site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

रुसी सेनामा गैरकानुनीरूपमा भर्ती भएका नेपालीलाई फर्काउन आफन्तहरूले सरकार गुहारिरहेकै बेला रुसी राजदूतले भने उनीहरूलाई रुसले बोलाएर आफ्नो सेनामा भर्ती नगरेको भन्दै ओँठे जवाफ दिएका छन् । नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोविकोभले अर्थमन्त्री वर्षामान पुनसँगको भेटमा बुधवार दिएको यस ओँठे जबाफमा उनको हेपाहा प्रवृत्ति प्रकट भएको छ । 

राजदूत नोविकोभलाई उद्धृत गर्दै सम्प्रेषित समाचारअनुसार उनले भारतलायतको बाटो भएर अवैधरूपमा रुस गएका नेपाली स्वेच्छाले भर्ती भएको र उनीहरू नेपाल फर्कन इच्छुक नभएको पनि दाबी गरेका छन् । अहिलेसम्म रुसी सेनामा अवैध भर्ती गरिएका १७ जना नेपालीको युद्धमा मृत्यु भइसकेको विवरण आधिकारिकरूपमा सार्वजनिक भएको छ । 

स्वतन्त्र समाचार संस्थाहरूले भने रुसी सेनामा अवैधरूपमा भर्ती गरिएका नेपालीको सङ्ख्या केही हजार रहेको अनुमान गरेका छन् । यद्पि, २७१ जनाका आफन्तले मात्र स्वदेश फर्काइदिन सहयोगको आग्रह गरेर सरकारलाई आवेदन दिएका छन् । कति नेपाली अवैधरूपमा रुसी सेनामा भर्ती भएका छन् भन्ने एकिन जानकारी नेपाल सरकारसँग छैन । 

रुसले युक्रेनमाथि गरेको आक्रमणको नेपालले निन्दा गरेको थियो । सम्भवतः रुसले यसैको ईख राखेर अहिले नेपाललाई हेपेको हो । नत्र, अवैधरूपमा आफ्नो मुलुकमा आएका विदेशीलाई सेनामा भर्ती गरेर युद्धमा पठाउने मुलुकका राजदूतले यस्तो गैरजिम्मेवार उत्तर नदिनुपर्ने हो । 

रुसबाट भागेर आएकाहरूले आवश्यक तालिम नदिईकनै युद्ध मैदानमा खटाइएको र रुसी सैनिकहरूले यातना दिएको खुलासा गरेका छन् । सरकारले यस विषयमा केही बोलेको छैन तर अन्तर्राष्ट्रिय कानुनअनुसार पर्याप्त तालिम नदिई युद्धमा पठाउनु अपराध मानिन्छ । अवैधरूपमा प्रवेश गरेका विदेशीलाई कुनै पनि सभ्य मुलुकले यसरी आफ्नो सेनामा भर्ती गर्दैन ।  रुसले भने नेपालको अनुरोधपछि पनि नेपालीलाई उसको सेनामा अवैध भर्ती गर्न छाडेको छैन ।

अहिलेको सरकारको सायद रुससँग भावनात्मक निकटता होला । नेपालको कम्युनिस्टहरूको रुसी शासकसँग ‘बन्धुत्व’ भावना अलि बढी हुन पनि सक्छ । नेपालले युक्रेन हमलाको निन्दा गर्ने प्रस्तावका पक्षमा मतदान गर्दा अहिले सत्तामा रहेका कतिपय व्यक्तिले विरोध गरेका थिए ।

अवैधरूपमा आफ्नो मुलुकमा छिरेको विदेशी नागरिकलाई सम्बन्धित देशले सेनामा काम नलगाउन भनिसकेपछि फिर्ता पठाउन आलटाल गर्नु र 'हामीले बोलाएको होइन' भन्नेजस्तो ओँठे जबाफ दिनुको अर्थ नेपाललाई हेप्नु नै हो । रु यस्तै अवस्थामा रुसी नागरिक भए रुसको धारणा के हुन्थ्यो ?

अवैधरूपमा गएकालाई सेनामा भर्ती गर्ने कि फिर्ता पठाउनेरु संसारका अरू कति मुलुकले यसरी अवैधरूपमा प्रवेश गर्नेलाई सेनामा भर्ती गरेका होलान् रु रुसले बोलाएको नहोला तर अवैधरूपमा देशभित्र प्रवेश गर्नेहरूलाई सेनामा भर्ती गर्नुले तिनलाई लालच देखाएको भने त स्पष्टै बुझिन्छ । यसैले रुसको यस जाली तर्क र हेपाहा प्रवृत्तिप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने देखिन्छ । 

रुसी सेनामा अवैधरूपमा कार्यरत नेपालीहरू नेपाल फर्कन चाहँदैनन् भन्ने रुसी राजदूतको दाबीको स्वतन्त्ररूपमा प्रमाणीकरण हुनुपर्छ ।  नेपाल सरकार र संयुक्त राष्ट्रसंघको निगरानीमा रुसी सेनामा रहेका नेपालीसँग सोधपुछ गरेर यसको समाधान निकाले हुन्छ । के रुस यसरी प्रमाणीकरण गराउन तयार हुन्छ ?

रुसले नेपाल सरकारलाई अहिलेसम्म कति नेपाली उसको सेनामा छन् भन्ने जानकारीसम्म दिएको छैन । रुसजस्तो मुलुकमा सेनामा भएका विदेशीको तथ्याङ्कसमेत नभएको त पक्कै होइन । सरकारले पहिले रुससँग विवरण मागोस् र नेपालमा सङ्कलित तथ्याङ्कसँग रुजु गरेर सही सङ्ख्या किटान गरोस् । नागरिक जहाँ र जस्तो अवस्थामा भए पनि राज्यले उपेक्षा गर्न मिल्दैन ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्