site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको अरुणाचल प्रदेशमाथि चीनले गर्‍यो फेरि दाबी

काठमाडौं । चीनले भारतको अरुणाचल प्रदेशमाथि फेरि दाबी गरेको छ । अरुणाचल आफ्नो भू–भाग भएको चीनले दाबी गर्दै आएको छ । यसअघि चीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल भ्रमणको विरोध गरेको थियो ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले भने, “शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र हो । चीन भारतले अवैध रूपमा स्थापित गरेको अरुणाचल प्रदेशको विरोध गर्दछ । हामीले अरुणाचल प्रदेशलाई कहिल्यै मान्यता दिएका छैनौँ ।” 

Argakhachi Cement Island Ad

अरुणाचल प्रदेशमा सुरुङ निर्माण गरेर आफ्नो भारतीय सेनालाई मजबुत बनाउन खोजेपछि चीनले त्यसको प्रतिक्रिया स्वरुप अरणाचलमाथि पुनः दाबी गरेको हो । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मान्दै आएको छ ।

प्रधानमन्त्री मोदीले मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरी एक सुरुङमार्गको उद्घाटन गरेका थिए । यसप्रति चीनले आपत्ति जनाएको थियो । भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण यो सुरुङमार्गको उद्घाटनपछि चीनले भारतको यो कदमले सीमा विवादलाई थप जटिल बनाउने बताएको थियो । त्यसबेला पनि चीनले अरुणाचल प्रदेशलाई भारतले गैरकानुनी रूपमा स्थापना गरेकोले आफूले कहिल्यै मान्यता दिन नसक्ने प्रतिक्रिया जनाएको थियो । 

भारतीय विदेश मन्त्रालयले मोदीको अरुणाचल प्रदेश भ्रमणलाई लिएर चीनले आपत्ति जनाएपछि जवाफ दिएको थियो । अरुणाचल प्रदेश भारतको अभिन्न अंग हो भन्ने तथ्यलाई चीनको विरोधले परिवर्तन नगर्ने मन्त्रालयले जनाएको थियो । बीबीसी

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्