
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनताको विश्वासबाट नै राजसंस्था पुनर्स्थापना गरिने बताएका छन् । मंगलबार (जेठ ६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालका कुनै पनि परिवर्तन ‘ब्यालेट’ पक्षबाट नभएको उनले उल्लेख गरे । उनले २००७ सालदेखि ०१७, ०४६ र ०६२/२०६३ का कुनै पनि परिवर्तन ब्यालेटबाट नभएको बताए ।
“नेपालमा भएका कुनै पनि परिवर्तन ब्यालेट पक्षबाट भएको छैन । २००७ सालको परिवर्तन पनि चुनाव भएर भएको होइन,” उनले भने, “२०१७ सालकै परिवर्तन पनि चुनावबाट भएको होइन । २०४६, २०६२/२०६३ का कुनै पनि परिवर्तनहरू ब्यालेटबाट भएका होइनन् ।”
हाल आफूहरूले खोजेको परिवर्तन पनि ब्यालेटबाट नभएको उनले प्रस्ट पारे । उनले एक दिनमा र एकै ढंगले परिवर्तन नहुने बताए ।
“यो हामीले आन्दोलन भने पनि, जे भने पनि राज्यसत्ताको विरुद्ध लडाईं सुरु गरेका छौँ,” उनले भने, “त्यो कसैलाई रिस उठेजस्तो, झोक चलेजस्तो एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा होइन ।”
उनले अगाडि भने, “तपाईंहरूलाई जति जोस चलेको होला, त्योभन्दा कम जोस मलाई के चलेको होला र ? पाए त आजै फेरिदिनुहुन्थ्यो ! आजै राजालाई ल्याएर मुकुटसहित नारायणहिटीमा भित्र्याऔँ भन्ने कुरा त मलाई के कम होला र ? हामीले योजना र रणनीति भन्ने कुरा बिर्सिन हुँदैन ।”
अध्यक्ष लिङदेनले राजावादी सबै बराबर रहेकाले मिलेर राजसंस्था पुनर्स्थापना गर्नुपर्ने बताए । उनले दलहरूसँगको सम्बन्ध बढाएर योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल