनोअक्साइड, नाइट्रोजन डाइअक्साइडजस्ता खराब तत्त्व उत्सर्जन हुने हुँदा त्यो सवारीसाधनबाट निस्कने धुवाँजस्तै घातक हुने वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेको भनाइ छ ।
पीएम २.५ को मात्रा धेरै हुनाले हालको प्रदूषणले स्वास्थ्यमा जोखिम निम्त्याइरहेको उनी बताउँछन् । पीएम २.५ (वायुमा मिसिएका २.५ माइक्रोनभन्दा सूक्ष्म कणहरू) रगतको माध्यमबाट सिधै संवेदनशील आंगहरूसम्म पुग्ने हुँदा अत्यन्तै घातक मानिन्छ ।
नेपाल सरकारले तोकेको पीएम २.५ को मापदण्ड २४ घण्टाका निम्ति ४० माइक्रोग्राम प्रतिघनमिटर हो । तर, सोमबार साँझ यो मात्रा काठमाडौंको वायुमा ७२.८ रहेको विभागकै सूचकांकले देखाउँछ ।
विश्व स्वास्थ्य संगठन र वातावरण विभागले गरेको पछिल्लो अध्ययनानुसार, नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार १०० मानिसको मृत्यु हुने गरेको छ ।