site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घट्दो क्रममा बैंकको ब्याजदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनायता बैंकहरूको ब्याजदर घट्दै गएको छ । बजार चलायमान नहुँदा बैंकहरूले दिने कर्जाको माग पनि कम छ । त्यसका साथै बैंकहरूसँग प्रयाप्त पैसा भएपछि लगानी गर्न सक्ने अवस्थामा छैनन् । पुरानो कर्जा उठाउन नसक्दा अहिले अधिकांश बैंकहरू पुँजीकोष दबाबमा छन् ।

त्यसले पनि बैंकहरूको ब्याजदर सस्तो छ । आगामी वैशाखमा पनि अधिकांश बैंकहरूले ब्याजदर घटाउने संकेत देखाएका छन् ।

अहिले गत वर्षको तुलनामा बैंकहरूले प्रवाह गर्ने कर्जा र संकलन गर्ने निक्षेपको ब्याजदर सस्तो छ । साउनदेखि नै ब्याजदर क्रमशः घट्दै आएको छ ।

Argakhachi Cement Island Ad

नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा बैंकहरूले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर १०.७८ प्रतिशत छ । गत वर्षको फागुनमा १३.०३ प्रतिशत थियो ।

अघिल्लो महिना माघमा कर्जाको ब्याजदर ११.०८ प्रतिशत थियो । गत वर्षको माघमा पनि कर्जाको ब्याजदर १३.०३ प्रतिशत नै थियो ।

आव २०८०/८१ (प्रतिशतमा) आव २०७९/८० (प्रतिशतमा)
महिना निक्षेप कर्जा निक्षेप कर्जा
साउन १२.२४ ७.६४  
भदौ ८.०६ १२.२३ ७.८१  
असोज ७.९ १२.११ ८.१६  
कात्तिक ७.७६ ११.९६ ८.३२  
मंसिर ७.६२ ११.८५ ८.४६  
पुस ७.३२ ११.३८ ८.५१  
माघ ७.०१ ११.०८ ८.४१ १३.०३
फागुन ६.७४ १०.७८ ८.३७ १३.०३

गत वर्षको तुलनामा ब्याजदर सस्तो भएको भए पनि निजी क्षेत्रमा जाने कर्जामा भने उलेख्य वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म करिब दुई खर्ब रुपैयाँ निजी क्षेत्रतर्फ प्रवाह भएको छ । यो गत वर्षको तुलनामा ४.२ प्रतिशतले बढेको हो । 

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत छ ।

त्यस्तै, व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निजी क्षेत्रतर्फ ६४.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३५.४ प्रतिशत थियो । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्