site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कतारका अमिर ८० जनाको नेतृत्व गर्दै मंगलबार काठमाडौं आउने, मन्त्री नै १० जना हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउने भएका छन् ।

उनी दुईदिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् ।

“हालसम्म १० जना मन्त्रीसहित ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर नेपाल आउने सूचना प्राप्त भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “अन्तिमसम्म यसमा १०–२० जना तलमाथि हुन सक्छ ।”  

Prabhu Bank
Agni Group
NIC Asia

खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ । 

कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । उनी दुईदिने बंगलादेशको भ्रमणको सिलसिलामा सोमबार ढाका पुग्नेछन् । कतारका अमिरको बंगलादेश भ्रमणको बेला कतार र बंगलादेशबीच ६ वटा सम्झौतापत्र र ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बंगलादेशका मिडियाले उल्लेख गरेका छन् । 

Global Ime bank

मंगलबार बंगलादेशको ढाकाबाट कतारका अमिर थानी काठमाडौं आउनेछन् । कतारका अमिरको नेपाल भ्रमणका समयमा नेपाल र कतारबीच सुरुमा ९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी गरिएको थियो ।

“कतिवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भन्ने अझै टुंगो लागिसकेको छैन । आधा दर्जनभन्दा बढी नै सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

दुई देशबीच कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी, महान्यायाधिवक्ताको कार्यालय र कतारको यस्तै निकायबीच सहकार्य गर्ने समझदारीपत्र, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ । कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको दाबी स्रोतको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी नेपाल आउन लागेका हुन् । कतारका अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

कतारका अमिर थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी वैशाख १२ गते काठमाडौंबाट फर्कने छन् ।

यसअघि कतारका अमिर थानीले गत कार्तिक २० र २१ गते गर्ने भनिएको नेपाल भ्रमण स्थगित गरेका थिए । 

भ्रमणको सम्पूर्ण तयारी सकिएपछि काठमाडौंस्थित कतारको दूतावासले कार्तिक १३ गते परराष्ट्र मन्त्रालयलाई भ्रमण स्थगित गरिएको जानकारी दिएको थियो ।

पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले त्यतिबेला परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको थियो । त्यसपछि अहिले पुनः कतारका अमिर थानीको नेपाल भ्रमण मिति तय गरिएको हो । 

सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो । 

जेठा दाइ शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा थानी उत्तराधिकारी बनेका थिए । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए । उनले सन् २०२२ मा कतारमा फिफा विश्वकपजस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पुर्‍याएका थिए । 

उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए । यिनै कतारका अमिर थानी मंगलबार नेपाल आउन लागेका हुन् । 

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो उस्चस्तरीय भ्रमण हो । कतारबाट मात्र होइन सम्पूर्ण खाडी राष्ट्रहरूबाट नै अहिलेसम्म यति उच्चस्तरमा नेपालमा भ्रमण भएको छैन ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्ष पुगेको छ । यो अवधिमा नेपालबाट कतारमा उच्चस्तरीय भ्रमणहरू भए पनि कतारबाट हुन सकेको थिएन ।

कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालले सन् २००० मा कतारमा आफ्नो दूतावास स्थापना गरेको थियो । कतारले सन् २०११ मा नेपालमा दूतावास खोलेको थियो ।

नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्दै आएका छन् । संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 

नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले २१ मार्च २००५ मा कतार भ्रमण गरी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०११ अक्टोबर १०–१३ सम्म कतारको औपचारिक भ्रमण गरेका थिए ।

यसअघि तत्कालीन श्रममन्त्री रमेश लेखकले सन् २००८ जनवरी २० मा कतारको भ्रमण गरी श्रम सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका थिए । परराष्ट्रमन्त्रीको रूपमा उपेन्द्र यादवले पनि सन् २००९ मार्च १४–१६ सम्म कतारको भ्रमण गरेका थिए । 

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सन् २००८ नोभेम्बर २८ देखि डिसेम्बर ३ सम्म कतारको भ्रमण गरेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सन् २०१४ को मार्चमा कतारको निजी भ्रमण गरेका थिए । परराष्ट्रमन्त्रीको हैसियतमा प्रकाशशरण महतले पनि सन् २०१७ जनवरीमा कतारको भ्रमण गरेका थिए । 

यस्तै, २०७५ कार्तिकमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चारदिने भ्रमण गरेकी थिइन् । कतारबाट भने सन् २०१५ को अप्रिलमा श्रम तथा सामाजिक मामिला मन्त्री अब्दुल्लाह सलेह मुबारक अल–अलखुलाफीले नेपाल भ्रमण गरेका थिए । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले गत मंसिर महिनामा नेपालको भ्रमण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement