site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पृथ्वीको अन्तिम छेउमा उभिँदा
Sarbottam CementSarbottam Cement

पोर्चुगलको राजधानी लिस्बोन नजिकै रहेको सानो सहर क्यास्काइसमा छौँ । त्यहाँ अवस्थित चल्तीको नेपाली रेस्टुरेन्टमा बसेर नेपाल सम्झिरहेका छौँ । रेस्टुरेन्टको तातो पिरो स्वादिष्ट नेपाली मोमो खाँदै गर्दा भतिज रञ्जकले “पृथ्वीको अन्तिम छेउ जाऊँ अङ्कल” भनेर कुरा निकाल्यो ।

“यहाँबाट कति टाढा छ भतिज ?” म सोध्छु ।

“ट्याक्सीमा करिब आधा घण्टा लाग्ला ।” रञ्जकले भन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

पृथ्वीको अन्तिम छेउका बारेमा सुन्ने बित्तिकै त्यहाँ पुग्न मनले बुर्कुसी मारिहाल्यो । त्यहाँ पुग्नका लागि सञ्जु हतारिइन् । भतिजी रुजाले पनि जाने इच्छा व्यक्त गरिन् । मेरो मनको एक छेउमा पृथ्वीको अन्तिम छेउको कुराले हलचल ल्याइसकेको थियो । मनमा अनेकन् जिज्ञासा उत्पन्न गराइहाल्यो । कस्तो होला पृथ्वीको अन्तिम छेउ ? अन्तिम छेउबाट के के देखिँदो हो ? मनमा सलबलाए उत्सुकताहरू ।

विरलै प्राप्त हुने त्यस्तो दुर्लभ अवसरलाई सदुपयोग गर्न चाहन्थेँ म । ढिला गर्ने कुरै थिएन । तुरुन्तै ट्याक्सी लिएर हुइँकिन्छौँ ‘काबो दा रोका’ तिर । पोर्चुगिज भाषाको यस नामलाई अङ्ग्रेजहरूले ‘केप रोका’ भन्दा रहेछन् ।

Global Ime bank

लिस्बोन नजिकै रहेको सानो सहर क्यास्काइसको बजार हुँदै ट्याक्सी गुडिरहेको छ । बजार छाडेपछि गाउँतिर प्रवेश गर्छ ट्याक्सी । समथर जमिनमा बनेका चिल्ला बाटामा देखिरहेछु पोर्चुगलका ससाना गाउँहरू । बिजुली र सडक पाएर उज्यालो अनुहार लगाएर बसेका छन् भाग्यमानी गाउँहरू । सहरमा प्राप्त हुने सुविधाहरू भएको यस्तो गाउँमा बसाइँ सरिहालूँ जस्तो लाग्छ । लागेर के गर्नु ! आकाशको फल आँखा तरी मर !

ट्याक्सी गुडिरहेको समथर बाटो उक्लिन थाल्छ पहाडतर्फ । पहाडी बाटोमा दौडिरहेछ ट्याक्सी । यसले पार गर्दै जान थाल्यो थुप्रै घुम्तीहरू । घरान धनकुटा बाटोको घुम्तीहरूको झझल्को दिँदा एकैछिन नेपालतिर पुर्याउँछ मेरो मनलाई ।

घरी पहाडलाई साथी बनाएर दौडिन्छ ट्याक्सी । घरी समुद्रलाई छिमेकी बनाएर ट्याक्सी बतासिन्छ । पहाडैपहाड बेस्सरी कुदिरहेको छ ट्याक्सी । ट्याक्सीमा यात्रा गरिरहँदा आफूले कार चलाएको सम्झन्छु । कति आफैँ मात्र कार दौडाएर अफिस जानु ? घुमघाममा निस्कनु ? कति परिवारका सदस्यहरू र साथीहरूलाई बोकेर लामो यात्रामा दौडनु ? कहिलेकाहीँ त अरूले चलाएको आरामदायी कारमा बसेर यात्रा गर्न पाइयोस् न जस्तो लाग्थ्यो ।

जापानमा प्रकाश पौडेल ‘माइला’ले टोकियोबाट हिरोशिमा गाडीमा पुर्याएको सम्झन्छु । केही समयपछि छोटो दूरीको भए पनि त्यस्तो चाहना पूरा भएको छ अहिले । अरूले चलाएको कारबाट दृश्यावलोकन गर्दै जाँदा प्राप्त भएको बेग्लै आनन्दमा रमाइरहेको  छु ।

ससाना सुन्दर पहाडहरू समुद्रको एकदम नजिकमा देख्छु । देख्छु समुद्र र फुच्चे पहाडको मित्रता । उज्यालो दिन छ । गर्मी उस्तै छ । सूर्यको उज्यालोमा खुलेको छ पहाड । हाँसिरहेको छ समुद्र । लजाएजस्तो देख्छु हरियाली । एउटा अद्भुत कोलाज बन्छ मनभित्र ।

करिब पच्चिस मिनेट दौडेको ट्याक्सीले पुर्‍यायो हामीलाई गन्तव्यमा । समुद्रको किनारा नजिक रहेको कार पार्कमा रोकिन्छ ट्याक्सी । ट्याक्सीबाट बाहिर निस्कनासाथ समुद्री बास्ना बोकेको हावाले हार्दिकतासाथ स्वागत गर्यो ।

एटलान्टिक महासागरको समुद्री तटमा रहेको काबो दा रोका राजधानी लिस्बोनबाट उत्तर पश्चिममा पो पर्दो रहेछ । नियालेर हेर्छु, पोर्चुगलको एकदम लोकप्रिय सिन्ट्रा नेसनल पार्कको छेउमा रहेछौँ हामी ।

कार पार्कबाट एकदम नजिक रहेको एटलान्टिक महासागरको किनारातर्फ लम्किन्छौँ । थुप्रै अवलोकनकर्ताहरू पनि त्यतै गइरहेका छन् । समुद्र किनारा छेउमा ठडिएको देख्छु एउटा अग्लो स्तम्भ ।

हामी स्तम्भको फेदैमा पुगेका छौँ । स्तम्भको छेउमा थुप्रै जिज्ञासु आँखाहरू यात्रारत छन् ।

स्तम्भ वरिपरिका घाँसे चौर हरियालीको संसारमा मग्न छ । चौरमा ठाउँठाउँमा फुलेका छन् वनफूलहरू । वनफूलका बास्ना समुद्रको हावाले बोकेर कता लगे कता ! ती फूलहरू हामीसँग मुस्कान साट्न बसेका देख्छु । वनफूलहरू हेरेर म पनि मुस्कुराउँछ फूल जस्तै मुसुक्क ।

“यही स्तम्भ हो पोर्चुगलको अन्तिम भूभाग ।” अग्लो स्तम्भलाई हातले समाएर रञ्जकले भन्यो ।

स्तम्भमा नजर लगाउँछु । ढुङ्गाको अग्लो स्मारकको सबैभन्दा माथि क्रिस्चियन धर्मावलम्बीहरूको धार्मिक चिह्न ‘क्रस’ बनाइएको एउटा ठुलो संरचना देख्छु । यस स्तम्भमा किन धार्मिक चिह्न राखेका होलान् भनेर अनेक तर्क गर्छु । हिन्दुहरूले स्थान र अवसर मिल्ने बित्तिकै त्रिशूल बनाएर राखेजस्तै पो हो कि ? वा जिसस क्राइस्टले रक्षा गरुन् भन्ने अपेक्षा हो ? अथवा यो क्रिस्चियनहरूको भूमि हो भन्ने अर्थ हो ?

अर्थ र उद्देश्य जे भए पनि क्रिस्चियन धर्मावलम्बीको उक्त चिह्नप्रति मेरो कुनै विरोध छैन । त्यसप्रति मेरो पनि सम्मान छ । अरूको धर्मलाई सम्मान गर्नु नै सबैभन्दा ठुलो धर्म हो ।

जर्मन दार्शनिक नित्सेले ईश्वरको मृत्यु भएको घोषणा गरेको धेरै भइसकेको छ । ईश्वरको अस्तित्व स्वीकार नगर्नेहरूको सङ्ख्या दिन–प्रतिदिन बढिरहेको छ । परापूर्वकालदेखि अहिलेको उत्तरआधुनिक समयमा पनि मानिसहरू धर्मको नाममा लडाइँ र मारकाट गरिरहेको देखेर छक्क पर्छु । अरू धर्म मान्नेलाई मार्नु भनेर संसारको कुनै पनि धर्मग्रन्थमा लेखिएको छैन । तर धर्मका नाममा युद्ध गरेको समाचार बेलाबेला टिभीमा देख्छु । धर्मको नाममा मानिस मार्नुभन्दा ठुलो पाप संसारमा अरू केही छैन । ‘हे धर्मान्धहरूहो, धर्मको नाम लिएर धर्मलाई नै बदनाम गर्ने युद्धहरू बन्द गर त !’ –मेरा कुरा सुनुन् वा नसुनुन् ! मेरो हृदयको आवाज बोलेँ त !

स्तम्भमा कुँदिएका अक्षरहरू पढ्ने प्रयास गर्छु । सबैभन्दा मुनि यस स्थानको उचाइ, अक्षांश र देशान्तर कुँदिएको छ । त्यसभन्दा माथि कुँदिएको छ प्रसिद्ध पोर्चुगिज कवि लुइस वाज डे कामोसको कविताको सानो पङ्क्ति । जसको नेपाली अनुवाद हुन्छ, “यहाँ... जहाँ भूमि समाप्त हुन्छ र समुद्र सुरु हुन्छ... ।”

‘हो, म जमिन सकिएर समुद्र सुरु भएको स्थानमा उभिएको छु । पढ्दापढ्दै सकिएको कविताको अन्तिम अक्षरमा छु । आजको यात्राको अन्तिम स्थलको अवलोकन गर्दै छु ।’ –शिलामा कुँदिएर अमर बनेका कवि र उनको कवितांशलाई स्मृतिको अन्तिम कुनामा राखेपछि बोलेथेँ ।

वास्तवमा लुइस महान् र भाग्यमानी कवि हुन् । उनी अमर कवि हुन् । उनीसँगै उनको कविता पनि अमर बनेको छ । यस स्थानमा कवि र कवितालाई बर्सेनि संसारभरका लाखौँ अवलोकनकर्ताहरूले पढिरहेका छन् । उनको नाम स्मरण गरिरहेका छन् । मैलै पनि त कहिल्यै नसुनेको कविको नाम यहीँ पुगेर थाहा पाएँ । अब म उनलाई कहाँ बिर्सन्छु होला र ? –ती कवि र कवितालाई आदरभाव खन्याउँदै मनमनै बोल्छु ।

कविले कविताको सिर्जना गर्दैनन् । तिनले आफ्नो हृदयको चोखो आवाज मात्र व्यक्त गर्छन् । थोरै शब्दमा कवितामार्फत सुख, दुःख र विद्रोहको आवाजलाई अथाह रूपमा व्याख्या गर्छन् कविले । कवि नै त प्रतिविम्बित हुन्छन् नि कवितामा पनि । त्यसैले त कवि र कविता दुवै बाँच्छन् युगयुगसम्म ।

कविता त यस्तो लेखियोस् कि छोटो आयु भएको कागजको पानामा होइन लामो आयु भएको ढुङ्गामा खोपियोस् । मानिसको स्मृतिमा सुनौलो अक्षर बनेर चम्कियोस् । हुन त यस्ता भाग्यमानी र शक्तिशाली कविहरू विरलै हुन्छन् । ढुङ्गामा नखोपिए पनि पाठकको मनमा गढ्ने कविता लेखियोस् । कागजका पानामा लेखिए पनि अमर रहुन् कवि र कविता । अनि मात्र हुन्छ कविता लेख्नुको सार्थकता । मभित्र सुषुप्त अवस्थामा रहेको कवि मन बोल्छ । कुन दिन लेख्न सकुँला नि मैले पनि त्यस्ता कालजयी कविता ?

काबो दा रोका लेखेको स्तम्भको छेउमै कम्मरसम्म आउने ढुङ्गाको पर्खाल लगाइएको छ । पर्खालमा समाएर एटलान्टिक महासागरलाई चियाउँछु । पर्खालको अर्कोपट्टि एटलान्टिक महासागर लमतन्न परेर सुतेको छ । एटलान्टिक महासागरबाट आएको समुद्री हावाले मलाई स्पर्श गर्छन् र नाच्छन् मेरो शिरका केशहरू समुद्रको बैँसालु हावासँग । सम्झन्छु टर्किस लोकोक्ति, ‘पृथ्वीको कान छ, हावाको आवाज छ ।’ यति बेला पृथ्वीको कानमा हावाले आवाज पुर्याइरहेको देख्छु ।

एटलान्टिक महासागर म उभिएको टाउँबाट एक सय चालिस मिटर तल छ । ‘एक्रोफोबिया’ अर्थात् उचाइको डर हुनेको सातो जाने रहेछ । मलाई एक्रोफोबिया छ कि क्या हो ? एकदम डर उत्पन्न भयो । मैले समाएको पर्खाल भत्कियो भने ? मैले टेकेको धरतीमा पैह्रो गयो भने ? मनमा त्रासको महासागर छचल्कियो । धत्, म पनि कस्तो ! तत्कालै घट्न नसक्ने घटनाको कल्पना गरेर त्यसै डरलाई मनमा भित्र्याएछु ।

यहीँ उभिएको बेला आफूलाई नियालेर हेर्छु । मैले त महासागरको किनारा र जमिनको अन्तिम स्थानमा पो टेकेको रहेछु । यही त हो नि युरोपको अन्तिम सिमाना । युरोपको सबैभन्दा पश्चिम बिन्दु यही हो । यहाँबाट अर्को छेउमा भेटिने धरती भनेको अमेरिकाको भूमि हो । यी दुई धरतीका बिचमा विशाल एटलान्टिक महासागरको पानी छ । हाम्रो आँखाले मात्र होइन सामान्य दुर्बिनले पनि अर्को छेउ देखिँदैन । यस्तो ठाउँमा उभिँदा धरतीको अन्तिम स्थान यही हो जस्तो भ्रम हुँदो रहेछ । म धरतीको अन्तिम स्थानमा उभिएको कल्पना गर्छु । कल्पिँदाकल्पिँदै अर्को छेउका कहाँनिर होला ? कति टाढा होला ? कल्पनामा पनि भेट्टाउँदिनँ ।

हरदम हावा बहने युरोपको सबैभन्दा पश्चिमको अन्तिम बिन्दु यस ठाउँलाई पन्ध्रौँ शताब्दीसम्म संसारको अन्तिम छेउ हो भनेर मानिएछ । त्यस बेलासम्म केही व्यक्ति, समूह र चर्चका पादरीहरूमा पृथ्वी चेप्टो छ भन्ने मान्यता थियो । प्रविधिको राम्ररी विकास नभएको र सारा संसारको नाप नक्साङ्कन हुन बाँकी नै रहेकाले भूगोलको सीमित जानकारीको आधारमा त्यसो भनिएको हुन सक्छ ।

उति बेला पृथ्वीको अन्तिम छेउ भनिएकाले अहिले पनि सोही नाममा रमाएको छ काबो दा रोका । यही नाममा पर्यटन प्रवद्र्धन भइरहेको छ । पर्यटकहरू यही कुरा सुनेर यहाँ आउँछन् । मलाई थाहा छ पृथ्वी गोलाकार छ । गोलाकार वस्तुको अन्तिम वा सुरुवात बिन्दु कहीँ पनि हुँदैन । कसरी पृथ्वीको अन्तिम छेउ भनेर व्यापार गरेका रहेछन् भनेर थाहा पाउनका लागि पूर्व योजनाविना यात्रामा निस्केको थिएँ ।

काबो दा रोकाको इतिहास खोज्छु । भेट्याउँछु केही तथ्यहरू । सत्रौँ शताब्दीमा काबो दा रोका एक सुरक्षा किल्ला रहेछ । यहाँबाट जलमार्ग हुँदै लिस्बोन सहर प्रवेश गर्ने जहाजहरूको सुरक्षा र निगरानी गरिँदो रहेछ । विशेष गरी युद्धको समयमा तटको रक्षाका लागि यस स्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको रहेछ । रणनैतिक हिसाबले महत्वपूर्ण लिस्बोन सहरको प्रवेशद्वारका रूपमा रहेको स्थानमा पाइला चालिरहेको छु । आँखा दौडिरहेछन् पर निकै परसम्म ।

लामो दिन छ । घाम अस्ताउने बेला भएकै छैन । काबो दा रोकाबाट देखिने सूर्यास्तको दृश्य हेर्नका लागि पर्यटकहरू आउने क्रम जारी छ । समुद्रमा डुब्ने घामको दृश्य यहीँबाट बडो गजबको देखिँदो रहेछ । पानीमा सुनौलो प्रकाश छर्दै लुप्त हुने सूर्य हेर्नका लागि यो एकदम सुरम्य स्थान रहेछ । हामी फर्केर लिस्बोनमा रहेको होटलमा पुग्नुपर्ने अनि रञ्जक र रुजा पनि बेलैमा घर जानुपर्ने भएकाले सूर्यास्त हुन्जेल पर्खन सकिएन । समयले साथ नदिए पनि चट्टानी समुद्री तटमा समुद्रको छालको गडगडाहट सुन्दै गुलाबी आकाश हेरेको कल्पना गर्छु । सूर्यास्त हुँदा देखिने दृश्यको चित्र मनमा बनाउँछु । कल्पनाको सप्तरङ्गी आनन्दमा एकछिन रमाउँछु ।

पोर्चुगललाई समुद्रले खुब साथ दिएको छ । यहाँ लामा लामा समुद्री तटहरू छन् । पोर्चुगलका आश्चर्यजनक तटीय दृश्यहरू, अद्भुत ठाडो चट्टाने भिर र सुरम्य समुद्रका लागि प्रसिद्ध छ । युरोपमा होलिडे मनाउनेहरूका लागि प्रमुख गन्तव्य हो पोर्चुगल । त्यसमध्येको प्रमुख स्थल हो काबो दा रोका । विश्वासै गर्न नसकिने यहाँको दृश्य हेर्न थुप्रै पर्यटकहरू आउने कुराको प्रमाण यहाँ देखिएको भिड हुन् ।

यस ठाउँलाई टेकेर मानिसहरू ट्रेकिङ जाँदा रहेछन् । पछाडि झोला भिरेर हातमा लट्ठी लिएका मानिसहरूको समूह अलिक परबाट हिँडिरहेको देख्छु । समय भए त म पनि जान्थेँ । मनमा एउटा रहर उमार्छु र रहरलाई तत्कालै दबाउँछु ।

काबो दा रोकाबाट अलिक पर एटलान्टिक समुद्रकै किनारामा वैज्ञानिकहरूले केही वर्षअगि डाइनोसरको पैतालाको निसानी फेला पारेका थिए । त्यसलाई अवलोकन गर्न पर्यटकहरू जाँदा रहेछन् । समयको अभाव र थकाइका कारण धेरै पैदल यात्रा गर्ने जाँगर चलेन । डाइनोसरको निसानी हेर्न छुटेकोमा थकथक लागिरह्यो । मौका परे अर्को पटक आएको बेला हेरौँला भनेर चित्त बुझाउँछु ।

मेरो नजर काबो दा रोका वरपर दौडिरहेका छन् । विकासको नाममा यहाँ पक्की सडक, पानी, बिजुली आदि पुगेको देख्छु । यहाँको प्राकृतिक सौन्दर्यलाई जोगाउनका लागि त होला नि भौतिक संरचना खासै बनेको देखिएन । सीमित रेस्टुरेन्ट, केही सरकारी भवन र लाइट हाउस आदि छन् ।

अचानक मेरो मनले एटलान्टिक महासागरको पानी स्पर्श गर्न मलाई घच्यायो । यात्रा दलका सदस्यहरूलाई मलाई साथ दिन भन्छु । सञ्जु, रुजा र रञ्जकले मेरो प्रस्तावमा सहमति जनाए ।

हामी एउटा घाँसेचौरमा बनेको गोरेटोमा पाइला चाल्छौँ । विविध वनस्पति छन् छेउछाउमा । चौरभरि ठाउँठाउँमा पहेँला, सेता र राता रङ्गका वनफूलहरू फुलेका छन् । समथर चौर सकिएर भिरालो सुरु हुन्छ । एक्कासि चौर सकिएर समुद्रको किनारा आउँछ । समुद्र छ तल । निकै तल । बिस्तारै तल उत्रिन्छु । गड्गडाउँदो समुद्रको लहर सुन्छु । एटलान्टिक महासागरबाट आएको हावाको तीव्र वेगले लडाउला कि भन्ने डर लाग्छ । तल पानीको छेउमा समुद्री पक्षीहरूको हल्ला सुन्छु । देख्छु शान्तसँग बसेका केही प्रवासी पक्षीहरू । माछाहरूको अवस्था के छ थाहा पाउँदिनँ ।

म तलै पुगेर समुद्रको पानी स्पर्श गर्न चाहन्थेँ । समयको कारणले जान सकिनँ । यहीँ डिलमा बस्छु एकछिन । तल समुद्र किनारामा रहेको बालुवा समुद्रको पानीमा स्नान गरिरहेको दृश्य आनन्द मानेर हेर्छु । समुद्रको पानी छचल्किएर आउँदा पखालिने किनाराको चट्टानलाई नियाल्छु । केही अवलोकनकर्ताहरू पानी स्पर्श गर्न तल झर्दै गरेको देख्छु । देख्छु अलिक पर समुद्रको पानीमा केही मालवाहक जहाजहरू । के कस्ता सामान बोकेर कता गइरहेका होलान् ती जहाजहरू ? पर्यटक बोक्ने पानीजहाजचाहिँ देख्दिनँ ।

हामी फर्केर काबो दा रोका स्तम्भ भएको ठाउँमा आइपुग्छौँ । फेरि चियाउँछु समुद्रको पल्लो किनारा । एटलान्टिक महासागरको एक छेउमा उभिएर एटलान्टिक महासागरको अर्को छेउको स्थानलाई मनको आँखाले हेर्ने प्रयत्न गर्छु । पोर्चुगलको काबो दा रोकादेखि पारिपट्टि अमेरिकाको न्युयोर्कसम्मको पाँच हजार तीन सय नब्बे किलोमिटर दुरी जलयात्रा र हवाईयात्रा नगरी मनको यात्रा गरेर क्षणभरमै पुग्छु ।

“जलमार्ग हुँदै सिधै गए कति दिनमा पुगिएला अमेरिका ?” सञ्जुको जिज्ञासा थियो ।

काबो दा रोकामा एकदम रमायौँ हामी । अद्भुत ठाउँमा पाइला टेक्न पाउँदा एटलान्टिक महासागरभन्दा विशाल भएर फैलियो मनको खुसी । मनमा छचल्कियो समुद्रको छाल जस्तै सन्तुष्टिहरू बेस्सरी । कोबा दा रोकाका स्मृतिहरू मस्तिष्कमा सुरक्षित रूपमा भण्डार भए । आनन्दको संवेगले सुमसुम्याइरह्यो मलाई निकैबेर ।

हेर्न, बुझ्न र रम्न केही बाँकी रहेन । त्यसपछि चालिस किलोमिटर टाढा रहेको लिस्बोन सहर फर्कनका लागि फेरि ट्याक्सी चढ्छौँ । हुइँकिन्छ ट्याक्सी अगि आएकै बाटोमा । मन घरी एटलान्टिक महासागरमा पौडी खेल्छ । घरी बुर्कुसी मार्छ पहाडमा । आँखाले खुब आनन्द माने नागबेली घुम्तीहरूमा ।

घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन  बाँधिए माया फेरि, गाह्रो हुन्छ फुकाउन ... ...

काबो दा रोकाले लगाएको माया बोकेर घुम्तीमा पुगेपछि मनभित्र गुनगुनाउँछु रत्नशमशेर थापाको गीत ।

(हालै सार्वजनिक ‘युङफ्राउ’ नियात्रासंग्रहबाट)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement