
काठमाडौं । काठमाडौंमा तास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३, रानीबारीका ५८ वर्षीय डम्बर लामासहितका व्यक्तिहरू छन् ।
लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (जेठ २४) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ६२ हजार ८०० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कास्कीमा पाँचजना पक्राउ
कास्कीमा पनि तास खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८, सराङकोटका ३४ वर्षीय महेश तिमिल्सिनासहितका व्यक्तिहरू छन् ।
पोखरा–५, प्रस्याङस्थित साथीभाइ खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।
नगद २५ हजार २७५ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।