काठमाडौं । रुसमा आएको बाढीबाट जोगाउन बिहीबारसम्म कम्तीमा १३ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । रुसका धेरै क्षेत्रमा पानीको सतह बढ्दै गएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।
औसत तापक्रममा लगातार वृद्धि, हिउँ पग्लने र नदीहरूमा बाढी आएका कारण रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय संघीय जिल्ला बाढीको चपेटामा परेका छन् । ओरेनबर्ग, कुर्गन र ट्युमेन क्षेत्रमा संकटकाल घोषणा गरिएको छ ।
सबैभन्दा बढी प्रभावित पश्चिमी ओरेनबर्ग क्षेत्रमा सात हजार ८०० मानिसलाई विस्थापित गरिएको छ । क्षेत्रीय सरकारका अनुसार, उरल नदीमा पानीको स्तरले सीमा नाघेको छ । निकट भविष्यमा यस क्षेत्रमा ठूलो बाढी आउने अनुमान छ ।
कुर्गन क्षेत्रमा ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको क्षेत्रीय गभर्नर वादिम सुम्कोभले बताए ।
ट्युमेन क्षेत्रमा इशिम र टोबोल नदीहरूमा पानी एकैदिनमा ५६ सेन्टिमिटर र २२ सेन्टिमिटरले बढेको स्थानीय अधिकारीहरूले बताएका छन् । बाढी अप्रिल २३ देखि २५ सम्म झनै बढ्ने अनुमान गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल