site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहकारीमय संसद् !
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक सहकारी संस्थाका समस्यामा केन्द्रित भयो । बहालवाला उपप्रधान एवं गृहमन्त्री नै सो प्रकरणका पीडक भएको बैठकमा आरोप लगाइयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरे । सत्तासाझेदार दलका सांसदले भने सहकारीका समस्या समाधान गर्न आयोग बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सहकारीका ऋणी केही समययता आन्दोलनरत छन् । सो प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न उनीहरूले आइतबार (हिजो) पोखरामा प्रधानमन्त्री प्रचण्डसँग माग गरे । पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ऋणीले आफूहरू ठगिनुमा लामिछाने पनि दोषी रहेको भन्दै छानबिनको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले जीबी राईलाई पनि पक्राउ गर्न माग गरेका छन् ।

“गृहमन्त्रीमाथि अनुसन्धान गर्न सहकारीपीडितको मागबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ,” सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद प्रेम सुवालले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

आफूहरूबाट पैसा उठाएर ठगी गर्ने राई र लामिछाने भएको ऋणीको गुनासो छ । पोखराको सूर्यदर्शन सहकारीबाट ठगी गरिएको र त्यसमा लामिछाने पनि मुछिएको प्रतिवेदन पोखरा महानगरपालिकाले तयार पारेको कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले सोमबार संसद् बैठकमा बताए ।

samsad-raswapa1-1710759616.jpg
सूर्यदर्शनसहित राईले चितवनको सहारा र बुटबलको सुप्रिम सहकारीको पैसा गोर्खा मिडिया नेटर्वकमार्फत सञ्चालित ग्यालेक्सी टीभीमा लगानी गरेको आरोप छ । सो प्रकरणमा लामिछानेलाई पनि मुछिएको छ । यही विषय सदनमा चर्काइएको हो ।

Global Ime bank

‘नखाएको विष लाग्दैन, अनुसन्धान गर्न दिनुस्’ 
प्रतिपक्षीको बेन्चमा पुगेपश्चात् कांग्रेसले सहकारी ठगी प्रकरणको विषय निरन्तर उठाउन थालेको छ । सदनमा प्रधानमन्त्रीको जवाफ मागदेखि गृहमन्त्रीलाई विधेयक प्रस्तुत गर्न नदिने उद्देश्यले कांग्रेस सांसदले वेल घेराउ र सदन बैठक अवरुद्धसम्म गरेका छन् ।

सोमबारको बैठकमा पनि कांग्रेस यो विषयमा आक्रमक बन्यो । बैठकको सुरुआतमै समय लिएर कांग्रेस सांसद गगन थापाले सो प्रकरणमा पीडक गृहमन्त्री लामिछाने भएको आरोप लगाए । सहकारीमा भएको अनियमितताबारे उनले निष्पक्ष छानबिनको माग मात्र गरेनन्, सदनमा उभिएर जवाफ दिन प्रधानमन्त्रीलाई अनुरोध नै गरे । उनले आरोपित व्यक्ति पदमा हुँदा प्रमाण नस्ट र अनुसन्धान प्रभावित होला भन्ने डर लागेको भन्दै प्रधानमन्त्रीको जवाफ मागिएको बताए ।

सूर्यदर्शन सहकारीले हजारौँ बचतकर्ताको अर्बौँ रुपैयाँ हिनामिना गरेको उनले उल्लेख गरे । १९ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरिएको पोखरा महानगरको अध्ययनले देखाएको थापाले बताए । १०० जनाले नक्कली खाता खोलेर करिब एक अर्ब ३५ करोड अपचलन गरेको विषय अध्ययन रिपोर्टमा समेटिएको उनको भनाइ छ ।

नक्कली खाता खोल्नेमध्ये सो रिपोर्टको ७८औँ पृष्ठमा एउटा नाम रवि लामिछानेको भएको उनले सुनाए । “मेरा मित्र रवि लामिछाने माननीय गृहमन्त्री हुनुहुन्छ, भोलि प्रधानमन्त्री बन्नुहोला । शुभकामना छ, बन्न पनि सक्नुहुन्छ । अलग विषय हो,” थापाले भने, “तर, रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ, सहकारीको सदस्य हुनु हुन्न । हाम्रो कानुनले भन्छ– यो गैरकानुनी छ ।”

samsad-congress1-1710759865.jpg
लामिछानेमाथि अनुसन्धान नगर्ने भए अरू १०० जनालाई पनि उस्तै प्रकृति मानेर उन्मुक्ति दिनुपर्ने उनले बताए । “कसैको धितो छैन, कोही सहकारीको सदस्य होइन, कुनै प्रक्रिया पुर्‍याइएको छैन, एक अर्ब झ्वाम !,” सांसद थापाले भने, “यसरी छोड्ने हो भने अब एकजनालाई छोडेर हुँदैन, सबैलाई छोड्नुपर्छ । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छाड्नुपर्छ । सरकार यो गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ ।”

गोर्खा मिडिया नेटवर्कले सूर्यदर्शन, सुप्रिम र सहारा सहकारीबाट ५०औँ करोड लगेको र यो गैरकानुनी भएको उनले बताए । उक्त विषयमा पनि लामिछानेको करिब १२ मिनेटको स्पष्टीकरण सुनेको भन्दै उनले प्रधानमन्त्रीमाथि प्रश्न तेर्स्याए ।

लामिछाने ०७८ वैशाखदेखि ०७९ जेठसम्म ग्यालेक्सी टीभीको सञ्चालक भएको र त्यही बेला सहकारीबाट दशौँ करोड लगिएको थापाले आरोप लगाए । “जबकि, एक सुका पनि लैजान पाइन्नँ,” उनले थपे, “स्पष्टीकरणमा भनिएको छ– मैले पैसा हालेको पनि छैन, लगेको पनि छैन । कम्पनी रजिस्ट्रार कार्यालयमा एक करोड ८० लाख लिएर आएको तमसुक बाहिर प्रमाणका रूपमा आएको छ ।”

पोखरा पुगेर प्रधानमन्त्री प्रचण्डले ‘अनुसन्धान गर्ने हो’ भनेको भन्दै उनले प्रश्न तेर्स्याए, “अनुसन्धान कसले गर्ने हो ?”

कांग्रेस महामन्त्री थापाले प्रहरीले अनुसन्धान गर्दा शक्तिशाली मान्छेलाई लुकाइने रहेछ भनेर सुनकाण्डमा प्रस्ट भएको बताए । सहकारीको विषयमा पनि त्यस्तै त हुने हैन भन्दै उनले प्रश्न गरे । जो मुछिएको छ, उसैले अनुसन्धान गर्छ भनेर कसरी विश्वास गर्ने भन्दै थापाले थप प्रश्न गरे ।

samad4-1710759965.jpg
उनले यो विषय टुंगो लगाउन मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई पनि अनुरोध गरे । नखाएको विष लाग्दैन र लाग्न नहुने भन्दै उनले दोषबाट मुक्त हुन अनुसन्धान गरिनुपर्नेमा जोड दिए ।

“खाएको विष पो लाग्छ, नखाएको लाग्दैन । मैले पनि पीडा भोगेको छु । दोष छैन भने आरोपबाट मुक्ति पाउनुपर्छ, नयाँ आउनुभएको मन्त्रीले काम गर्न पाउनुपर्छ,” उनले भने, “हामी काम गर्न दिन्छौँ । तर, विष खाएको छ भने लाग्छ, यत्ति मात्र हो ।”

भुटानी शरणार्थी प्रकरणमा आफूले खुट्टा नकमाऊ सरकार भनेको, सुनकाण्डमा आयोग बनाउने मागमा साथ दिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेका मन्त्रीलाई घर पठाइदेऊ भनेर बोलेको उनले स्मरण गरे । थापाले सहकारीको विषय यति बेला किन बोलिस् भनेर नबुझ्न पनि अनुरोध गरे ।

राजनीतिक आग्रह–पूर्वाग्रह नभएको भन्दै उनले अनुसन्धान प्रभावित होला कि भन्ने डर लाग्न थालेकाले प्रश्न गरेको बताए । उनले कांग्रेसको उद्देश्य बैठक रोक्ने नभएको स्पष्ट पारे ।

“रुखको छहारीमा बस्ने होस् कि घाम ताप्ने होस् कि, हँसिया हथौडा बोक्ने होस् कि घण्टी बजाउने होस्,” उनले भने, “कसैले पनि उन्मुक्ति नपाओस् भन्ने हिम्मत राख्छौँ कि राख्दैनौँ ? सहकारीकाण्डमा पनि शक्ति होस्, नयाँ होस्, लोकप्रिय होस्, तर गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस् यति भन्ने हिम्मत हामी राख्छौँ कि राख्दैनौँ ?”

‘बालेन र हर्कहरूले गिज्याउन थालिसके’
बैठकमा बोलेका सांसदले जनता वाक्कदिक्क भइसकेको भन्दै गुनासो गरे । कांग्रेस सहमहामन्त्री समेत रहेका सांसद जीवन परियारले सहकारीका ऋणी काठमाडौंको सडकमा उभिएर न्याय माग्दा जनता वाक्कदिक्क भएको उल्लेख गरे । पीडितले न्याय नपाउँदा राजनीतिक रूपमा स्वतन्त्र जनप्रतिनिधि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगर प्रमुख हर्क साङपाङहरूले गिज्याउने अवस्था बनेको उनको भनाइ छ ।

“देश सुन तस्करको अखडाजस्तो बनेको छ । आमजनता वाक्क र दिक्क भएका छन्, जुन जोगी आए पनि कानै चिरिएको त हैन भन्ने अवस्था भएको छ,” उनले भने, “लाखौँलाख सहकारीपीडितलाई न्याय दिलाउन नसके सरकारमा बस्नुको कुनै औचित्य हुँदैन । बालेन र हर्कहरूले गिज्याएका छन्, पीडितले न्याय कहिले पाउने ? काठमाडौंको सकडमा आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।”

jeevan-pariyar5-1710759994.jpg
निर्मला पन्त र आरती साहको हत्या, मिटरब्याजको समस्या, उखु किसान र सहकारीपीडितका विषय कांग्रेसले पटक–पटक उठाइरहेको भन्दै उनले उनीहरूले कहिले न्याय पाउने भनी प्रश्न गरे । सांसद परियारले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा सानो वा ठूलो कुनै विभेद नगरी सबैलाई कारबाही गरिनुपर्नेमा जोड दिए ।

छानबिन आयोग बनाउन माग
सत्तासाझेदार दल नेकपा (एमाले)का सांसदले ‘धन्दावाला’ मानिसका कारण सहकारी क्षेत्र बदनाम भएको भन्दै समिति बनाएर छानबिन गर्नुपर्ने माग गरे । कालो धन सेतो बनाउने ठाउँ बनाइँदा सिंगो सहकारी आन्दोलन धर्मराएको एमाले सांसद ऋषिकेश पोखरेलले उल्लेख गरे । उनले सहकारीमा क्षेत्रमा ‘धन्दावाला’ हाबी हुँदा आमसहकारी ‘घाइते’ भएको टिप्पणी गरे ।

७२ लाखभन्दा बढी नागरिक जोडिएको, ९४ अर्बभन्दा बढी पुँजी लगानी गरिएको र जीडीपीमा ५ प्रतिशत योगदान रहेको संस्था संकटमा पर्नु र जताततैबाट प्रहार गरिनु गम्भीर विषय भएको उनले बताए । नियामक निकाय गैरजिम्मेवार हुँदा यस्तो अवस्था आएको उनको ठहर छ ।

सहकारी क्षेत्रका समस्या समाधानका लागि अधिकारसम्पन्न छानबिन आयोग बनाउनुपर्नेमा उनले जोड दिए । जिम्मेवारीपूर्वक समस्या समाधानका निम्ति आयोगले काम गर्नुपर्ने उनले औँल्याए ।

“तत्काल आयोग बनाऊँ र समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गर्दछु,” उनले भने, “सहकारीको वर्गीकरण गरौँ । सम्पत्तिको स्रोत प्रमाणीकरण गरौँ । ऋणीहरूको अध्ययन गरौँ । ऋण फर्काउनैपर्ने बाध्यकारी नियम बनाऊँ र नियामक निकाय बनाउने तथा कानुनको संशोधन गरौँ । यो गर्न सके मात्र सहकारीमा देखिएको समस्या समाधान गर्न सकिन्छ ।”

सहकारी अभियान मानव जीवनको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको आन्दोलन भएको उनले बताए । लोकतान्त्रिक भाषामा सहकारी समाजवादको आधारस्तम्भ र वामपन्थीमा कम्युनको प्रारम्भ भएको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement