site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘अनायोजित’मा कलमको जादु

कथाकार अनिता पन्थीको ‘जुलुस उठेको रात’ शीर्षकको कथा पढेपछि शब्द खेलाउने कला उनमा बेजोडको पाएँ मैले । विम्ब र प्रतीकले कथालाई बहुआयामिक बनाएको र कथा निकै अर्थपूर्ण रहेको पहिल्याएँ ।

अनिता पन्थीले अनिता कोइरालालाई भेट्दा एउटा अमूल्य उपहार दिएकी थिइन्, ‘अनायोजित’ । २०७८ सालमै ‘अनायोजित’ सिर्जना गरिसकेकी स्रष्टालाई उपन्यासकारका रूपमा मैले त्यस दिन मात्र चिन्न पाएँ । म त विस्मित भएँ ! मलाई हतारो भयो उनको ‘अनायोजित’ पढ्न ।

विद्यार्थीकालमै प्रकाशित उपन्यास पढ्दै जाँदा अनिताको साहित्य सिर्जनाप्रतिको लगाव र साधनालाई नमन नगरी बस्न सकिनँ । उपन्यास पढ्दै जाँदा अनिताको कल्पनाशीलताले मलाई विमुग्ध पार्दै लग्यो ।

उपन्यासको विषयवस्तु, विम्ब, प्रतीक, पात्र छनोट, पात्रहरूका नाम, कथाको उठान र लयात्मक प्रस्तुतिले उपन्यास पठनीय छ । भावहरूको संसारबाट भावनाहरूलाई टपक्क टिपेर मानवीकृत गरिएको छ ।

उपन्यासमा भावनाहरूकै संसार छ । भावहरूकै मञ्चन छ । भावहरूकै प्रेमप्रसंग छ । भावहरूकै मिलन छ । भावहरूकै विछोड छ । भावहरू नै वाचाल भएका छन् । भावहरू नै शब्द भएका छन् । भावहरू नै नायक, नायिका र खलनायक भएका छन् ।

आलंकारिक शब्द र संवादले उपन्यासलाई उच्चकोटीको बनाएको छ । बौद्धिक पाठकहरूका लागि यो कृति बहसको विषय हुनेछ । पर्या–कथा र कविता त मैले पनि पढेकी थिएँ, तर पर्या–उपन्यासचाहिँ यो पहिलो नै हो ।

उपन्यासमा पर्यावरणमा देखिएका समस्या, चुनौती र चिन्ताहरू मज्जाले आएका छन् । विकास र विनाशको दुःखद र सुखद पक्षलाई पात्रहरूको माध्यमबाट देखाइएको छ । ‘प्रकृतिमाथिको हमला आजको समस्या’ भन्ने पाटोलाई उपन्यासले उठान गरेको छ । पुराना हातहतियारको ठाउँमा नयाँ प्रविधिहरू भित्रिनु सुखद मात्र हुँदैन, ती प्रविधिहरूले कालान्तरमा कोहराम पनि मच्चाउँछन् ।

प्रकृतिमाथिको दोहनको नतिजा प्राकृतिक प्रकोपहरूको डरलाग्दो घटनालाई उपन्यासमा ल्याएर झसंग पारेकी छन् अनिताले । प्रविधिको युगमा पुरातन हातहतियारलाई विस्थापित गरेर आधुनिक युगका मेसिनहरूको चंगुलमा मानव जीवन रुमलिएको प्रसंग बढो यथार्थ रूपमा आतंकित भएर आएको छ । विकास र विनाशको सम्बन्ध नङमासुको जस्तो हुने कुरा यहाँ स्पष्ट रूपमा देखिएको छ ।

उपन्यासकारले पात्रहरूको संवादमार्फत बढो कलात्मक पाराले आजको मानवको भावनालाई प्रस्तुत गरेकी छन्, ‘मेरो अन्याय र अत्याचारले क्रुद्ध भएकी धरा, कुन दिन फेरि मलाई अवर्णनीय दण्ड भोगाउने छिन्, अवश्य । जुन कुरा बोध गर्दागर्दै पनि म लाचार छु अन्यायी बन्न । बस् आफ्नो स्वार्थमा लिप्त भइरहेको छु, लाग्छ, म यति अज्ञानी हुने थिइनँ उन्नति मेरी भइसकेकी हुँदी हुन् । लम्पसार परेको चिहानडाँडो जहाँ जति सेवा गरे पनि ऊ कहिल्यै तृप्त हुँदैन । दुर्वासाजस्तै छ ।’ (पृष्ठ – १२८–१२९)

उपन्यासमा प्रेमीहरूका सपना र कल्पनाहरू भर्भराएर आएका छन् । प्रेमालापका मिठामिठा पलहरू आएका छन् । तरुणावस्थाका युवायुवतीका अनुराग छन् । आकर्षण छन् । प्राप्तिको आकांक्षा छ ।

प्रेम र आकर्षणबाट आरम्भ भएको उपन्यासले वियोगका अनेकौँ आँधीमा पात्रहरूलाई संघर्ष गराउँछ । उन्नति र प्रयासको मिलन होला/नहोला भन्ने पाठकहरूलाई कौतूहल सिर्जना गराउन कृति सफल छ ।

उपन्यासको अर्को बलियो पाटो भनेको रतिरागात्मक घटना र अभिव्यक्तिलाई कलात्मक तवरले प्रस्तुत गर्नु हो । प्रेमीप्रेमिकाको मिलनमा उत्पन्न हुने सीमाहीन भावहरूको प्रस्तुतिमा उपन्यासकार निकै शालीन देखिन्छिन् ।

साँच्चै ‘अनायोजित’ अद्भुत छ । दर्शन र पूर्वीय सभ्यताको चेतना यसमा आएको छ । अझ ‘अनायोजित’को कल्पना, भाषा, प्रस्तुति र बोधगम्य शैलीले जोकोहीलाई हायलकायल बनाउँछ ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro