site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कूटनीतिक अचारसंहिता कडाइका साथ लागु गरिने, पालना गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कूटनीतिक आचारसंहितालाई कडाइका साथ लागु गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले कूटनीतिक आचारसंहिताको पालना गर्न सबैलाई आग्रह गरेका थिए । 

“आफ्नो आचरणलाई एउटा स्वतन्त्र र सार्वभौम देशको नागरिकको रूपमा प्रस्तुत गर्न र कूटनीतिक अचारसंहिता पालना गर्न सबैलाई आग्रह गर्न चाहन्छु,” परराष्ट्रमन्त्री श्रेष्ठले भने, “कूटनीतिक आचारसंहिताको अवलम्बनमा सरकारले फेरि प्रभावकारी कदम चाल्ने अवगत गराउन चाहन्छु ।” 

Dabur Nepal
NIC Asia

कूटनीतिक आचारसंहिता, २०६८ मा विदेशीसँगको शिष्टाचार भेट, औपचारिक वार्ता तथा बैठक, विदेशीसँगको सम्झौता, प्रतिबद्धता एवं कूटनीतिक पत्राचार, विदेश भ्रमण लगायतका विषयमा के कसरी काम गर्ने भन्ने स्पष्ट व्यवस्था गरिएको छ । 

पछिल्ला वर्षहरूमा नेताहरूले आचारसंहिता विपरीत विदेशी कूटनीतिज्ञहरूसँग भेटवार्ता गर्ने क्रम बढेपछि परराष्ट्रमन्त्री श्रेष्ठले सोमबार कूटनीतिक आचारसंहिता कडाइका साथ लागु गर्ने बताएका हुन् । 

उनले प्रतिनिधिसभामा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै दक्ष कूटनीतिक अभ्यास गर्दै अगाडि बढ्ने बताए । आर्थिक कूटनीतिलाई पनि महत्त्वपूर्ण रूपमा अघि बढाउने उनले जनाए । 

उनले विगतका सरकारहरूले कूटनीतिकका सम्बन्धमा गरेका सबै सकारात्मक नीति र कदमहरुलाई वर्तमान सरकारले निरन्तरता दिने दाबी गरे । कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने समेत उनले जनाए । “परराष्ट्र नीति, सम्बन्ध र अभ्यासका बारेमा राष्ट्रिय हितलाई बुझेर, केन्द्र विन्दुमा राखेर, राष्ट्रिय नीतिलाई बुझेर, समझदारीपूर्वक विचार राख्न राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरू, प्रवुद्ध व्यक्ति सबैलाई विशेष अनुरोध गर्दछु,” परराष्ट्रमन्त्री श्रेष्ठले भने । 

परराष्ट्र सम्बन्ध र कूटनीतिका मामलामा राष्ट्रिय सहमतिको आवश्यक रहेको उनले औंल्याए । नेपालको हितलाई केन्द्रविन्दुमा राखेर सवैले यस मामिलामा सहमतिका साथ अघि बढ्नु पर्ने सुझाव उनको थियो । “हाम्रो देशको हितलाई केन्द्रविन्दुमा राख्नुको सट्टा कहीकतै अन्य कारणले अन्य स्वार्थ हावी हुन दियौँ भने हाम्रा पुर्खाले दिएको यो स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न देशको रक्षामा गम्भीर चुनौती आउन सक्छ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro