काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिले विभिन्न ११ वटा निर्णय गरेको छ । शनिबार र आइतबार पर्साको वीरगन्जमा पार्टी अध्यक्ष सीके राउतको अध्यक्षतामा बसेको बैठकले ११ वटा निर्णय गरेको हो ।
पहिलो निर्णयका रूपमा जनमतले हरेक केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरूलाई तोकिएको कार्य पूरा गरे/नगरेको मूल्यांकन गरेर आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राख्ने वा नराख्ने वा अन्य जिम्मेवारी दिने निर्णय गरेको छ ।
संगठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भ्रातृ संगठनहरूको गठनमा जोड दिनेसहितका निर्णय गरेको छ ।
यसैगरी आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तयारी गर्ने निर्णय भएको छ ।
केन्द्रीय समितिमा पेस भएको 'आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ दृष्टिकोण तथा ‘दोस्रो गणतन्त्र तथा सामाजिक लोकतन्त्र’को लडाइँ' शीर्षकको राजनीतिक प्रस्ताव पनि पारित गरिएको छ । बैठकले आगामी जेठ १५ गते काठमाडौंमा हुने भनिएको आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारी गर्ने निर्णय गरेको छ ।
यसैगरी सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमसहित सशक्त आन्दोलनका लागि युवा दस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेको छ ।
बैठकले कोसीमा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको छ ।
बैठकले मधेस–थरुहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन पनि नेतृत्व गर्ने निर्णय गरेको छ ।
प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानन चाँडै निर्माण गराउन पहल गर्ने निर्णय भएको छ ।
यसैगरी आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय भएको छ ।
जनमतले आगामी रोपाइँयामका लागि मलखाद र बीउबिजनको समयमै सहज उपलब्धताका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।
यसैगरी, मधेसमा गर्मीयाममा हुने गरेको खानेपानीको अभावको समस्यासँग जुध्न पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघीय सरकारलाई दबाब दिने निर्णय गरिएको छ ।