site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आईटीमा वस्तु तथा सेवा निर्यातसँगै नेपाल ‘टेक्नोलोजी हब’ बन्न सक्छ !

काठमाडौं । नेपालबाट सूचना प्रविधि (आईटी) सम्बन्धी वस्तु तथा सेवा निर्यातको प्रचुर सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको सम्भावना र लगानी सम्बन्धी कार्यक्रम ‘टेकपिक नेपाल २०२४’ उनीहरूले यस्तो भनाइ राखेका हुन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई), अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमचम) र आईटी क्षेत्रको गैर नाफामुखसी संस्था नास–आईटीले टेकपिक नेपाल, २०२४ को आयोजना गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालबाट आईटी सम्बन्धी वस्तु तथा निर्यातमा प्रचुर सम्भावना रहेको भन्दै लगानीका लागि आह्वान गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

आईटी क्षेत्रबाट नेपालले आफुलाई कसरी पुँजीकरण गर्न सक्छ भन्ने विषयमा समेत कार्यक्रम केन्द्रीत थियो ।

कार्यक्रममा आईटी क्षेत्रका सफल उद्यमीहरूले आफ्नो सफलता सुनाउँदै यस क्षेत्रमा निकै धेरै सम्भावना रहेको बताए ।

अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत हुन लागेको एआई सम्बन्धी कम्पनी फ्युज मेसिनका संस्थापक समिर मास्केले नेपाल टेक्नोलोजीको हबका रूपमा विकास हुने विश्वास व्यक्त गरे ।

भारतको अनवार्ड टेक्नोलोजीका संस्थापक एवं आईटी कम्पनीको संगठन नासकमका संस्थापक सदस्य, पहिलो निर्वाचित अध्यक्ष हरिश एस मेहताले आफ्नो देशको उदाहरण दिँदै आईटी क्षेत्रमा निकै धेरै सम्भावना रहेको बताए ।

नेपालको प्रविधि क्षेत्रमा लगानीको सम्भवनाबारे कार्यक्रममा लगानी बोर्ड नेपालका सीईओ सुशिल भट्ट, युएसएआईडी डेपुटी निर्देशक जुदिथ अल्मोदोभार, विश्व बैंकका प्राक्टिस म्यानेजर व्यजयन्ती देसाइले समेत उपस्थित थिए ।

यस्तै, सीएनआईका अध्यक्ष राजेश अग्रवाल, राष्ट्रिय योजना आयोगबाट प्रोफेसर डा. शिवराज अधिकारी र सीएनआई एवं अमेरिकन चेम्बर अफ कमर्स इन नेपालबाट सन्जय गोल्छाले पनि आफनो भनाइ राखेका थिए ।

कार्यक्रममा ग्रेप्सरका संस्थापक अमित चौधरी, सेक्युरिटी पलका सीईओ पुकार चन्द्र हमाल, लिपफ्रोगका कैलाश विजयानन्द, क्लाउडफेक्ट्रीकी अपरेसन लिडर रोबिना महर्जन, रुमसानकी श्रृष्टी पियाले आ–आफ्नो कम्पनीको सफलता एवं आईटी क्षेत्रको अवसरबारे भनाइ राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्