site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री बाँडफाँटमा कुरा नमिल्दा कर्णालीमा मुख्यमन्त्री दाबी र नियुक्ति अन्योल

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्रीले राजीनामा दिएको तीन दिनसम्म नयाँ सरकारको खाका तयार हुन सकेको छैन । केन्द्रको निर्देशनमा प्रदेश सरकारको नेतृत्व एमालेले पाउने भएपछि एमाले संसदीय दलका नेता यामलाल कंडेल मुख्यमन्त्री बन्ने पक्का भएका छन् । तर, उनले माओवादीसँग मन्त्री बाँडफाँटमा भाग मिलाउन नसक्दा मुख्यमन्त्री दाबी र नियुक्ति दुवै अन्योल भएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री राजकुमार शर्माको राजीनामासँगै चैत २१ गते नै दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने संविधानको धारा १६८(२) बमोजिमको आह्वान गरिसकेका छन् । उनले दिएको समय आगामी २७ गते साँझ ५ बजेर ५० मिनेटसम्मका लागि छ । 

एमालेले मुख्यमन्त्री पाउने भएपछि माओवादीका शर्माको राजीनामा आए पनि एमाले संसदीय दलका नेता कंडेलले गठबन्धन हाक्ने कुशलता नदेखाएको माओवादी केन्द्रको बुझाइ छ । “उहाँहरूलाई मुख्यमन्त्री दिने केन्द्रको समझदारी पालना गरेर नै मुख्यमन्त्री राजकुमार शर्माको राजीनामा भइसकेको छ । यामलाल कंडेल मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ,” माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्णबहादुर जीसीले बाह्रखरीसँग भने, “उहाँलाई हामीले मुख्यमन्त्रीसँगै मन्त्रीहरू पनि नियुक्त गरौँ, सरकारलाई पूर्णता दिऔँ भनेका छौँ । उहाँ मुख्यमन्त्री बनौँ, शपथपछि विश्वासको मत लिऔँ अनि सरकार विस्तार गरौँला भन्दै हुनुहुन्छ ।” 

जीसीले बजेटसहितका धेरै कामका लागि छिट्टै सरकार बनेर काम हुनुपर्ने अवस्था रहे पनि मुख्यमन्त्री बन्छु भनेर लागेको व्यक्ति नै तत्पर नदेखिएको बताए । “गठबन्धन हुने भइसकेपछि मिलाएर अघि लैजाने जिम्मा मुलतः नेतृत्व गर्नेहरूको हुन्छ,” जीसीले भने, “तर, मुख्यमन्त्री बन्नुअघि समेत उहाँ सहज रूपमा प्रस्तुत हुन सक्नुभएको छैन । भोलिका दिनमा यस्तै भयो भने सहकार्य कसरी अघि बढ्ला ?” तर, नेकपा एमालेका प्रदेशसभा सदस्य कलबहादुर हमाल सरकार गठनका विषयमा प्रक्रिया चलिरहेको भन्दै कुरा नमिलेको वा बिग्रिएको भन्ने अवस्था नबनेको बताउँछन् । 

उनी लगातार जस्तै कुराकानी भइरहेको भन्दै अहिले पनि कुराकानीको तयारी नै चलिरहेको बताउँछन् । “ठ्याक्कै यसकारण कुरा मिलेन भन्ने अवस्था छैन । र, मिलिसक्यो भन्ने अवस्था पनि होइन,” हमालले बाह्रखरीसँग भने, “केहीबेरमा फेरि बस्दै हुनुुहुन्छ । आजै साँझसम्म मुख्यमन्त्रीको प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत हुनसक्छ ।” 

कर्णाली प्रदेशसभामा ४० सांसद रहेका छन् । जसमध्ये नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १० छन् । कर्णाली प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी), राप्रपाका एक–एक र एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro