site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘मिलान डर्बी’मा एसी मिलानलाई हराउँदै इन्टरले जित्यो सिरी ‘ए’को उपाधि 

काठमाडौं । चिर–प्रतिद्वन्द्वी एसी मिलानलाई पछि पार्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ । सोमबार भएको खेलमा एसी मिलानलाई २–१ ले पराजित गर्दै इन्टरले २०औँ पटक सिरी ‘ए’ को उपाधि जितेको हो ।

तनावपूर्ण खेलमा इन्टरलाई जित दिलाउन फ्रान्सेस्को असेर्बी र मार्कुस थुरमले गोल गरे । मिलानका फिकायो टोमोरीले एक गोल फर्काएका थिए ।

Argakhachi Cement Island Ad

खेलको इन्जुरी समयमा मिलानका दुई र इन्टरका एक गरी तीन खेलाडीले रातो कार्डको पाएर मैदान छोडेका थिए । मिलानका थियो हर्नान्डेज र डेविड कालाब्रियाले रातो कार्ड पाउँदा इन्टरका डेन्जेल डम्फ्रिजले रातो कार्डको पाएर मैदान छोडेका थिए ।

जितसँगै इन्टरले ३३ खेलबाट ८६ अंक जोड्दै पाँच खेलअगावै घरेलु लिगको उपाधि जितेको हो । इन्टरले दोस्रो स्थानको मिलानलाई १७ अंकले पछि पारेको छ । इन्टरलाई पछ्याइरहेको मिलानले समान खेल खेल्दा ६९ अंक जोडेको छ । 

“म रुँदै गरेको महसुस गरिरहेको छु, किन भने हामीले कठिन मेहनत गरेका थियौँ,” लिगको उपाधि जितेपछि इन्टरका कप्तान लौटारो मार्टिनेजले भने, “हामी यो खुसीयालीको हकदार हौँ ।”

सिरी ‘ए’ को ११६ वर्षे इतिहासमा ‘मिलान डर्बी’बाट लिग विजेताको छिनोफानो भएको यो पहिलो पटक हो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्