site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ईभीको आक्रामक विस्तारको वर्ष– निजी, सार्वजनिकदेखि ढुवानीसम्मै 

काठमाडौं । वर्षको अन्तिम अर्थात् २०८० साल सकिएर २०८१ लाग्दा विगत एक वर्षको अवधिमा नेपालमा विद्युतीय सवारी (ईभी) को विस्तार तिव्ररुपमा बढेको देखिन्छ ।

चालु आर्थिक वर्ष २०८०–०८१ को फागुन मसान्तसम्म (आठ महिनामै) नेपालमा ६ हजार ४३५ विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागका अनुसार यो जीप, कार तथा भ्यानको तथ्यांक मात्रै हो ।

सार्वजनिक अथवा यात्रु बोक्ने ठूला विद्युतीय गाडीको आयात समेत यसवर्ष बढेको छ । विद्युतीय दुई पाङ्ग्रेमा केही मोटरसाइकल र धेरै स्कुटरका ब्रान्ड नेपाल भित्रिएका छन् ।

Dabur Nepal
NIC Asia

गत आर्थिक वर्ष २०७९–०८० भरिमा कूल ४ हजार ५० विद्युतीय गाडी नेपाल भित्रिएका थिए । 

यसवर्ष भने आठ महिनामै करिब साढे ६ हजार बढी ईभी भित्रिएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ८०७,  २०७७र/०७८ मा २४९ र २०७६/०७७ मा ५७५ ईभी नेपाल भित्रिएका थिए ।

यसरी आर्थिक वर्षको तथ्यांकलाई हेर्दा २०८० सालमा ईभीले तीव्ररुपमा बजार विस्तार गरेको देखिन्छ ।

बीवाईडीको नेपालका लागि आधिकारी वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ २०८० ईभीमय वर्ष भएको बताउँछिन् ।  सरकारको नीति स्थिर रहेमा २०८१ सालमा अझै धेरै ईभी भित्रिने उनको भनाइ छ ।

“ईभीको आयात ६० प्रतिशतसम्म पुगेको छ । सरकारको नीति स्थिर रहेमा यो २०८१ सालमा ८० प्रतिशतसम्म पुग्ने हाम्रो अनुमान छ,” उनले भनिन् ।

उनका अनुसार ईभी प्रोत्साहनका लागि सरकारबाट विशेष प्रयास नहुँदै पनि नेपाल यसको प्रयोगमा नर्वेपछि दोस्रो स्थानमा रहेको छ । टाटा मोर्टसको नेपालका लागि आधिकारीक बितरक सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भविष्यको मोबिलिटी नै ईभी भएको बताउँछन् ।

सरकारकाले पनि यसलाई प्रोत्साहन एवम् प्रमोसन गरेका कारण २०८० सालमा ईभीले राम्रो बजार लिएको उनको भनाइ छ ।

“विश्वमै ईभीको प्रयोग अबको बाटो हो, सरकारले पनि यसलाई सकारात्मक तरिकाले हेरेको छ । आउँदो बजेटबाट पनि राम्रो नीति आउने र ईभीको प्रयोगको दर यस्तै राम्रो रहिरहने विश्वास छ,” सीप्रदीका सीईओ श्रेष्ठले भने ।

सार्वजनिक सवारीका लागि पनि राम्रो वर्ष

वर्ष २०८० सार्वजनिक विद्युतीय सवारीका क्षेत्रमा पनि सकारात्मक रहेको व्यवसायी बताउँछन् । यसवर्ष निकै धेरै सार्वजनिक विद्युतीय सवारीका भित्रिएको सुन्दर यातायात एवम् अटो इन्जिनियरिङका अध्यक्ष भेषबहादुर थापा बताउँछन् ।

“ठूला विद्युतीय बसहरु त खासै भित्रिएनन् । तर साना ११ र १४ सिटे गाडी धेरै आयात भएका छन् । आउँदो वर्ष भन्सार बढ्छ कि भन्ने चिन्ताले समेत धेरै गाडी आयात भए,” पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले ईभीमा भन्सार बढाउने संकेतको भाषण गरेपछि आयात झनै बढेको उनको भनाइ छ ।

सुन्दर यातायातले अहिले १९ वटा ठूला विद्युतीय बस र दश वटा साना विद्युतीय बस सञ्चालन गरिरहेको उनले बताए । “भन्सार बढेन भने आउँदो वर्ष पनि सार्वजनिक विद्युतीय सवारीले राम्रो बजार लिन्छ, अन्यथा अहिले भित्रिएकै गाडीहरु देखिनेछन्,” व्यवसायी थापाले भने ।

नेपालमा ईभीले मात्रै दैनिक करिब डेढलाख देखि दुई लाख युनिटसम्म विद्युत् खपत गर्न थालेको भन्दै ईभी नै अबको सवारी हुने उनको भनाइ छ । नेपालमा वुलिङ, फोटोन, दिगोको डीएफएसके डाँफे, किङलङ, केवाईसीलगायत ब्रान्डका ११, १४ देखि २० सिटसम्मका साना सार्वजनिक गाडी सञ्चालनमा छन् ।

साझा यातायातले ४० वटा ठूला विद्युतीय बस सञ्चालन गरेको छ ।  यात्रुवाहक मात्रै नभएर टाटाको एसीई ईभी ट्रक जस्ता विद्युतीय ढुवानी गाडीको प्रयोग समेत नेपाल बढ्दै गएको छ ।

चार्जिङ स्टेसनको नेटर्वक विस्तार

हाल देशभर साना ठूला गरी करिब डेढ सयवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । गत वर्ष २०७९ मा ७० को हराहारीमा मात्रै चार्जिङ स्टेसन देशभर थिए । गत भदौमा नेपाल विद्युत प्राधिकरणले एकै दिन देशभर ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको उद्घाटन गरेको थियो ।

टाटा, बीवाईडीलगायत ईभी बिक्री गरिरहेका कम्पनीहरूले देशभर दजर्नाैं चार्जिङ स्टेसन सञ्चालनमा राखेका छन् ।

देशका मुख्य राजमार्गको बढीमा ६० किलोमिटर आसपासमा अहिले चार्जिङ स्टेसनको नेटवर्क विस्तार भइसकेको प्राधिकरणको भनाइ छ । प्रमुख सहरहरुमा चार्जिङ स्टेसनको नेटवर्क झनैं विस्तार भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष निकै धेरै चार्जिङ स्टेसन सञ्चालनमा आएका कारण ईभी प्रयोगकर्तामा कहाँ चार्ज गर्ने भन्ने चिन्ता हट्दै गएको संकेत देखिन्छ । प्राधिकरणका आयोजना प्रबन्धक इन्जिनियर सागरमणि ज्ञवालीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म चार्जिङ स्टेसन बनिसकेको बताएका छन् ।

नेपालमा उसै पनि पेट्रोलियम इन्धनको महँगो शुल्क र यसले जलवायु परिवर्तनका क्षेत्रमा पार्ने डरलाग्दो असरका कारण ईभीतर्फको आर्कषण बढ्दो छ । विश्व बजारमै पनि पछिल्ला वर्षमा ईभीको प्रयोग बढ्दै गएको छ । नेपालमा अबका वर्षहरुमा नीजि, सार्वजनिकदेखि ढुवानीसम्मका सवारी विद्युतीय नै भित्रिने सम्भावना बढ्दै गएको छ ।

विद्युतीय गाडीको आयात बढ्दै गएपछि सरकारले यी नै सवारीबाट राजस्व असुल्ने रणनीति बनाएको खण्डमा झनै ईभीको बजार विस्तारमा लगाम लाग्न सक्ने व्यवसायीहरुको चिन्ता छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro