site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानी सम्मेलनमा आठ खर्बका २१ परियोजना– चितवनसम्म दुई खर्बको एक्सप्रेस हाइवे प्रस्ताव 

काठमाडौं । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाको विस्तृत विवरण तयार पारिरहेको छ ।  सम्मेलनमा प्रस्तुत गर्न हालसम्म १४६ भन्दा बढी परियोजना तय गरिएको छ । तीमध्ये हालसम्म २१ परियोजनाको लागतसहितको विवरण तयार भएको लगानी बोर्डले जनाएको छ ।

थप परियोजनाको लागत मूल्यांकन भइरहेको जानकारी बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्न उपाध्यायले दिए । अनुमानित लागत तय भएका यी परियोजनाहरू करोडदेखि खर्बसम्मका छन् ।

नौ हाइड्रोपावर र एक वायु उर्जा

Dabur Nepal
NIC Asia

२१ परियोजनामध्ये नौ वटा हाइड्रोपावर अर्थात् जलविद्युत आयोजना छन् । सबैभन्दा ठूलो एक हजार २१६ मेगावाटको खिम्ती ठोसे शिवालय स्टोरेज जलविद्युत आयोजना छ । यसको लागत अनुमान दुई खर्ब ३१ अर्ब छ ।

दोस्रोमा ६५० मेगावाट क्षमताको कालीगण्डकी–२ स्टोरेज जलविद्युत आयोजना छ । यसको लागत अनुमान एक खर्ब ३३ अर्ब २१ करोड ३० लाख रुपैयाँ छ ।

तेस्रोमा ३७७.१ मेगावाटको भारभुङ स्टोरेज जलविद्युत आयोजना छ । यसको लागत ८० अर्ब १२ करोड रुपैयाँ प्रस्तावित छ । २१८ मेगावाटको नौमुरे मल्टीपर्पज परियोजनाको लागत ९२ अर्ब रुपैयाँ छ ।

६१.०२ मेगावाटको १४ अर्ब ७० करोड लागत रहेको हुम्ला कर्णाली जलविद्युत आयोजना पनि सम्मेलनमा प्रस्तुत हुँदैछ ।

यस्तै, ५३.८५ मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना पनि प्रस्तावित छ । ४०.०२ मेगावाटको टोम दोगर बूढीगण्डकी जलविद्युत आयोजनाको लागत ९ अर्ब ८० करोड ४० रुपैयाँ छ । ३४.९३ मेगावाट क्षमताको सुपर बूढीगण्डकी जलविद्युत आयोजनाको लागत ७ अर्ब ३४ करोड छ ।

यस्तै, लगानी सम्मेलनमा प्रस्तुत गरिने ३० मेगावाटको कवाडी खोला जलविद्युत आयोजनाको लागत ६ अर्ब ४१ करोड रुपैयाँ छ । १० मेगावाटको कर्णाली–चिसापानी वायु उर्जा आयोजनाको लागत १४ अर्ब ७३ करोड रुपैयाँ छ ।

सुदूरपश्चिममा सार्वजनिक यातायात र खप्तडमा केबलकार 

लगानी सम्मेलनमा प्रस्तुत गर्न सुदूरपश्चिम सार्वजनिक यातायात प्रोजेक्ट पनि छ । यसको लागत अनुमान ३१ अर्ब १३ करोड रुपैयाँ छ । 

खप्तड राष्ट्रिय निकुञ्जअन्तर्गत एकीकृत विकास परियोजनामा चार साना योजना छन् । जसमा पाँच अर्ब ४० करोड रुपैयाँ लागतको केबलकार, ५१ करोड ९० लाखको हाइ इन्ड रिसोर्ट एवं आवास योजना छ । 

यस्तै, एकीकृत विकास परियोजनामा ८४ करोडको ट्रेल सुधार र १५ करोड लागतको इन्टिग्रेटिभ सेन्टर निर्माण योजना छ । यस्तै, कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रमा आठ अर्ब ६२ करोड ८० लाख रुपैयाँ लागत प्रस्ताव पनि लगानी सम्मेलनमा प्रस्तुत हुँदैछ ।

दुई खर्बको एक्सप्रेस हाइवे

लगानी सम्मेलनमा चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस हाइवे निर्माण योजना पनि प्रस्तुत हुने भएको छ । यसको लागत अनुमान दुई खर्ब २१ अर्ब रुपैयाँ छ । बोर्डका अनुसार सम्मेलनमा १० अर्ब २० करोडको लागतमा बबरमहल प्रशासनिक प्लाजाको निर्माण एवं विकास योजना पनि प्रस्तुत हुनेछ ।

तीन अर्ब ७१ करोड ६० लाखको पोखरा अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टर (पीआईसीसी) निर्माण योजना पनि रहेको छ ।

दुई अर्ब ३५ करोडमा जनकपुरमा जानकारी हेरिटेज होटेल एन्ड कल्चरल भिलेज बनाउने योजना छ । ११ अर्ब रुपैयाँ लागतका धुलिखेल मेडिसिटी परियोजना पनि छ । यस्तै, दुई अर्ब ४५ करोड रुपैयाँ महादेव खोलामा जलाशय निर्माण योजना पनि लागनी सम्मेलनमा प्रस्तुत हुँदैछ । 

पाँचखालमा विशेष आर्थिक क्षेत्रका लागि एक अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान तय गरिएको छ ।  यस्तै, ९८ करोड रुपैयाँको हाइ इन्ड रिसोर्टको योजना पनि लगानी सम्मेलनमा प्रस्तुत हुने भएको छ । यसरी कुल आठ खर्ब ९१ अर्ब १५ करोड रुपैयाँ बराबरका यी २१ योजना लगानी सम्मेलनमा प्रस्तुत हुँदैछन् ।

वैशाख १६ र १७ गते काठमाडौंमा हुने सम्मेलनका लागि बोर्डले विभिन्न देशका उद्यमी, लगानीकर्ता एवं अन्य प्रतिनिधिहरू निमन्त्रणा पठाएको छ । ९ सयभन्दा बढीलाई निमन्त्रणा पठाइएकामा धेरैले स्वीकारेर उपस्थित हुने जवाफ फर्काएको बोर्डले जनाएको छ ।

यीमध्ये प्राथमिकता र मापदण्डअनुसार तलमाथि भएर कुनै परियोजना लगानी सम्मेलनमा प्रस्तुत नहुन पनि सक्ने प्रवक्ता उपाध्यायले बताए । हरेक परियोजनाको लागत अनुमान पनि केही तलमाथि हुन सक्ने उनको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro