site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’, मिसाइल रक्षा प्रणालीको योजना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्डन डोम’ मिसाइल रक्षा प्रणाली स्थापना गर्ने घोषणा गरेका छन् । यो प्रणाली उनको कार्यकाल अन्त्यसम्म सञ्चालनमा आउनेछ ।

गत जनवरीमा ह्वाइट हाउसमा राष्ट्रपति पदमा फर्किएको केही दिनपछि नै ट्रम्पले यो प्रणालीको योजना ल्याउने बताएका थिए । यसले ब्यालिस्टिक र क्रुज मिसाइलजस्ता अमेरिकामाथि हुने नयाँ पुस्ताको हवाई खतराविरुद्ध काम गर्नेछ ।

अमेरिकाको नयाँ बजेट विधेयकमा ‘गोल्डन डोम’ मिसाइल रक्षा प्रणाली स्थापना गर्न २५ बिलियन डलरको प्रारम्भिक रकम राखिएको छ । यो प्रणाली विकास गर्न दशकौँ लाग्नसक्ने र सरकारले अनुमान गरेकोभन्दा धेरै महँगो पर्ने बीबीसीले जनाएको छ । 

अधिकारीहरूले अहिलेसम्मका रक्षा प्रणालीहरूले रूस र चीनले विकसित गरेको नयाँ मिसाइल प्रविधिको साथ तालमेल गर्न नसकेको भन्दै चेतावनी दिएका थिए ।

राष्ट्रपति ट्रम्पले यो परियोजनाको नेतृत्व स्पेस फोर्सका जनरल माइकल गुएट्लिनले गर्ने पनि घोषणा गरेका छन् । जनरल गुएट्लिन हाल स्पेस फोर्समा उपप्रमुख छन् ।

मंगलबार ओभल अफिसमा बोल्दै ट्रम्पले यो प्रणाली जमिन, समुद्र र अन्तरिक्षमा फैलिएको नयाँ पुस्ताको प्रविधि समावेश गर्ने बताए । यसमा अन्तरिक्ष–आधारित सेन्सर र इन्टरसेप्टरहरू पर्छन् । क्यानडाले पनि यो प्रणालीमा सहभागी हुन खोजेको पनि उनले जानकारी दिए । 

यो वर्ष सुरुमा वासिङ्टन भ्रमण गर्दा तत्कालीन क्यानडाली रक्षा मन्त्री बिल ब्लेयरले क्यानडाले यो डोम परियोजनामा सहभागिता जनाउन रुचि देखाएको स्वीकार गरेका थिए । उनले यो उचित र देशको राष्ट्रिय हितमा पर्ने उनको भनाइ थियो । 

उनले क्यानाडाले यो क्षेत्रमा के भइरहेको छ भन्ने थाहा पाउनुपर्ने र आर्कटिकसहित समग्र क्षेत्रमा आउने खतराहरूबारे सचेत हुनुपर्ने बताएका थिए । 

ट्रम्पले यो प्रणालीले संसारको अर्को छेउबाट वा अन्तरिक्षबाट प्रक्षेपण गरिएका मिसाइलहरू पनि अवरोध गर्न सक्षम हुने दाबी गरे ।

यो प्रणाली आंशिक रूपमा इजरायलको आइरन डोम प्रणालीबाट प्रेरित छ । यसले २०११ देखि रकेट र मिसाइलहरू अवरोध गर्दै आएको छ ।

तर, गोल्डन डोम आइरन डोमभन्दा धेरै गुणा ठूलो हुने र ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्नसक्ने हाइपरसोनिक हतियारहरू र अन्तरिक्षबाट युद्धक हतियार पठाउन सक्ने ‘फ्रयाक्सनल अर्बिटल बम्बार्डमेन्ट सिस्टम’जस्ता खतराविरुद्ध लड्नेगरी  डिजाइन गरिएको छ ।

ट्रम्पले भने, “यी सबै हवाबाट नै नष्ट गरिनेछन् । यसको सफलताको दर १०० प्रतिशतको नजिक छ ।” 

अमेरिकी अधिकारीहरूले गोल्डन डोमले अमेरिकालाई मिसाइलहरू प्रक्षेपण गर्नु अगाडि र हावाबाट नै अवरोध गर्न सक्षम बनाउने असअघि नै बताएका थिए ।

अमेरिकी रक्षा अधिकारीहरूले यो प्रणाली एक केन्द्रिकृत कमान्ड अन्तर्गत रहने बताएका छन् ।

ट्रम्पले मंगलबार यो घोषणा कार्यक्रममा २५ बिलियन डलरको प्रारम्भिक लगानी चाहिने बताए । तर, यसको कुल लागत १७५ बिलियन डलर पुग्नेछ । प्रारम्भिक २५ बिलियन डलर उनको कर सम्बन्धी विधेयक (वन बिग ब्युटिफुल बिल) अन्तर्गत राखिएको छ । तर, यो विधेयक अहिलेसम्म पारित भएको छैन ।

तर, अमेरिकाको तल्लो सदन कंग्रेसको बजेट अफिसले यो प्रणालीको अन्तरिक्ष–आधारित भागमा मात्र २० वर्षमा ५४२ बिलियन डलरसम्म खर्च लाग्नसक्ने अनुमान गरेको छ ।

पेन्टागनका अधिकारीहरूले लामै समयदेखि हालका प्रणालीहरूले रूस र चीनले डिजाइन गरेको नयाँ मिसाइल प्रविधिको साथ कदम मिलाउन नसकेको चेतावनी दिँदै आएका छन् । बीबीसी

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्