site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बर्सेनि हिउँद लागेपछि देशका अधिकांश सहरको हावा सासै फेर्न नमिल्ने गरी बिखालु हुन थालेको लामै समय भइसक्यो । राज्यले भने बाक्लो जनसङ्ख्या भएका सहरहरूको वायु प्रदूषणको मात्रा कम गर्न कहिल्यै गम्भीर प्रयास गरेको देखिएको छैन । 

कचौरा आकारको काठमाडौं उपत्यकाको मात्र होइन खुला मैदाने सहर भरतपुर, विराटनगर, वीरगन्ज र तालहरूको सहर भनिने पोखराको समेत वायु प्रदूषणको मात्रा मानव स्वास्थ्यका लागि हानिकारक स्तरमा पुगेको छ । यो जानकारी सबै तहका शासकले पाएका छन् ।

‘अलकापुरी’ मानिने काठमाडौंलाई हिउँदमा विश्वकै प्रदूषित सहर बनाउनमा भूगोल र प्रकृतिको आंशिक भूमिका भए पनि मूलतः शासनको गलत नीति र अकर्मण्यता दोषी देखिन्छ । विकासका नाममा अपनाइएका गलत नीतिकै कारण यहाँको हावा सासै फेर्न नहुने गरी बिखालु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वायु प्रदूषणको मात्रा ५० भन्दा बढी हुनेबित्तिकै जोखिमपूर्ण मानिन्छ । यस्तै १०१ देखि १५० सम्म भएको हावामा सास फेर्दा श्वासप्रश्वास र मुटुका रोगीलाई हानि गर्छ । त्यसभन्दा बढी वायु प्रदूषण भएमा त ‘अति अस्वस्थकर’ मानिन्छ । 

 दुर्भाग्य, नेपालका अधिकांश ठूला सहर‘अति अस्वस्थकर’को कोटीमा परेकाछन् । वातावरण विभागका अनुसार आइतवार बिहान भरतपुरको वायु प्रदूषणको मात्रा २२२, काठमाडौं उपत्यकाका विभिन्न स्थानको ११५ देखि १५३, पोखराको १४० रहेको थियो ।

Global Ime bank

वायु प्रदूषण कम गर्न अपनाउन सकिने उपायहरू अपनाउन भने सबै तहका सरकारहरू सधैँ नै उदासीन रहिआएका छन् । काठमाडौं, भरतपुर, पोखरालगायतका बाक्लो जनसङ्ख्या भएका नगरहरूको हावा नै सास फेर्न नहुने गरी ‘अति अस्वस्थकर’ हुँदा पनि कसैले कतै यसको चर्चासम्म गरेको सुनिएको छैन ।   

यस कोटीको वायु प्रदूषण बालबालिका, बूढापाका र रोगीहरूको लागि प्राण घातक बन्न सक्छ भने  सामान्य स्वस्थ व्यक्तिका निम्ति समेत अस्वस्थकर हुन्छ । यसैले यो जनस्वाथ्यको लागि सङ्कटकालीन अवस्था हो । यसबाट हुने हानि दीर्घकालीन र अपूरणीय हुन्छ ।

भूगोल बदल्न सकिँदैन । वर्षा र हावा हुरी पनि सरकारको नियन्त्रणमा हुँदैन । यद्यपि, कृत्रिम वर्षा वा हुरीको प्रयोग विश्वका विभिन्न स्थानमा भइसकेको छ । तर, नेपालको आर्थिक प्राविधिक क्षमताका आधारमा काठमाडौं उपत्यकालगायतका सहरमा भने वायु प्रदूषण नियन्त्रण गर्न सजिलै सकिने उपाय अपनाउनुपर्छ ।

उपत्यकालगायत ठूला सहरको हावालाई सवारी साधन र कलकारखानाबाट निस्कने प्रदूषित धुवाँ, धुलो, डँडेलो र घुर्‍यान् डडाउँदा निस्केको धुवाँ, दक्षिणबाट आउने प्रदूषित हावा आदिले बिखालु बनाएका हुन् । पानी नपरेको र हावाहुरी नचलेका कारणले पनि बिखालु हावा जमेर बसेको हुन्छ ।

पानी पार्न र हावा चलाउन नसके पनि राज्यले चाहने हो भने वायु प्रदूषणका अरू कारकहरूलाई नियन्त्रण गर्न खासै मुस्किल हुनेछैन । सार्वजनिक यातायातका सेवा र सुविधा बढाएर निजी सवारी साधनलाई हतोत्साही गर्ने नीति लिइएमा प्रदूषणको ठूलो स्रोत बन्द हुनेछ । 

यस्तै, कारखानाहरूलाई आवश्यक बिजुली निर्बाध पाउने वातावरण बनाउन सके तिनले गर्ने प्रदूषणको मात्रा घट्नेछ । डँडेलो लगाउन नदिन कडाइ गर्ने र फोहोर पोल्नेदेखि अरू धुवाँले हुने हानिका बारेमा जनचेतना जगाएर रोकथाम गर्ने हो भने वायु प्रदूषण पक्कै कम हुनेछ । यस्तै, निर्माणस्थलबाट हुने धुलो नियन्त्रणले पनि प्रदूषण कम गर्नेछ ।

खाँचो भने शासकहरूमा जनताप्रतिको उत्तरदायित्व बोधको देखिन्छ । यस्ता, सामान्य उपाय अपनाउन कुनै कानुन संशोधन गर्न, विदेशबाट अनुदान माग्न वा अदालतको आदेश पर्खन पक्कै पर्दैन । राजनीतिक नेतृत्वमा इच्छाशक्ति हुने र कानुन कार्यान्वयनकर्ताहरू इमानदार हुने हो भने यी उपायहरू सजिलै अपनाउन सकिन्छ । के कुनै तहका शासकहरूले जनताको स्वास्थ्यप्रति गम्भीरता देखाउलान् ?


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement