काठमाडौं । हिजाआज केही भइहाले फुत्त पकेटबाट मोबाइल झिकी सेल्फी र भिडियो खिच्ने बानी धेरैको छ । यस्तो बानीले कहिले काहीँ ज्यानै लिन पनि सक्छ ।
चट्याङको मौसम सुरु भएको छ । प्रि–मनसुनका बेला चट्याङ अत्यधिक पर्ने गर्छ । नेपालमा खासगरी चैत, वैशाख र जेठमा चट्याङ धेरै पर्छ । त्यसपछि बढी चट्याङ असार, साउन र भदौमा पर्छ ।
प्रि–मनसुनमा विशेष गरी चट्याङ अपराह्न तीन बजेपछि पर्छ । आकाश गड्याङगुडुङ गर्दै बिजुली चम्किने र चट्याङ पर्ने गर्छ । यस्तो दृश्य देख्ने बित्तिकै धेरैले पकेटबाट मोबाइल झिक्छन् । सेल्फी र भिडियो लिन्छन् । अझ खुला स्थानमा निस्केर यस्ता दृश्य मोबाइलमा कैद गर्न हतारिन्छन् ।
“आकाश गड्याङगुडुङ गरेको, बिजुली चम्केको र चट्याङ पर्दा घर बाहिर निस्किनु हुँदैन । खुला ठाउँमा गएर भिडियो बनाउने, सेल्फी लिने गर्नु हुँदैन,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने, “यस्तो बेला चट्याङ लाग्ने सम्भावना अत्यधिक हुन्छ ।”
बिजुली चम्किदा र चट्याङ पर्दाको बेला सेल्फी लिनु कति खतरनाक हुन्छ भन्ने करिव तीन वर्षअघिको एउटा घटना सम्झिए मात्र पुग्छ । घटना २०७८ असार अन्तिम साता भारतमा भएको थियो । राजस्थानको जयपुरमा सेल्फी लिने क्रममा एकैदिन एकै ठाउँ ११ जनाको मृत्यु भएको थियो । उनीहरूको मृत्यु त्यतिबेला भएको थियो, जतिबेला वर्षा भइरहेको अवस्थामा छतमा बसेर सेल्फी लिइरहेका थिए । उनीहरूले सेल्फी लिइरहँदा चट्याङ उनीहरूमाथि बज्रेको थियो ।
“हाम्रो आनीबानी पनि उस्तै छ । जोखिमबारे ज्ञान नहुँदा यस्तो बेला हामी पनि सेल्फी लिन र बिजुली चम्केको दृश्य कैद गर्न हतारिन्छौं । तर यस्तो गर्नु हुँदैन । चट्याङ पर्न लागेको वा परेको बेला विद्युतीय सामग्रीको प्रयोग नगर्नु सबैभन्दा उत्तम हो,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
प्रि–मनसुनमा किन पर्छ बढी चट्याङ ?
जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार नेपालमा प्रि–मनसुनको समय (चैत, वैशाख र जेठ)मा सबैभन्दा बढी चट्याङ पर्छ । गड्याङ्गुडुङ, बिजुली चम्किने र चट्याङ एक किसिमको बादलबाट उत्पन्न हुन्छ ।
“प्रि–मनसुनमा ‘क्युमुलोनिम्बस क्लाउड’ (बादल) उत्पन्न हुन्छ, यसैले चट्याङ पार्ने गर्छ,” उनले बाह्रखरीसँग भने ।
प्राविधिक भाषामा प्रि–मनसुन हिउँद सकिएपछि र मनसुन सुरु हुनुअघिको ‘संक्रमणकालीन अवस्था’ हो । हिउँदमा जमिन चिसो हुन्छ । प्रि–मनसुन अवधिमा जमिन विस्तारै तात्छ । जति मनसुन नजिकिँदै गर्छ, त्यति नै जमिन तात्दै जान्छ । सूर्य उत्तरतर्फ सर्दै जान्छ ।
“प्रि–मनसुनमा नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको प्रभाव हुन्छ । जमिन तात्दै गएपछि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव हुन्छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावको कारण वायुमण्डलमा अस्थितरता आउँछ,” मौसमविद् प्रधानाङ्गले भने ।
यस्तो बेला जलवास्पयुक्त वायु वायुमण्डलको माथिल्लो तहमा पुग्छ । त्यसैले वर्षा गराउने बादल बनाउँछ र चट्याङ पनि पार्ने गर्छ । यस्तो हुँदा माथिल्लो वायुमण्डलको तापक्रम माइनसमा हुन्छ, जसका कारण असिना पनि पर्ने गर्छ ।
“जलवास्पयुक्त वायुका कारण वायुमण्डलभित्र भर्टिकल सर्कुलेसन हुन्छ । त्यसक्रममा ‘विद्युतीय चार्ज’ बन्छ । यस्तो चार्ज माथिल्लो भागमा पोजेटिभ र तल्लो भागमा नेगेटिभ हुन्छ,” मौसमविद् प्रधानाङ्गले भने, “जब नेगेटिभ चार्ज बढी हुन्छ पृथ्वीको सतहमा विपरित चार्ज उत्पन्न गराउँछ । यही बेला बिजुली चम्किने र चट्याङ पर्ने हुन्छ ।”
बिजुली चम्किँदा तापक्रम बढी हुन्छ र बिजुली वायुमण्डलमा फैलिन्छ । यही बेला गड्याङ्गुडुङ आवाज आउँछ, जसलाई मेघ गर्जन भनिन्छ ।
“अपराह्नका बेला जमिन एकदमै तात्छ र यसले स्थानीय वायुलाई सक्रिय बनाउँछ । स्थानीय वायु जलवाष्पसहित माथिल्लो वायुमण्डलमा प्रवेश गर्छ । यसैकारण प्रि–मनसुनको समयमा नेपालमा अपराह्नपछि बिजुली चम्कने, आकाश गड्याङ्गुडुङ गर्ने र चट्याङ् पर्ने गर्छ,” उनले भने ।
मौसमविद् प्रधानाङ्गका अनुसार नेपालमा जलवाष्पयुक्त वायु सबैभन्दा बढी गण्डकी प्रदेशमा उत्पन्न हुन्छ । तालहरू बढी भएका कारण गण्डकी प्रदेशमा यस्तो हुन्छ । गण्डकीमा बनेको जलवाष्पयुक्त वायु विस्तारै सर्दै सर्दै अन्यत्र जाने गर्छ, अनि गड्याङ्गुडुङ, विजुली चम्किने र चट्याङ्को रुप लिन्छ ।
नेपालमा चट्याङले गरेको क्षति
चट्याङले नेपालमा ठूलो मानवीय क्षति गर्ने गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको तथ्यांकअनुसार २०८० वैशाख १ गतेदेखि चैत १८ गतेसम्म नेपालमा २३४ वटा चट्याङका घटना रेकर्ड भएका छन् । ती घटनामा परी यो वर्ष ४३ जनाको मृत्यु भइसकेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार पछिल्लो १३ वर्षमा नेपालमा २ हजार ९५२ वटा चट्याङ्का घटना रेकर्ड गरिएको छ । २०६८ वैशाख १ गतेदेखि २०८० चैत १८ गतेसम्मको अवधिमा ती घटना रेकर्ड भएका हुन् ।
पछिल्लो करिव १३ वर्षमा नेपालमा चट्याङ् लागेर १ हजार १८२ जनाको मृत्यु भएको छ । यो अवधिमा चट्याङ् लाग्दा ३ हजार ३२३ जना घाइते भएका छन् ।
केन्द्रको तथ्यांकअनुसार २०६८ मा १०३ जना, २०६९ मा १३१ जना, २०७० मा १११ जना, २०७१ मा १२६ जना, २०७२ मा ८३ जना, २०७३ मा ११५ जना, २०७४ मा १०५ जना, २०७५ मा ६८ जना, २०७६ मा ८८ जना, २०७७ मा ७० जना, २०७८ मा ५६ जना र २०७९ मा ८४ जनाको मृत्यु चट्याङका कारण भएको थियो ।
उक्त अवधिमा चट्याङ् लाग्दा ३७६ घरमा आंशिक र १५८ घरमा पूर्ण क्षति गरेको छ । यस्तै, ११३ गोठमा पनि चट्याङले क्षति गरेको छ । चट्याङ लाग्दा बितेको करिब १३ वर्षको अवधिमा नेपालमा ३ हजार ३५५ वटा चौपाया मरेका छन् ।
कहाँ पर्छ बढी चट्याङ
नेपालको कुन क्षेत्रमा बढी चट्याङ पर्छ वा बढी जोखिम भएका ठाउँ कुन हुन् भनेर अध्ययन भएको छैन । तर, चट्याङ्ले पुर्याएको मानवीय क्षति र घटनाका आधारमा केही स्थानहरू बढी जोखिमपूर्ण रहेको देखिन्छ ।
पछिल्लो करिब १३ वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा मानवीय क्षति गर्नेगरी सबैभन्दा बढी चट्याङ् मकवानपुरमा १७१, झापामा १००, उदयपुरमा ९१, मोरङमा ८५, खोटाङमा ७२, ओखलढुंगामा ६७ र बाग्लुङमा ६६ वटा रेकर्ड भएको केन्द्रको तथ्यांकले देखाउँछ ।
उक्त अवधिमा रोल्पामा ६५, संखुवासभामा ६३, गुल्मीमा ६३ सिन्धुलीमा ६१, सोलुखुम्बुमा ५९, प्युठानमा ५९, भोजपुरमा ५८, सप्तरीमा ५२, रुकुम पश्चिममा ५० र नुवाकोटमा ४९ वटा चट्याङ्का घटनाले मानवीय क्षति गरेको देखिन्छ ।
मानवीय क्षतिका दृष्टिले सबैभन्दा बढी जोखिम जिल्लामा मकवानपुर, मोरङ, उदयपुर, ओखलढुंगा, सप्तरी, झापा, सिन्धुली, बाग्लुङ, खोटाङ, दाङ, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, पर्सा, नुवाकोट, गुल्मी, सुनसरी, रौतहट, बारा, कैलाली, प्युठान, सिन्धुपाल्चोक, दोलखा र कञ्चनपुर रहेका छन् ।
बितेको करिब १३ वर्षमा चट्याङ लागेर मकवानपुरमा ८२, मोरङमा ५०, उदयपुरमा ४३, ओखलढुंगामा ३५, सप्तरीमा ३३, झापामा ३३, सिन्धुलीमा ३०, बाग्लुङमा २७, खोटाङमा २७, दाङमा २७, सोलुखुम्बुमा २६, काभ्रेपलाञ्चोकमा २५, पर्सामा २५, नुवाकोटमा २४, गुल्मीमा २४, सुनसरीमा २३, रौतहटमा २३, बारामा २२, कैलालीमा २२, प्युठानमा २१, सिन्धुपाल्चोकमा २०, दोलखामा २० र कञ्चनपुरमा २० जनाले ज्यान गुमाएका छन् ।
चट्याङबाट कसरी जोगिने ?
चट्याङ पर्न लागेको संकेत वायुमण्डलको गतिविधिबाट थाहा हुन्छ । तर चट्याङ कहाँ पर्छ यकिन साथ भन्न सकिँदैन । “चट्याङबाट जोगिने एउटा भनाइ छ– जब आकाशमा गड्याङ्गुडुङ आवाज आउँछ, घरभित्र जानोस्,” प्राधिकारणका कार्यकारी प्रमुख पोखरेलले भने ।
आकाश गड्याङ्गुडुङ गरेको बेला, बिजुली चम्किदा र चट्याङ पर्न लाग्दा खुला ठाउँमा बस्नु हुँदैन । अझ चिसो ठाउँ, तार र रुखमुनि त बस्नु नै हुँदैन ।
गड्याङ्गुडुङ आवाज आउने बित्तिकै घरभित्र छिर्नुपर्छ । घरभित्र पनि सुरक्षित स्थानमा बस्नुपर्छ । घरभित्र बस्दा फलामलाई छुनु हुँदैन । झ्यालको नजिक बस्नु हुँदैन । सम्पूर्ण विद्युतीय उपकरण बन्द गर्नुपर्छ ।
विद्युतीय उपकरणका तार प्लगबाट झिक्नुपर्छ । ल्यान्डलाइन फोन त चलाउनै हुँदैन । मोबाइल पनि चलाउन हुँदैन । यी सबै गरे चट्याङका कारण मानवीय क्षति न्यून हुन्छ ।
चट्याङबाट बच्न आपूm बस्ने घर चट्याङ प्रतिरोधात्मक बनाउन पनि जरुरी छ । घरलाई जसरी भूकम्प प्रतिरोधात्मक बनाइन्छ त्यसरी नै चट्याङ प्रतिरोधात्मक बनाउन सकिन्छ । यसका लागि घर बनाउँदा ध्यान दिनुपर्ने हुन्छ ।
“घर बनाउँदा अर्थिङ गरे चट्याङको जोखिम घट्छ,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।
नेपालमा चट्याङ लागेर धेरैको मृत्यु मेलापात, घाँस दाउरा गर्दा हुने गरेको छ । त्यसैले पानी परेका बेला सकभर घरबाट बाहिर निस्कनु हुँदैन । पानी परेको बेला ठूला रुखको ओत लाग्ने चलन धेरैतिर छ जुन चट्याङको हिसाबले राम्रो होइन । पानी परेको बेला रुखको ओत लाग्नै हुँदैन ।
प्राधिकरणका अनुसार आकाश गड्याङ्गुडुङ गरेर पानी पर्न थालेपछि बिजुलीको खम्बा नजिक र मुनि बस्नु हुँदैन । छाता ओढ्नु हुँदैन । खेतबारीमा काम गर्नु हुँदैन । पौडी खेल्न र नुहाउनु हुँदैन । विद्युतीय उपकरण प्रयोग गर्नु हुँदैन । यस्तो बेला डुंगा चलाउन पनि हुँदैन ।
आकाश गड्याङ्गुडुङ गर्दा गाडीमा भए भित्रै बस्नुपर्छ । चट्याङ पर्न लागेको बेला खुला ठाउँमा बस्नु हुँदैन । चट्याङ् प्रायः अपराह्न ३ बजेपछि पर्ने हुँदा घरको काम बिहान गर्ने र घरभित्रको काम ३ बजेपछि गर्नु उपयुक्त हुन्छ ।